PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेकपाको चियापानमा जे देखियो : राजपाको अनुपस्थिति, गएनन् बाबुराम भट्टराई



कुञ्जरमणि भट्टराई

नेकपाको चियापानमा जे देखियो : राजपाको अनुपस्थिति, गएनन् बाबुराम भट्टराई

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले आज दशैँ तिहार छठलगायतका पर्वहरुको अवसरमा चियापान कार्यक्रमको आयोजना गर्‍यो। भृकुटीमण्डपमा आयोजित चियापानका लागि ने क पाले एक लाख निमन्त्रणा कार्ड पठाएको थियो। सामाजिक सञ्जालबाट पनि चियापानको सन्देश दिएको थियो। तर, चियापानमा निमन्त्रणाको तुलनामा उपस्थिति निकै कम देखियो।

दुई चरणमा कार्यक्रम

नेकपाले आज दिउँसो १२ बजेदेखि बेलुकी पाँचबजेसम्मका चियापान गरायो। १२ बजेदेखि दिउँसो ३ बजेसम्मका पार्टीका नेता तथा कार्यकर्तालाई चियापान गराएको ने क पाले ३ बजेपछि भीभीआइपीलाई चियापान गराएको थियो।

नेकपाले पार्टी कार्यकर्ताको चियापानमा लड्डु केरा बाँडेको थियो भने भीभीआइपीको चियापानमा स्यान्डविच राखेको थियो।

को को आए?

ने क पाको चियापानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी उपस्थित भएका थिए। राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायका नेताहरु पनि उपस्थित भए। सुरक्षाका अंगका प्रतिनिधिदेखि विभिन्न मुलुकका प्रतिनिधिहरु पनि उपस्थिति भए।

तर, पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई चियापानमा देखिएनन्। उपप्रधान तथा स्वास्थ्यमन्त्री र समाजवादी पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव उपस्थित भए। बाबुरामकी पत्नी तथा समाजवादीकी नेतृ हिसिला यमी भने चियापानमा पुगेकी थिइन्।

नेपाली कांग्रेसको कार्यक्रममा उपस्थित भएका बाबुराम ने क पाको चियापानमा किन गएनन् त? बाबुरामका स्वकीय सचिव रोशन पोख्रेलले गोरखामा पूर्व निर्धारित कार्यक्रम भएकाले उपस्थित हुन नसकेको बताए। उनले भने, 'गोरखामा पूर्वनिर्धारित कार्यक्रम भएकाले पार्टीका पदाधीकारीहरुलाई उपस्थित हुन आग्रह गर्दै उहाँ गोर्खा आउनुभएको हो। अन्य कुनै कारण छैन।'

उता ने क पाको चियापानमा अघिल्लो वर्ष सहभागी भएका राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेताहरु पनि देखिएनन्। नेकपाको चियापानमा देखिनु भएनन् नि? भन्ने प्रश्नमा राजपाका महासचिव केशव झाले भने, 'अघिल्लो वर्ष उहाँहरुले व्यक्तिगतजसरी निम्ता पठाउनुभएको थियो। अहिले महन्थ ठाकुरलाई मात्र पठाउनुभएको रहेछ। उहाँ विरामी हुनुहुन्छ। त्यसैले यसपाली गइएन।'

अस्तव्यस्त चियापान

ने क पाको चियापान कार्यक्रमको व्यवस्थापकीय पक्ष भने यसपाला फितलो देखिन्थ्यो। तर, विगतका तुलनामा केही व्यवस्थित भएको नेताहरुको दावी चाहिँ थियो। यसपालीको चियापानमा विगतको जस्तो उत्साह नदेखिएको नेकपाका कार्यकर्ताको भनाइ थियो। यो चियापानले उत्साह खस्किएको सन्देश दिएको उनीहरुले बताए।

सांस्कृतिक कार्यक्रममा आकर्षण

ने क पाको चियापानमा अर्को आकर्षणका रुपमा सांस्कृतिक कार्यक्रम थियो। औपचारिक कार्यक्रम सुरु अघि र पछिसम्म कलाकारहरुले सांस्कृतिक प्रस्तुती दिएका थिए। चियापानमा जनावादी गीतदेखि आधुनिक गीतसम्म प्रस्तुत गरिएको थियो। चियापानमा महिलाहरुको टोलीले बजाएको बाजामा सहभागीहरुले रमाइलो मानिरहेका देखिन्थे।

भृकृटीमण्डपको गेटबाट भित्र छिर्नासाथ ने क पाका नेता तथा कार्यकर्ताहरुले उभिएर पाहुनको सम्मान गरेका थिए। सम्वोधनपछि प्रधानमन्त्री ओलीसहित सचिवालयका नेताहरुले उभिएर कार्यकर्ताहरुसँग शुभकामाना आदानप्रदान गरेका थिए।

नेताहरुबीचको तिक्ततामा सकारात्मक सन्देश

कोजाग्रत पूर्णिमाको भोलिपल्ट प्रतिपक्षी दल कांग्रेसले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीदेखि ने क पाको शीर्ष नेतृत्व पुगेको थियो। आज ने क पाले आयोजना गरेको कार्यक्रममा कांग्रेसका सभापति देउवा, पौडेल र केसीको उपस्थितिले संसदको अधिवेशनका बेलमा कांग्रेस र नेकपाबीचको तिक्ततामा केही सुधार भएको सन्देश दिएको छ। चाडपर्वहरुले नेपालीहरुको भावनालाई नजिक ल्याउने भएकाले पनि शुभकामना आदानप्रदानमा गर्नुपर्ने नेताहरुको तर्क थियो। रक्षा तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले सकारात्मक सन्देश दिएको बताए।

के के भने नेताहरुले ?

ने क पाको पहिलो चरणको चियापान कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले शुभकामना सहित आफ्नो मन्तव्य राखेका थिए।

चियापान कार्यक्रममा प्रचण्डले नेपाल, भारत र चीनबीच आर्थिक विकासको त्रिदेशीय साझेदारीको नयाँ रणनीतितर्फ जाने आधार तयार हुँदै गएको बताए।

सो क्रममा उनले केही वर्ष पहिले चीन र भारतको भ्रमणमा जाँदा विशिष्ट भू–राजनीतिक अवस्थाका कारणले त्रिदेशीय साझेदारीको नयाँ आर्थिक विकासको रणनीतितर्फ जानुपर्दछ भनेर आफूले नै प्रस्ताव गरेको स्मरण गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणपछि अहिले राजनीतिक रुपले नै उक्त रणनीतितिर जाने समझदारी बन्दै जान थालेको बताए। प्रचण्डले मुलुक विकास, समृद्धि र समाजवादको तयारीको नयाँ युगतिर प्रवेश गरेको जिकिर गरे।

चियापान कार्यक्रममा राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिका बारेमा प्रतिक्रिया दिन उपस्थित नभएको तर आफू चाडपर्वको शुभकामना दिने भन्दै मन्तव्यको सुरुवात गरेका प्रधानमन्त्री ओलीले माइकको फाइदा उठाए। पार्टी नेता कार्यकर्ताबीच सरकारकारका कामहरुलाई हेर्न आग्रह पनि गरे।

सरकारले काम गरिरहेको भन्दै सरकारको काम आँखा खोलेर हेर्न आग्रह गरे उनले। 'सरकारले काम गरिरहेको छ। आँखा चिम्लेर होइन, आँखा खोलेर हेरौँ,' उनले भने।

प्रधानमन्त्री ओलीले सरकारका कामबारे बुढाबुढीलाई गएर सोध्न पनि आग्रह गरे।

सोही क्रममा उनले सामाजिक सञ्जालमा प्रयोग हुने भाषा हाम्रो संस्कारको नभएको तर्क गरे।

'सामाजिक सञ्जालका नाममा हेर्नै नसकिने, सुन्नै नसकिने, पढ्नै नसकिने कुरा आइरहेका छन्,' प्रधानमन्त्री ओलीले चियापानमा सम्बोधन गर्दै भने, 'यो नेपालीपन होइन, नेपाली सभ्यता होइन। नेपाली यति तल गिर्न सक्दैन।'

भीभीआइपी चियापानमा पुगेका कांग्रेसका नेता रामचन्द्र पौडेलले केही विषयमा मतभेद भए पनि धेरै कुराले नेकपा र कांग्रसको सम्बन्ध नजिक रहेको बताए।

'हामी सँगै लडेका, सँगै जेल परेका, सँगै अश्रु ग्यास खाएका, सँगै व्यवस्था ल्याएका, सँगै संविधान बनाएका,' पौडेलले भने, 'यस्ता कुराहरुले हामी नजिक छौं।'

सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेसका सभापति देउवाले चाडपर्वले नेपालीहरुलाई नजिक ल्याउने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell