PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्री ओलीलाई चियापानमा पनि संस्कारकै चिन्ता



कुञ्जरमणि भट्टराई

प्रधानमन्त्री ओलीलाई चियापानमा पनि संस्कारकै चिन्ता

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको चियापान समारोहमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कार हराएको विषयमा नै चिन्ता प्रकट गरे। मंगलवार पत्रकारको भाषामाथि कडा आलोचकका रुपमा प्रस्तुत भएका ओली आजको चियापानमा त्यसैको नयाँ संस्करणसहित प्रस्तुत भए।

हिजो पत्रकारले आफ्नै बाबुलाई समेत 'तपाईँ भन्दैनन्' भन्ने तर्क गरेर असन्तुष्टि जनाएका प्रधानमन्त्री ओलीले आज संसारमा संस्कार हराउँदै गएको गुनासो गरे। आज उनको आलोचना सोसल मिडियातिर बढी केन्द्रित रह्यो। हिजो पनि उनले सोसल मिडियाप्रति आलोचनात्मक टिप्पणी गरेका थिए।

आज उनले सामाजिक सञ्जालमा प्रयोग हुने भाषा हाम्रो संस्कारको नभएको तर्क गरे। 'सामाजिक सञ्जालका नाममा हेर्नै नसकिने, सुन्नै नसकिने, पढ्नै नसकिने कुरा आइरहेका छन्,' प्रधानमन्त्री ओलीले चियापानमा सम्बोधन गर्दै भने, 'यो नेपालीपन होइन, नेपाली सभ्यता होइन। नेपाली यति तल गिर्न सक्दैन।'

उनले नेपाली संस्कार विश्वकै उत्कृष्ट भएको तर्क गर्दै त्यसलाई माथि लैजानुपर्ने बताए। सरकारको काममाथि सामाजिक सञ्जालमा प्रश्न गर्नेहरुको संख्या पछिल्लो समय ह्वात्तै बढेपछि प्रधानमन्त्री ओली रुष्ट देखिन थालेका हुन्। सरकारले काम गर्न नसकेकोमा सोसल मिडियामार्फत् आलोचनात्मक अभिव्यक्ति आउन थालेपछि प्रधानमन्त्री त्यसको प्रतिकारमा उत्रिएजस्तै गरी अभिव्यक्ति दिइरहेका छन्।

प्रधानमन्त्री ओलीले केही भएन भन्नेहरूलाई आँखा खोलेर हेर्न आग्रहसमेत गरे।

'सम्भ्रान्तहरुलाई फरक परेको छैन, बूढाबूढीलाई सोध्नुस् फरक भएको छ कि छैन? स्वास्थ्य बिमा, प्रत्येकका बैंक खाता, फास्ट ट्र्याक खोलिएको छ,' प्रधानमन्त्री ओलीले भने। उनले तुइन विस्थापित गरेर झोलुङ्गे पुल बनाएको उदाहरण पेश गरे। साथै सरकारले गरेका कामहरु देख्न आग्रह पनि।

ओलीले राष्ट्रलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने पनि बताए। उनले हल्लाका पछि नदौडिन पनि आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell