
विश्वकप छनोट अन्तर्गतकाे दोस्रो चरणको समूह 'बी' काे हिजो भएको खेलमा नेपाल जोर्डनसँग ३–० ले पराजित भएको छ। अम्मान इन्टरनेसनल स्टेडियमममा हिजो भएको खेलमा नेपाल बलियो टिम जोेर्डनसँग पराजित भएको हो।
खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा भने जोर्डनले ३ गोल गरेको थियो।
जोर्डनका लागि खेलको ५६ औं मिनेटमा फेरास सेलबाहीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि नेपाल दबाबमा देखिएको थियो। फेरि खेलको ७८ औं मिनेटमा अहमेद–अल–इरसनले गोल गर्दै जोर्डनलाई २ गोलको अग्रता दिलाए। र, अन्तिम समयमा फेरि बाहा फैसलले गोल गर्दा जोर्डनले नेपालमाथि ३–० को सहज जित निकाल्न सफल रह्यो।
त्यस्तै हिजै भएको समूह 'बी' कै अर्को खेलमा अस्ट्रेलियाले चाइनिज ताइपेईलाई ७–१ ले पराजित गरेको थियो।
गएराति भएका खेलमा जित निकालेसँगै अस्ट्रेलिया र जाेर्डन क्रमशः तालिकाकाे पहिलाे र दाेस्राेस्थानमा उक्लिएका छन्। लगातार ३ खेल जितेकाे अस्ट्रेलियाकाे ९ अंक छ भने २ जित र १ बराबरीमा राेकिएकाे जाेर्डनकाे ७ अंक छ।
तालिककाकाे तेस्राे स्थानमा ३ खेल खेलेर १ जित, १ हार र १ बराबरीमा राेकिँदै ४ अंक बनाएकाे कुवेत छ। पाँचाैं स्थानमा भने ४ खेल खेलेर १ जित र ३ पराजय भाेगेकाे नेपाल छ। तालिकाकाे पुछारमा ३ खेल खेलेर जितविहीन रहेकाे चाइनिज ताइपेई छ।
नेपाल समूह चरणको पहिलो खेलमा कुवेतसँग ७–० ले पराजित भएको थियो। त्यस्तै दोस्रो खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको थियो। त्यस्तै तेस्रो खेलमा अनुभवी अस्ट्रेलियासँग ५–० गोलान्तरको पराजय भोगेको थियाे।