PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

गांगुली बिसिसिआईको अध्यक्ष हुने पक्का, को हुन् गांगुली?



पहिलोपोस्ट

गांगुली बिसिसिआईको अध्यक्ष हुने पक्का, को हुन् गांगुली?
फोटो : sify.com ।

काठमाडौं : भारतीय क्रिकेट टिमका पूर्वकप्तान सौरभ गांगुली भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)को अध्यक्ष बन्ने निश्चितप्रायः भएको छ। २३ अक्टोबरमा हुने बिसिसिआईको चुनावका लागि सोमबार उम्मेदवारी दर्ता गर्ने दिन थियो। अध्यक्षको लागि उनले मात्र उम्मेदवारी दिएकाले उनी बिसिसिआईको अध्यक्ष बन्ने पक्कापक्की बनेको हो।

उम्मेदवारी दर्ताको अन्तिम समयसम्म पनि गांगुली र भारतीय क्रिकेट टिमका पूर्व सदस्य बृजेश पटेलले पनि अध्यक्षका लागि तयारी गरिरहेको चर्चा भारतीय सञ्चारमाध्यममा चलेको थियो। यद्यपि बृजेश पटेललाई आइपिएलको अध्यक्ष बनाउने सहमति भएको बताइएको छ। यसले गर्दा बिसिसिआईको चुनावले माहोल तताउने छैन। किनभने अधिकांश सदस्यहरु निर्विरोध निर्वाचित हुनेछन्।

बिसिसिआईको सचिवमा भने भारतका गृहमन्त्री अमित शाहका छोरा जय शाहलाई नियुक्त गरिने बताइएको छ। यसका लागि बिसिसिआईको विभिन्न एकाइहरुमा अनौपचारिक छलफलसमेत चलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। त्यस्तै भारतको केन्द्रीय वित्तमन्त्री अनुराग ठाकुरका भाइ अरुण धुमल बिसिसिआईको कोषाध्यक्ष पदमा नियुक्त हुने बताइएको छ।

गांगुली सजिलै अध्यक्ष पदमा आसिन हुन लागेका भने होइनन्। आइतवारको बिसिसिआई सदस्यहरुको अनौपचारिक बैठकमा उनको नाममा केही सदस्यहरुले आपत्तीसमेत जनाएका थिए। उनी अध्यक्ष बन्नका लागि २ गुटहररुबीच सहमति हुन आवश्यक थियो। एउटा गुट अनुराग ठकुरको थियो भने अर्को गुट श्रीनिवासनको थियो। श्रीनिवासनको गुट बृजेशलाई अध्यक्ष बनाउन चाहन्थ्यो। र, अन्त्यमा बृजेशलाई आइपिएलको अध्यक्ष बनाउने कुरामा सबै सहमत भएपछि गांगुलीलाई बोर्ड अध्यक्ष बनाउन सहमति जुटेको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ।

को हुन् गांगुली?

४७ वर्षीय सौरभ गांगुली हाल बंगाल क्रिकेट एसोसिएशन (बिसिए)को अध्यक्ष छन्। बिसिएमा यो उनको दोस्रो कार्यकाल हो।

सन् २००० मा गांगुली भारतीय क्रिकेट टोलीको कप्तान बनेका थिए। त्यतिबेला भारतीय क्रिकेट म्याचफिक्सिङ लगायतका प्रकरणले थलिएको थियो। त्यतिबेला उनले उत्कृष्ट कप्तानी गर्दै भारतीय टोलीको मनोबल बढाएका थिए। र, भारतीय क्रिकेटलाई उचाइमा पुर्‍याएका थिए। सौरभ गांगुलीले ११३ टेस्ट म्याच र ३११ एकदिवसीय खेल खेलेका छन्।

फोटो : The Indian Express ।

भारतीय क्रिकेटमा 'दादा' भनेर चिनिने गांगुलीले भारतीय क्रिकेट टिमको कप्तान, कमेन्टेटर र प्रशासकका रुपमा आफ्नो छाप छोडेका छन्। 'अफ साइड' मा खेल्न रुचाउने भएकाले उनलाई 'गड अफ अफसाइड' पनि भनेर चिनिने गरिन्छ। आइपिएलको गभर्निङ काउन्सिलको ४ सदस्यमध्ये उनी पनि एक सदस्य हुन्। उनलाई भारतीय क्रिकेटको सफल कप्तानका रुपमा लिने गरिन्छ। त्यस्तै ओडिआई ब्याट्सम्यानमा पनि उनको नाम अग्रपंक्तिमा आउँछ।

बिसिसिआई भारतीय क्रिकेटमा मात्र नभइ विश्वभरि क्रिकेट खेल्ने राष्ट्रहरुको संगठन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को प्रभावशाली सदस्य हो। 

गांगुलीको कार्यकाल १० महिना मात्र

बिसिसिआईको अध्यक्ष बने पनि सौरभ गांगुलीको कार्यकाल १० महिनाको मात्र हुने छ। उनको कार्यकाल जुलाई २०२० सम्म मात्र हुनेछ। नयाँ नियमअनुसार बोर्डमा कुनै पनि पदमा एकपटकमा ६ वर्षसम्म बसेपछि उक्त पदाधिकारीलाई कुलिङ अफ दिने प्रावधान छ। सोही प्रावधानअनुसार गांगुलीको कार्यकाल छोटो हुनेछ। 

'अप्ठयारो अवस्थामा बिसिसिआई मेरो हातमा आएको छ'

सौरभ गांगुलीले पछिल्लो समय बिसिसिआईले चुनौती र आलोचना खेपिरहँदा आफू नेतृत्वमा आएको बताएका छन्। 

'म यो नियुक्तिबाट खुशी छु। किनभने अहिलेको अवस्थामा बिसिसिआईको छवि बिग्रिएको छ। केही गर्नका लागि मलाई सुनौलो मौका छ,' उनले भनेका छन्, 'चाहे निर्वाचित भएर होस् या दोस्रो तरिकाबाट मलाई ठूलो जिम्मेवारी आएको छ। ठूलो जिम्वेवारी यो छ की बिसिसिआई विश्वको सबैभन्दा ठूलो क्रिकेट बोर्ड हो। भारत पावर हाउस हो। र, यसलाई कायम राख्नु चुनौती हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell