PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ने क पाका अर्का सांसद पार्वत गुरुङलाई पनि पक्राउ पूर्जी, भन्छन् 'म त चियापानमै छु, कहाँ फरार?'



सविन ढकाल

ने क पाका अर्का सांसद पार्वत गुरुङलाई पनि पक्राउ पूर्जी, भन्छन् 'म त चियापानमै छु, कहाँ फरार?'

काठमाडौं : सासंद तथा ने क पा केन्द्रीय सदस्य पार्वत गुरुङलाई पक्राउ गर्ने काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतले असोज ८ गते नै सासद गुरुङलाई पक्राउ गर्न पत्र जारी गरेको थियो। दोलखाबाट निर्वाचित सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो। वीरध्वज खड्काको जाहेरीले गत वैशाख २९ गते काठमाडौं जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिएको थियो।

'पार्वत गुरुङको नाममा मुद्धा दर्ता भएको हो। हामीले प्रहरीलाई उपस्थित गराउन पत्रचार समेत गरिसकेका छौं,' काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले भने।

मुद्धा दर्ता भएको भएको पाँच महिनापछि भदौ १२ गते जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दोलखालाई सांसद गुरुङलाई उपस्थित गराउन पत्र काटेको थियो। तर, अहिलेसम्म सांसद गुरुङलाई प्रहरीले अदालतमा उपस्थित गराएको छैन।

'उहाँ फरार नै हुनुहुन्छ। प्रहरीले उपस्थित गराएको छैन। पत्र तामेली भयो कि भएन केही जानकारी आएको छैन,' श्रेष्तेदार श्रेष्ठले भने।

कानुनी भाषामा सांसद गुरुङ फरार रहे पनि आज नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा उनी अरु नेताहरु सरह सक्रिय देखिन्थे। सांसद गुरुङले अदालतको सम्पर्कमा आउनु भन्ने पत्र पाएको सुनाउँदै यो विषयलाई राजनीतिक मुद्धामात्र रहेको बताए।

'राजनीतिक मुद्दा हो। मिडियाले हंगामा मच्चाउन खोजेको होला,' सांसद गुरुङले पहिलोपोस्टसँग भने, 'म कहाँ फरार हुनु? दिउँसो चियापानमा थिएँ। अहिले हरिहरभवनमा कार्यक्रममै छु।'

वीरध्वज खड्कालाई २०७४ वैशाखमा काठमाडौंमा आक्रमण भएको थियो। खड्का तत्कालीन नेकपा माओवादीका कार्याकर्ता हुन्। स्थानीय निर्वाचन अगाडि गौरीशंकर गाउँपालिका २ जुँगुमा कुलबहादुर तामाङको हत्या भएको थियो। त्यही घटनालाई लिएर माओवादी केन्द्रका स्थानीय नेताहरु गंगा कार्की, देवी खड्का, विशाल खड्का, लगायत ४० जनाविरुद्ध किटानी जाहेरी परेको थियो। ४० मध्ये एक खड्का पनि हुन्। प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। उनीहरु धरौटीमा रिहा भएका थिए।

नेकपाकै सांसद रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले हिरासतमा छन्। हिजोमात्रै राजपाका सांसद प्रमोद साह पनि गिरफ्तार भएका थिए। त्यस्तै नेपाली कांग्रेसका सांसद मोहम्मद अफताफ आलम पनि ज्यान मुद्दामा पक्राउ परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell