PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सोसल मिडियाले नेपाली समाज बिगार्‍यो : प्रम ओली



पहिलोपोस्ट

सोसल मिडियाले नेपाली समाज बिगार्‍यो : प्रम ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपाली समाजको सभ्यता सामाजिक सञ्जालले बिगारेको आरोप लगाएका छन्। आज चीन–नेपाल दक्षिण एशिया साहित्य सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पत्रकारले बालाई समेत तपाईं भन्न गाह्रो मान्न थालेको बताए।

'अहिले सामाजिक सञ्जालले सभ्यताको पर्खाल भत्काएका छन्। सञ्चारमाध्यमहरुले अरुको नक्कल गर्ने भएर आदरार्थी शब्द पनि बिर्सिएका छन्,' उनले भने, 'अंग्रेजीको यू भन्ने शब्दले अचेल पत्रकारले बालाई तपाईँ भन्न गाह्रो मान्न थाले। किनभने पैसावाला, डलरवाला, ‘यू’ वालाहरु ‘यू’ ले काम चलाउँछन् हामी किन काम नचलाउने? सभ्यता त त्यो रहेछ भन्ने भ्रम पर्‍या छ। भाषा समाजको, संस्कृतिको एउटा आफ्नो प्रचलन हुन्छ आफ्नो मर्यादा हुन्छ।’

प्रधानमन्त्री ओलीले नेपाल ज्ञान र विद्वताका लागि विश्वको अग्रणी मुलुक भएको बताए। प्रधानमन्त्री ओलीले बेलायती वैज्ञानिक सर आइज्याक न्युटनलेभन्दा धेरै शताब्दी पहिला भाष्कराचार्यले गुरुत्वाकर्षण पत्ता लगाएको बताए।

प्रधानमन्त्री ओलीले भने, 'भाष्कराचार्यले न्युटनलेभन्दा धेरै अघि गुरुत्वाकर्षणको सिद्धान्त गणितका हिसाबले प्रतिपादन गर्नुभएको थियो। पछि न्युटनले ग्लालिलियोको सिद्धान्तमा आधारित रहेर गुरुत्वाकर्षण विकास गर्नुभो। त्यसको केही शताब्दीअघि नै भाष्कराचार्यले यो पत्ता लगाउनुभएको थियो। तर हामीले त्यसलाई अघि बढाउन सकेनौं ।'

प्रधानमन्त्री ओलीले हाम्रो संस्कृति सभ्यता देखेर विश्व आश्चर्यचकित भएको पनि बताए। नेपालको संस्कार सभ्यता विश्वका लागि अनुकरणीय भएको उनको भनाइ थियो।

उनले अरु देशका मानिसहरु ढुंगाको भरमा शिकार गर्दै गर्दा हाम्रा साहित्यकारहरु वेदको ऋचाहरुको रचना गर्दै हिँडेको बताए।

'अरु देशका मानिसहरु ढुंगाको भरमा शिकार गर्दै गर्दा हाम्रा साहित्यकारहरु वेदका ऋचाहरुको रचना गर्दै हिँड्थे। हाम्रा साहित्यकार उपनिषद्को रचना गर्दै हिँड्थे। हाम्रा पुर्खाहरु दुनियाँलाई उत्पादनको नयाँ तरिका बताउँदै हिँडेका हुन्थे। त्यस सभ्यता र संकृतिलाई हामीले अघि बढाउनुपर्छ।'

तर अहिले केही कुरामा पूर्व पछि परेको प्रधानमन्त्रीको भनाइ थियो। प्रधानमन्त्री ओलीले नेपालीहरुलाई साँस्कृतिक रुपमा पनि पूर्वजहरुले बाटो देखाइदिएकाले त्यसबाट पश्चिमाहरुलाई पनि सिकाउनुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell