PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

काठमाडौंबाट ३ घन्टामा केरुङ पुग्नेगरी बन्दैछ सडक, एसियाली मापदण्डको डबल लेनको हुनेछ बाटो



पहिलोपोस्ट

काठमाडौंबाट ३ घन्टामा केरुङ पुग्नेगरी बन्दैछ सडक, एसियाली मापदण्डको डबल लेनको हुनेछ बाटो

काठमाडौं : नेपाली सेनाले ट्रयाक खोलेको मैलुङ स्याफ्रुवेसी सडक 'एसियन स्ट्याण्डर्डको डेडिकेटेड डबल लेन' मा स्तरोन्नति हुने भएको छ। 

गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुवेसी-रसुवागढी सडक आयोजना नुवाकोटले सडक स्तरोन्नती गर्न बुधवार बोलपत्र आव्हान गरेको छ। गत वैसाखमा नेपाली सेनाले ट्रयाक खोलेर यो सडक हस्तान्तरण गरेको थियो। त्यसपछि आयोजनाले विस्तृत आयोजना प्रतिवेदन( डिपिआर) र आयोजनाको पूर्व तयारी पूरा गरेर निर्माण सुरु गर्न बोलपत्र आव्हान गरेको हो। 

करिब १९ किलोमिटर लम्वाईको यो सडक डबल लेनमा बिस्तार हुनेछ जसको चौडाई ११ मिटर हुनेछ। साइडमा १ मिटर नाला समेत रहनेछ। गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुवेसी रसुवागढी सडक आयोजना प्रमुख नारायणदत्त भण्डारीका अनुसार अन्य सडकभन्दा फरक खालको हुनेछ यो सडक। 

उनका अनुसार ११ मिटरमै ६० एमएमको कालोपत्रे हुनेछ। जुन एसियन मापदण्ड अनुसार हुनेछ भने सात मिटरमा डबल वेरिङ पोट हुनेछ। जसमा थप ४० एमएमको कालोपत्रे थपिन्छ। 

डेडिकेटेड डबल लेनमा बीचको ३.५/३.५ गरी ७ मिटरलाई क्यारिज वे मानिन्छ, जुन सवारीसाधन हिड्ने मुख्य लेन हो। ठूला कन्टेनर, ट्रकहरु हिँड्ने भएकाले डबल वेरिङ पोट राखिने आयोजनाले जनाएको छ।

यो सडक बिस्तारका लागि करिब २ अर्ब ६० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। निर्माण थालेको ३० महिनामा आयोजना पुरा गर्नुपर्ने छ। निर्माण अवधिभन्दा छिटो सके बुक बोनसको समेत व्यवस्था गरिएको छ। 

आयोजना प्रमुख भण्डारीका अनुसार, टेण्डर मूल्याङ्कन, प्राविधिक आर्थिक प्रस्ताव अध्ययन लगायतका सबै प्रक्रिया सकेर पुसभित्रै ठेक्का सम्झौता गरिसक्ने लक्ष्य लिइएको छ। ठेक्का पाउने कम्पनीलाई कार्यादेश दिएर माघ भित्रैबाट काम सुरु गराउने लागिएको छ।

पहिरो जाने ठाउँका लागि विशेष योजना 
पहिरो रोक्न बायो इन्जिनियर, रक वोल्टिङ, रक नेटिङ लगायतका योजनाहरु यही ठेक्का मार्फत गर्न लागिएको भण्डारीले जानकारी दिए। उनका अनुसार धेरै र ठूला पहिरो जाने स्थानका लागि छुट्टै ठेक्का निकाल्न लागिएको समेत जानकारी दिए। यसका लागि त्यस्ता स्थानमा केके उपयुक्त हुन्छ भनेर अध्ययन भइरहेको उनले जानकारी दिए।

सेनाले खोलेको ट्रयाकमध्ये उत्कृष्ट
नेपाली सेनाले विष्फोटक पदार्थ प्रयोग गरेर जथाभावी इन्जिनियरिङ मापदण्ड समेत पूरा नगरी सडक निर्माण गरेको भन्दै आलोचना हुने गरेको भए पनि यस सडकमा भने आयोजनाका अधिकारीहरुले नै उत्कृष्ट हिसावले मापदण्ड पूरा गरेर काम भएको भन्दै प्रशंसा गरेका छन्। 

आयोजना प्रमुख भण्डारीले सेनाले मन लगाएर चट्टान काटेको भन्दै प्रशंसा गरे।

नेपाली सेनाले तीन वर्ष लगाएर ट्रयाक खोलेको थियो। नेपाली सेनाले उपलब्ध गराएको तथ्याङक अनुसार सेनाले १ हजार २ सय किमीभन्दा बढी सडक निर्माण गरिसकेको छ। 

भौगोलिक रुपले कठिन मानिने र विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने स्थानका सडकहरु बनाउने जिम्मा नेपाली सेनालाई दिइन्छ। यस खण्डमा सेनाले ठूला ठूला चट्टान र पहाडहरु काटेर सडक निर्माण गरेको छ। ७० मिटरभन्दा बढीसम्म पहाड काटेर सडक बनाएको छ। 

यो सडकको ट्र्याक खोलिएसँगै धुन्चे पुगेर तलतिर झर्नुपर्ने बाध्यता हटेको छ। जसले करिब २६ किलोमिटर सडक छोट्याएको आयोजनाले जनाएको छ। अब त्रिशुलीको किनारै किनार रसुवागढी पुग्न सकिन्छ।

काठमाडौंबाट रसुवागढीसम्म सडकलाई हाइवेका रुपमा तीन वर्षमा विकास गरिसक्ने सरकारले लक्ष्य लिएको छ। जस अनुसार गल्छी - मैलुङ  ४६ (किमी), मैलुङ-स्याफ्रुवेशी (१९ किमी) र स्याफ्रुवेशीदेखि रसुवागढी (१७ किमी) गरी तीन खण्डमा काम अघि बढाइने छ। 

तीनमध्ये दुई वटा खण्डको ठेक्का लागेर काम नै सुरु भइसकेको छ। एउटा खण्डको माघदेखि काम सुरु हुनेछ। गल्छी मैलुङ खण्डको ५० प्रतिशत काम नै सकिएको आयोजनाले जनाएको छ। त्यस्तै स्याफ्रुवेशी रसुवागढी खण्डको चिनियाँ पक्षले अक्टोबर ८ देखि काम सुरु गर्दैछ।

टोखा छहरे (७ किमी) सुरुङमार्गसँगै ३१ किमी सडक निर्माण गरेर वेत्रावती जोड्ने योजना पनि बनाइएको छ। यस सुरुङमार्ग र सडक बनाइदिन सरकारले चिनियाँ पक्षलाई आग्रह गरेको छ जसमा चीन सकारात्मक समेत देखिएको छ। यस सडक र सुरुङमार्ग निर्माण गर्न सकिए तीन घण्टामा काठमाडौंबाट केरुङ पुग्न सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell