
'सीताको जन्मभूमि मिथिला क्षेत्र अहिले भारतको कुन चाहिँ प्रदेशमा पर्छ?'
कौन बनेगा करोडपतिको एउटा श्रृङ्खलामा सोधिएको यही प्रश्नलाई लिएर माइक्रो ब्लगिङ साइट ट्वीटरमा निकै चर्चा छायो। केहीले अमिताभ बच्चनलाई प्रश्न तेर्साए। कतिले उनलाई मेन्सन गर्दै प्रश्न गलत भएको जानकारी गराए। अनि केही भने वादविवादमै उत्रिए।
त्यो एउटै प्रश्नले दुई फरक शब्द 'सीता' र 'जनकपुर'लाई ट्वीटर नेपाल ट्रेन्डिङमा ल्याएको छ। २४ घण्टा नबित्दै सीता शब्द मात्र हालसम्म ६ हजार ६ सय पटक ट्वीट गरिएको छ।
What and stupidy Mr Bacchan? @SrBachchan
— Gajendra S. Budhathoki JWD♿ 🇳🇵 (@gbudhathoki) October 15, 2019
Birthplace of Sita is called Janakpaur, it is in Now a days Nepal. Not an Indian state. pic.twitter.com/78eBDbC1WM
कोही कौन बनेगा करोडपतिमा सोधिएको प्रश्नको पक्षमा छन् त कोही विपक्षमा।
पत्रकार गजेन्द्र बुढाथोकीले कार्यक्रम प्रस्तोता अमिताभ बच्चनलाई मेन्सन गर्दै भनेका छन्- 'यो कस्तो मुर्खता हो मिस्टर बच्चन? सीताको जन्मभूमी जनकपुर हो जुन अहिले भारत होइन नेपालमा पर्छ।'
डाक्टर सुधांशु केसीले पनि बच्चनलाई मेन्सन गर्दै सीताको जन्म भारत होइन नेपालमा भएको जानकारी दिएका छन्।
गजेन्द्र बुढाथोकीको ट्वीटमा रोशन मण्डलले जवाफमा लेखेका छन्- 'हलो यज्ञ भएको स्थान सीतामढी हो जहाँ सीता प्रकट भइन्। सीतामढी बिहारमा पर्छ। न प्रश्न गलत हो न उत्तर। जनकपुर राजधानी थियो त्यसैले सीताको घर जनकपुर कहलियो।'
त्यस्तै रामहरि पोखरेले लेखेका छन्- यो प्रश्न आफैंमा गलत छैन। पौराणिक कथाका पात्र यहिँ जन्मिए भन्न पनि जटिल छ। सीताको जन्मस्थान सिद्धार्थ गौतमको जस्तो प्रमाणित पनि होइन।
चन्दण गुप्ताले सीताको जन्म मिथिला राज्यको सीतामढीमा भएको र त्यस समय जनकपुर मिथिलाको राजधानी रहेको भन्दै ट्वीट गरेका छन्। ट्वीट मार्फत् भनेका छन्- सीतालाई पछि जनकपुर लगिएको हो। त्यसैले हामी अहिले 'बुद्ध वाज वर्न इन नेपाल'मै अड्डिऔं।
कौन बनेगा करोडपतिमा सोधिएको प्रश्न सही कि गलत भन्ने वादविवाद चलिरहँदा ट्वीटर प्रयोगकर्ताले भौगोलिक तथ्यलाई आधार मानेका छन्। तर, विभिन्न पौराणिक एवं धार्मिक मिथकहरुमा भने सीताको जन्म सम्बन्धी रोचक र रहस्यमयी घटना व्याख्या गरिएको छ।
भनिन्छ, राजा जनकले यज्ञभूमि बनाउन हलो जोत्दै गर्दा सीता त्यही जमिनमा उत्पति भएकी हुन्।
त्यस्तै लंकाका राजा रावणले आफ्नो पहिलो सन्तानका कारण वंश समाप्त हुने आशंकाका कारण उनलाई सन्दुकमा बन्द गरेर माटोमा गाडिदिएको कथन पनि प्रचलित छ। त्यही सन्दुक जनकपुरमा राजा जनकले भेटेको भनिन्छ। जनकपुरका एक ब्राह्मणले त्यो सन्दुक जनकलाई दिएको किम्बदन्ती पनि सुनिन्छ।
तर, वाल्मिकी रामायण, आनन्दरामायण, अद्भूतरामायण, अध्यात्मरामायण, तमिलरामायण लगायत पुराणहरुमा फरक व्याख्या छन्।
नेपाली ट्वीटर प्रयोगकर्ता सीताको जन्मभूमि बारे बहस गरिरहँदा गत वर्ष भारतको प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर पुगेर भनेका थिए- आज एकादशीको पावन अवसरमा माता जानकी (सीता)को चरणमा आउने सौभाग्य मिल्यो। खुशी छु।
त्यस्तै भ्रमण वर्ष २०२० को प्रचारमा जनकपुरलाई नै सीताको जन्मभूमि दाबी गरिएको छ।