पोखरा: सुन्दा अचम्म लाग्छ। कोही मान्छे दैनिक न्यूनतम पनि २० किलोमिटर दौडिन्छ। त्यो पनि अप्ठेरो खाल्डाखुल्डी भीरपाखाको कहालीलाग्दो गोरेटोमा।
अधिकतम शहरीयाहरूको खाना पचाउने र अनावश्यक बोसो पगाल्ने माध्यम बनेको दौड प्युठानका दामोदर बुढामगरको परिवारलाई भने बाँच्ने आधार बनेको छ। उनको पेशा केही छैन। परिवारका सबै जना दैनिक दौडिएरै बिहान बेलुकीको छाक टारेका छन्। त्यो पनि देशदेखि विदेशसम्म, पहाडदेखि हिमालसम्म।
पोखरा र समग्र नेपालको समेत पर्यटन प्रवर्द्धनका लागि भन्दै आयोजना गरिएको अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड-२०१९ मा सहभागी २३ नेपाली समूहमध्येमा दुई फरक फरक समूहको नेतृत्व तीनै प्युठाने बुढामगर परिवारले गरेका थिए। एक समूहको नेतृत्व ४२ वर्षीय बाबु दामोदर बुढामगरले गरेका थिए भने गुरिल्ला समूहको नामबाट भने १३ वर्षीय छोरी शकुन्तला बुढामगरले नेतृत्व गर्दै मैदानमा सहभागी थिइन्।
छोरीसँगको प्रतिस्पर्धाको बारेमा सोध्दा बाबु भन्छन्, 'यो प्रतिस्पर्धा मात्रै होइन हाम्रो परिवारको जिउने आधार पनि हो। हामी परिवार धान्नका लागि सँगै सङ्घर्ष गरेका हौँ। छोरी सानै छ तर पनि उसको आँट र हिम्मतलाई मैले कहिल्यै भेट्न सकेको छैन।'
पर्यटन प्रवर्द्धनका लागि भन्दै आयोजना गरिएको सो दौडको दुरी ४२.२ किलोमिटर छ जसमा २२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङ छ। यो प्रतियोगितामा बाबुको नेतृत्वमा रहेको गुरिल्ला समूह दोस्रो भयो। जितपछि उनले भने, 'ठूली छोरी नभएका कारण मेरो टिम दोस्रो भयो नत्र त छोरीको टिम नै प्रथम हुन्थ्यो।'
फुच्ची शकुन्तलाले दौडन सुरु गर्नुभन्दा पहिला भनेकी थिइन्, 'म सबै सक्छु तर पनि मैले मात्रै सकेर यो प्रतियोगिता जितिँदैन मेरो टिममा सहभागी तीनै जनाले सक्नुपर्छ।'
उनका रहर नाच्ने गाउने पनि छन् तर पनि अहिले उनको काम नै दौडने भएको छ। यो प्रतियोगिता उनका लागि दैनिक गरिने प्रयास जस्तो मात्रै भएको छ।
'म आज यहाँ नदौडिए पनि नियमित अभ्यासका लागि अन्यत्र त दौडनै पर्थ्यो नि' खेल समापनपछि उनले भनिन्, 'जित्नु मात्रै सफलता होइन हारको सिकाइले दिने ऊर्जा जितभन्दा ठूलो हुन्छ। जित्नका लागि अझै धेरै उमेर बाँकी नै छ नि मेरो। अनि समूहमा एक जनाले मात्रै गेम जित्न पनि त सकिँदैन तर जे भयो पनि हाम्रो टिमले निकै राम्रो गर्यो।'
कसरी सुरु भयो त दौड यात्रा?
दामोदर स्कुल पढ्दा गाउँमा पढे। समयमै स्कुल पुग्नको लागि हिँडेर पुग्न नसकिने र स्कुलको आडमा डेरा गरेर बस्न आर्थिक कारणले नसक्ने भएपछि दैनिक बिहानै झिसमिसेमै खाना खाएर दौडँदै स्कुल पुग्थे उनी। अनि पढेर त्यसरी नै दौडिएर नै घर फर्किन्थे पनि। कक्षा ९ मा पुगेपछि स्वास्थ्य विषय पढे अनि पढाई अनुसारका काम गर्न पर्यो भनेर दौडलाई पेशा नै बनाए।
उनले भने, 'सुरुमा म मात्रै दौडन्थेँ, बिस्तारै मेरा पाँच भाइहरू पनि मेरै लाइनमा लागे। अहिले मेरा परिवारमा २ छोरीहरू छन्, उनीहरू पनि मेरै लाइनमा छन्। अहिले म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरूमा हुने विभिन्न खालका दौडहरूमा सहभागी हुने गरेको छु।'
बुढामगर परिवारको दैनिकी
बिहान उठेपछि सबै परिवार अनुकूल समयमा दौडन निस्किन्छन्। न्यूनतम पनि २० किलोमिटर दैनिक दौडिन्छन्, उनीहरू। दौडमा प्रायः दुई छोरीहरू र भाइहरू रेम बुढामगरसँग दामोदर हुन्छन्। बिहान बेलुकी उनीहरूको काम नै दौडने हो।
दामोदर भन्छन्, 'हाम्रो परिवारको अरू कुनै काम छैन, बिहान उज्यालो नहुँदै र बेलुकी अँध्यारो नहुँदासम्म दौडने मात्रै हो। प्रायः दिनमा गर्मी हुने कारणले आरम गर्छौँ।'
दैनिक २० देखि १०० किलोमिटर सम्म दौडेको रेकर्ड छ दामोदरको। देश तथा विदेशमा हुने सिंगल दौड, डुअल, ट्रायथलन र मिक्स टिम रिले लगायतका एथलेटिक्सका खेलहरूमा सहभागी हुने उनी सके पहिलो नत्र भने सामान्य पुरस्कार जितेर पनि दैनिक गुजारा गर्ने गरेका छन्।
उनी भन्छन्, 'परिवारका हामी सबै दौडन सक्षम छौँ, त्यसैले जुन सुकै स्थानमा हुने प्रतियोगिताहरूमा पनि हामीमध्ये कसैले केही न केही पुरस्कार पाएकै हुन्छौँ।'
बाबुको सपना
दामोदर भन्छन्, 'मेरो सपना ठूलो छैन, मात्रै ढुकढुकी चलिरहुन्जेल दौड्न सकुँ। कुनै पनि प्रतियोगितामा नेपाली झण्डासहितको विजय उल्लासमै डङ्ग्रङ्गै ढलेर मरूँ। अझ भनौँ जहाँ मरे पनि दौडको लागि तयार गरिएको लिगभन्दा बाहिर मर्न नपरोस्।'
दामोदरको अर्को सपना भनेको आफ्ना दुई छोरीहरूले राष्ट्रिय अवार्ड जितेर पहिचान बनाउन सकुन् भन्ने छ। त्यस कारण पनि उनी छोरीहरूलाई कहिल्यै आफ्नो टिममा राखेर दौडिँदैनन्।
'म भएँ भने उनीहरूमा अल्छीपना आउन सक्छ बाबुले गर्छ भन्ने। त्यसैले छोरीहरूलाई अर्को टिममा राखेर म प्रतिस्पर्धामा उत्रन्छु ताकी उनीहरूले मलाई भए पनि जित्नको लागि दिलो ज्यान दिउँन अनि पो निस्कन्छ नतिजा।'
दौडने रुटहरुमा कुनै बन्देज नलागोस् भन्ने बाहेक आफूलाई कुनै पनि डर चिन्ता नभएको उनी बताउँछन्। मन लागेको समयमा दौडन सकुँ भन्ने उनको चाहना छ। भन्छन्, मर्दा कसले के लगेको छ र मैले भविष्यको चिन्ता लिनुपर्यो? बाचुन्जेल नेपाली भएर रातो चन्द्र र सूर्य अंकित झन्डा फहराउन पाउँ।
दौडमा छोरीहरुको लगाव
दौडमा देखिएको छोरीहरूको सहभागिताबारे उनी भन्छन्, 'मैले बाध्यताले सुरु गरेका काममा छोरीहरूलाई पनि नजानिँदो तरिकाले समावेश गराएर गलत गरेँ कि राम्रो गरे त थाहा छैन तर पनि अहिले छोरीहरूले यसैलाई भविष्य देख्न थालेका छन्। ठूली छोरी सुमी सार्क गेम अन्तर्गत ट्रायथलन खेलको क्लोज क्याम्पमा छिन् भने सानी छोरी बल्ल १३ वर्षकी भई तर पनि उसको आँट ऊर्जा र लगाव देख्दा ३१ वर्ष पुगे जस्तो लाग्छ।'
सुरुमा उनले छोरीहरूलाई सहयोगीको रूपमा लिएर जाने गर्थे, लगेज कुरुवाको रूपमा। बिस्तारै एक दुई किलोमिटर दौडिँदा स्वस्थ भइन्छ भनेर उनले जबर्जस्ती दौडिन लगाउन थाले। अनि बिस्तारै सुरु भयो संसार जित्ने प्रतियोगिताको रेस। ठूली छोरीले विदेशहरूमा पनि नेपालको प्रतिनिधित्व गर्दै चारवटा स्वर्ण पदक जितेकी छन् भने सानी छोरी गएको एसियन गेममा सबैभन्दा सानो उमेरकी प्रतियोगी हुँदै कास्य पदक विजेता बनिन्।