PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'सिमसिमे पानी'मा जति गायो उति राम्रो लाग्छः रेखा शाह



मन्दिरा खत्री

'सिमसिमे पानी'मा जति गायो उति राम्रो लाग्छः रेखा शाह

'सिमसिमे पानीमा

ज्यानले बेइमान गर्छ कि

जिन्दगानीमा.....।'

२०४९ सालमा यही गीतले गायिका रेखा शाहलाई चर्चामा ल्यायो। शाहले गाएको पहिलो गीत 'सिमसिमे पानी'लाई नै दर्शकले यति रुचाए कि उनलाई यही गीतले नै सफल गायिकाको परिचय दियो। धादिङमा जन्मेकी रेखाले सिमसिमे पानीमा,  नजिक छौ तिमी, साइली माइली, तिमीलाई केही, तस्बिरमात्र लगायतका थुप्रै गीत गाइसकेकी छिन्। २७ वर्ष अघि रेडियो नेपालले आयोजना गरेको अधिराज्यव्यापी लोक गीत प्रतियोगितामा शाहले गाउँले लोक भाकामा आफ्नै लय र शब्द संकलनमा सिमसिमे पानीमा गाइन्। प्रतियोगितामा उनी प्रथम भइन्। पहिलोपटक गाएको गीत नै करिअरको टर्निङ पोइन्ट बन्यो।

हालै रेखाको ‘बाटैमा रैछ घर तिम्रो’ बोलको नयाँ गीत रिलिज भएको छ। रेखा शाहले गाएको यस गीतमा गायक तथा संगीतकार राजनराज शिवाकोटीले पनि उनलाई गायनमा साथ दिएका छन्। गीत उनले आफ्नै युट्युब च्यानल रेखा शाहमार्फत सार्वजनिक गरेकी छिन्। गायिका शाहको सांगीतिक करिअरबारे पहिलोपोस्टले गरेको कुराकानी:-

के मा व्यस्त हुनुहुन्छ?

भर्खरै 'बाटैमा रैछ घर तिम्रो' बोलको नयाँ म्युजिक भिडियो रिलिज भएको छ। अहिले यसैमा व्यस्त छु। नयाँ प्रोजेक्ट केही सुरु गरेको छैन।

नयाँ गीतको दर्शकहरूले कस्तो प्रतिक्रिया दिएका छन्?

एकदमै राम्रो प्रतिक्रिया दिनुभएको छ। मैले यो गीत आफ्नै नयाँ युट्युब च्यानल रेखा शाहबाट नै रिलिज गरेकी छु। भ्युअरको हिसाबले पनि चित्त बुझ्दो नै छ।

'सिमसिमे पानीमा'देखि 'बाटैमा रैछ घर तिम्रो’ सम्म आइपुग्दा सफल गायिकाको रूपमा स्थापित हुनुहुन्छ। यहाँसम्म आइपुग्न कत्तिको संघर्ष गर्नुपर्‍यो?

मान्छेले जीवनमा हरेक दिन हरेक क्षण नै संघर्ष गरिरहेको हुन्छ। गायिका भएर स्थापित हुन वर्षौँ चाहिँ मलाई लागेन। अन्य गायक गायिकाले जस्तो मैले धेरै संघर्ष गर्नु परेन। सिमसिमे पानीमा जब गाएँ त्यो गीतले नै मलाई एकाएक चर्चामा ल्यायो।

म धादिङमा जन्मे हुर्केको मान्छे। मेरो लागि काठमाडौँसम्म आउन जान निकै कठिन थियो। धादिङदेखि काठमाडौँ आउजाऊ गर्न मलाई निकै गाह्रो हुन्थ्यो। म गीत रेकर्डिङको लागि आउँदा पनि कोटेश्वर फुपूको घरमा बस्थेँ। बस स्टेसन तथा गाडी चढ्ने र ‍ओर्लने ठाउँ पनि थाहा हुँदैनथ्यो। त्यो समयमा म सार्वजनिक यातायातमा डराउँदै-डराउँदै, उभिँदै-उभिँदै एक्लै काठमाडौँ आउँथे। ‍ओर्लने स्टेशन छुट्छ कि झैँ लाग्थ्यो। छुट्यो भने कहाँ पुगिन्छ फेरि फर्केर आउन सकिन्न झैँ पनि लाग्थ्यो।

एकाध गायक/गायिकामात्र पहिलो गीतबाटै चर्चामा आउँछन्। तपाईँ पनि पहिलो गीत सिमसिमे पानीबाट नै चर्चामा आउनु भयो। सिमसिमे पानी गाउने अवसर कसरी जुरेको थियो?

२०४९ सालमा रेडियो नेपालको वार्षिकोत्सवको अवसरमा मैले गीत गाउने अवसर पाएँ। त्यतिबेला रेडियो नेपालले अधिराज्यव्यापी आधुनिक र लोक गीत प्रतियोगिता आयोजना गरेको थियो। उक्त प्रतियोगितामा मैले सिमसिमे पानीमा बोलको गीत नै गाएको थिए। मेरो प्रस्तुति सबैले मन पराउनु भयो। राम्रो प्रस्तुति दिएसँगै मलाई फेरि सोही गीत रेडियो नेपालबाटै रेकर्ड गर्ने मौका मिल्यो। त्यसपछि मलाई रेडियो नेपालको 'क' वर्गको गायिकाको श्रेणीमा राखिदिनु भयो। त्यही साल मेरो सिमसिमे पानीमा गीत म्युजिक नेपालमार्फत रिलिज भयो। गीत रिलिज भएलगतै सिमसिमे पानीले राम्रो प्रतिक्रिया पायो।

अहिले 'कभर सङ' गाएरै चर्चामा आउने ट्रेन्ड बढ्दो छ। यसलाई कुन रूपमा लिनुहुन्छ?

नेपालमा पनि आफूभन्दा वरिष्ठ गायक गायिकाको गीत गाउने चलन छ। तर पछिल्लो समयमा कभर सङ मेरो विचारमा नेपालमा प्रतिबन्ध गरेको जस्तो लाग्छ। एक हिसाबमा त ठिकै पनि हो। पुरानो स्रष्टाहरूले गाएको गीत कसैले सम्मानका साथ गाउँछ भने अलग कुरा हो। त्यसलाई नराम्रो भन्न मिल्दैन तर क्रेडिट दिन भने छुटाउनु हुँदैन। अझ आफ्नै तरिकाले आफ्नै रचना गरेर गाउँदा झन् राम्रो।

आफ्नो गीतबाहेक कस्तो किसिमको गीत सुन्न मनपर्छ?

म सबै किसिमको गीतहरू सुन्छु। लोक गीत, आधुनिक गीत, पप गीत। मलाई लोक स्टाइलको एरेन्जमेन्ट पनि मनपर्छ।

आफूले नै गाएको एकदमै मनपर्ने एउटा गीत?

सबैले मन पराएर नै होला मलाई त सिमसिमे पानीमा नै राम्रो लाग्छ। पहिलो गीत भएर पनि होला। मलाई सिमसिमे पानीमा जति गायो उति राम्रो लाग्छ। जति गायो उति गाइरहुँ जस्तो लाग्छ।

स्टेज कार्यक्रमका लागि कत्तिको दौडधुप गर्नुहुन्छ?

म स्टेज कार्यक्रमको सिलसिलामा अमेरिका, अस्ट्रेलिया, कतार, दुबई, हङकङ, मलेसिया लगायतका थुप्रै देशमा पुगिसकेको छु। यो वर्ष पनि धेरै ठाउँ पुग्ने सोचमा छु। अहिले पनि कार्यक्रमका लागि धेरै ठाउँबाट अफर आइरहेको छ।

आगामी दिनमा कस्ता गीत दर्शकमाझ ल्याउने सोचमा हुनुहुन्छ?

भर्खरै मेरो नयाँ गीत रिलिज भएको छ। यस्तै गीत गाउँछु भनेर सोचिहालेको त छैन। एक/दुई महिनाको फरकमा नयाँ गीत निकाल्ने विचार गर्दैछु।

अन्य ब्याण्डमा पनि आबद्ध हुनुहुन्छ?

अहिलेसम्म त म कुनै पनि ब्याण्डमा आबद्ध छैन। भविष्यमा पनि कुनै ब्याण्ड खोल्ने वा ब्याण्डमा लाग्ने बारेमा मैले सोचेको छैन।

गायिका नभएको भए चाहिँ के बन्नु हुन्थ्यो होला ?

सानैदेखि गायनसँगै मलाई समाजसेवामा रुचि थियो। समाजसेवा गर्ने ठूलो इच्छा थियो। सायद गायिका नभएको भए म समाजसेवी नै बन्थे होला।

गायनबाहेक अन्य पेसामा आवद्ध हुनुहुन्छ?

मैले रेखा शाह फाउन्डेसन खोलेको छु। छुट्टै अफिस भने छैन। तीन चार वर्ष भयो मैले जोन एकेडेमीमा दशजना विद्यार्थीलाई पढाइरहेको छु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell