PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

सुरक्षा व्यवस्था 'अन्डर कन्ट्रोल' हुँदाहुँदै पनि महरा प्रकरणले डुबाएको प्रहरीको छवि



सविन ढकाल

सुरक्षा व्यवस्था 'अन्डर कन्ट्रोल' हुँदाहुँदै पनि महरा प्रकरणले डुबाएको प्रहरीको छवि

काठमाडौँ: असोज १२ गतेदेखि प्रहरीले विशेष चाडपर्व सुरक्षा योजना लागू गर्‍यो। तर, त्यही रात देश नै हल्लाउने घटना हुन पुग्यो। प्रहरीको 'कन्ट्रोलभन्दा बाहिर' रहेको अपराध भयो। त्यति बेलासम्म प्रहरीको योजनामुताबिक सुरक्षा व्यवस्था चुकेको थिएन।

त्यतिखेर अपराधको आरोप लागेका व्यक्तिलाई नियन्त्रणमा लिने त टाढाको कुरा, पीडितले दिएको जानकारीलाई समेत बेवास्ता गर्दै बसिरह्यो। सुरक्षा योजनामा सफलता पाइरहेको प्रहरी यही प्रकरणमा भने नराम्ररी चिप्लियो। सँगै प्रहरीको निष्पक्ष सेवामाथि नै प्रश्नचिन्ह खडा भयो।

घटस्थापनाको भोलिपल्ट सभामुख कृष्णबहादुर महरामाथि 'बलात्कारको आरोप' लाग्यो। प्रहरीलाई दशैं सुरक्षाभन्दा हम्मेहम्मे त महरा प्रकरणले नै बनायो। राजनीतिक समर्थनपछि प्रहरीले महरालाई पक्राउ गर्ने साहस देखायो।

असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार प्रयास भएको महरामाथि आरोप छ। असोज १८ गते (फूलपाती)को दिन पीडित महिलाले महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर पुगेर उजुरी दिइन्। उजुरी परेपछि असोज १९ गते (अष्टमी) अदालतको अनुमतिमा प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो। महरा प्रकरण प्रहरीको सुरक्षा कमजोरीले घटेको घटना त होइन तर सूचना पाइसकेपछि पनि मौनता साँधेर बस्नुले प्रहरीको नियतमाथि कडा प्रश्नचिन्ह लाग्यो।

सभामुख महरा प्रकरणमात्र होइन, देशभर दशैंका समयमा अन्य अपराधका घटना भइ नै रहे, सधैं झैं। दशैंको अवधिमा देशभर जबरजस्ती करणीका ५० वटा घटना घटेको प्रहरीको तथ्यांकले देखाउँछ। महराको बलात्कार काण्ड पनि यही सूचीभित्र पर्छ। त्यस्तै, जबरजस्ती करणी उद्योगमा २० वटा घटना दर्ता भए। गएका दशैंको तुलनामा प्रहरीकहाँ दर्ता भएका यही प्रकृतिका घटनाको संख्या भने कम हो।

तर, समग्र अपराधको ग्राफ भने प्रत्येक दशैंमा उक्लिँदै जाने गरेको देखिन्छ। घटस्थापनादेखि पूर्णिमासम्म २४ जनाको हत्या भयो। २०७४ सालको दशैंमाभन्दा झन्डै दोब्बर संख्यामा मानिसको हत्या भएको तथ्यांकले देखाउँछ। यसपाला दशैंको अवधिमा मारिएका मानिसको संख्या अघिल्लो वर्षको दशैंको भन्दा पनि बढी नै हो। २०७५ सालको दशैंमा १८ जनाको ज्यान हत्या भएको थियो।

'प्रहरीको सुरक्षा कमजोरीको कारण हत्याको संख्या बढेको भने होइन। यो सामाजिक विकृतिको कारण घरभित्रकै झगडामा हत्या बढी भएका छन्,' नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले भने, 'यस बीचमा भएका हत्यामा प्रोफेसनल क्रिमिनलको संलग्नता देखिएको छैन।'

यस वर्षको दशैंमा देशभरि ७ सय ८९ वटा आपराधिक गतिविधि भए। दुई जना व्यक्तिको अपहरण, ४ जना बालबालिका माथि यौन दुराचार, ८ वटा डाँका चोरीलगायत घटना। २०७३ सालको दशैंमा ५ सय ७७ वटा घटना भएका थिए। २०७४ सालमा घटनाले बढुवा पाएर ६०१ मा पुगेको थियो। २०७५ सालमा ६ सय ४५ पुगेको थियो। नेपाल प्रहरीका प्रवक्ता डिआइजी पोखरेल भने प्रहरीको कन्ट्रोलभन्दा बाहिर घटना भएकाले संख्या बढेको बताउँछन्।

'यस वर्षको दशैं सुरक्षित नै रह्यो। घरभित्रका घटना प्रहरीले मात्र रोक्न सक्दैन। त्यही घटनाले संख्या बढेको हो,' डिआइजी पोखरेलले भने।

सवारी दुर्घनामा कमी

घटस्थापनादेखि २४ गतेसम्म ५ सय ९९ वटा सवारी दुर्घटना भएको प्रहरीको तथ्यांकले देखाएको छ। दुर्घटनामा परी ९८ जनाले ज्यान गुमाएका छन्। त्यस्तै २ सय ७४ जना गम्भीर घाइते भएर उपचाररत छन्। प्रहरीको तथ्यांक अनुसार सबैभन्दा धेरै उपत्यकाभित्र सवारी दुर्घटना भएको छ। ती दुर्घटनामा ९ जनाले ज्यान गुमाए। गत वर्षको तुलनामा भने यसपटकको दशैँमा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्यामा कमी आएको छ। २०७५ सालको दशैँमा भएका सवारी दुर्घटनामा १ सय २९ जनाको मृत्यु भएको थियो।

'प्रहरीको दशैँ सडक सुरक्षा अभियान र चालकलाई गराएको सचेतनाले गर्दा नै दुर्घटनामा कमी भएको हो,' प्रवक्ता पोखरेलले भने।

२०७४ सालको दशैँमा देशभरि ३ सय ८० वटा सवारी दुर्घटना भएका थिए। त्यसमा १ सय ४ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांकमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell