प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनमा मिडियाप्रति निक्कै असन्तुष्ट देखिएका छन्। उनका अभिव्यक्तिमा मिडियाको आलोचना जोडिनु सामान्य हुन थालेको छ। मिडियामाथि आलोचनात्मक टिप्पणी गर्नु जायज नै होला तर त्यो सत्तामा रहँदा मात्रै कि सधैंलाई? प्रतिपक्षमा रहँदा सत्ताको आलोचनालाई ठीक भन्ने र सिंहासनमा बसेपछि गलत भन्ने चरित्र हो भने त्यो दृष्टिदोषभन्दा अरु केही होइन। यसअर्थमा प्रधानमन्त्रीले आफ्नो आँखा परीक्षण गर्ने हो कि?
हिजो सत्तारुढ दल नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले विकासको रफ्तार बढेको तर आँखा चिम्लेर बसेकाले देख्न नसकेको अभिव्यक्ति दिए। उनको त्यही अभिव्यक्तिले उठाएको शंका हो- सायद प्रधानमन्त्रीज्यूकै आँखाको उपचार आवश्यक भएको हो कि। प्रधानमन्त्री ओलीका सल्लाहकार महोदयहरुलाई विनम्र अनुरोध- कृपया उहाँको आँखाको उपचार होस्। प्रधानमन्त्रीको दृष्टिमा समस्या भयो भने देश भड्खालोतिरै लाग्ने हो। यसर्थ, उहाँको उपचार आवश्यक छ।
लग्जरी गाडीमा बालुवाटारबाट सिंहदरबार अनि धुम्बाराही यात्रा गर्ने हो भने यो देश सिंगापुरभन्दा कम नलाग्ला। त्यसमाथि भर्खरै चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका लागि कालोपत्रेमाथि कालोपत्रे थपिएको छ उनी धेरै हिँड्ने मार्गमा। त्यसमाथि कालै सिसाको गाडीमा यात्रा गरिरहँदा बाहिरका धेरै दृष्य ओझेलमा पर्छ नै। प्रधानमन्त्रीले यात्रा गर्दा सुरक्षा परिचालन हुने ट्राफिक प्रहरीले कतै कुनै कसर छाड्दैनन्- यात्रा होलो बनाउन। यस्तैयस्तै दृष्य देखिरहेका प्रधानमन्त्रीलाई लाग्नु स्वभाविक पनि हो- आहा! क्या चिल्ला सडक, धुलो त कहाँबाट उड्नु?
अखबारका पानामा, इन्टरनेटका ब्राउजर र एप्लिकेसनबाट चलेका कुनै पनि रुपका मिडियामा विकास नभएका गन्थन मन्थन देखिरहँदा सधैंजसो यही रुटबाट यात्रा गरिरहेका प्रधानमन्त्रीले पर्ने नै भयो- यी मिडियाहरु नकारात्मक मात्र छन्। सकारात्मक काम भइरहेको देख्दैनन्। कहाँ बिग्रेको छ त्यही पटक पटक उछालेर देखाइरहन्छन्। स्वभाविक पनि हो, यसो लाग्नुमा। प्रधानमन्त्री जे सुन्न चाहन्छन् त्यही सुनाउन तयार जमात छ। प्रधानमन्त्री जे देख्न चाहन्छन् त्यही देखाउन तयार जमात पनि छ। प्रधानमन्त्रीले सुन्न र देख्न चाहने कुरामात्र ब्रिफ गर्न सफल समूहले उनीसामु पस्किने मेनु तिनै त हो जसमा विकास र प्रगति उन्नतीमात्र अटाउँछ। आलोचकहरुलाई जब दुस्मनका रुपमा व्याख्या गर्ने समूह तैनाथ रहन्छ तब प्रधानमन्त्रीलाई पनि लाग्नु स्वभाविक हो- यी सब मेराविरुद्ध खनिएका हुन्, डाहले।
यी शब्दहरु पनि प्रधानमन्त्री ओलीका लागि प्रितकर हुने छैनन् किनकि उहाँको नजरमाथि प्रश्न जो उठाइएको छ। स्वास्थ्यमाथि गरिने टिप्पणी कसैका लागि पनि मनपर्ने विषय होइन। प्रधानमन्त्री ओलीलाई पनि रुचिकर कसरी होवस्? तर, बालुवाटार-सिंहदरबार-धुम्बाराहीको रेलुगर रुट अनि बेलाबेलामा रातो कार्पेट ओछ्याइएका औपचारिक कार्यक्रममा गएर देखिने दृष्यबाहिर पनि नेपाल अटाएको छ। तिनै दृष्यमात्र खुला आँखाले हेर्ने हो भने पनि देश देखिन्छ।
प्रधानमन्त्रीले खुला आँखाले हेर्न आह्वान गरेको दिन र त्यसको भोलिपल्ट पनि मैले त्यही रुटबाट यात्रा गरेँ जहाँबाट यात्रा गर्दा मास्कले पनि धुलो थेग्न सक्दैन। हो, यो धुलो उड्ने श्रृङ्खला प्रधानमन्त्रीमा केपी शर्मा ओली आउनुअघिकै हो। बर्खाको झरीमा उहाँले अब मास्क लगाउन पर्दैन भनेर दिनुभएको अभिव्यक्ति यतिखेर झल्झल्ती नै छ। तर, यतिखेर गौशालाबाट चाबहिल, चाबहिलदेखि साँखु, मित्रपार्कदेखि दक्षिणढोकासम्मको वाग्मती करिडर दैनिक यात्रा गर्नुपर्नेले आँखा कसरी खोलोस्?
यति लेख्दा प्रधानमन्त्री ओलीविरुद्ध एउटा उपबुज्रुक निस्कियो भन्ने लाग्यो होला। लौ त प्रधानमन्त्री ओलीकै पार्टीको संगठित कार्यकर्ताले यस्ता रुटबाट आँखा खोलेर यात्रा गरुन्, मास्क नलगाई यात्रा गरेर देखाउन! प्रधानमन्त्रीज्यू, लौ च्यालेन्ज नै सहि- आफ्नो जुझारु कार्यकर्तालाई गरेर देखाइदे भन्नुस्।
होइन भने, एक पटक प्रधानमन्त्रीको आँखाको जाँच होस्। उहाँको टीमले गरेका कामको प्रगति कागजी होइन, धरातलमा के छ भन्ने हेर्ने हिम्मत उहाँमा नै जुटाइयोस्। प्रधानमन्त्रीलाई उनका प्यारा दिवंगत आङ छिरिङ शेर्पाले सञ्चालनमा ल्याएको गोकर्ण रिसोर्टसम्म गाडीबाटै यात्रा गराइयोस्। सायद, त्यसपछि प्रधानमन्त्रीले 'आँखा खोलेर हेर' भन्न छाड्नेछन्। प्रधानमन्त्रीलाई गोकर्ण लैजाँदा उनको स्वास्थ्यको पूरा ख्याल गरियोस्। साह्रै कम स्पिडमा कुदाइयोस् उनको गाडी किनकी जतिसुकै लग्जरी भए पनि बाटोले उनलाई उचाल्ने र थचार्न सक्छ। अनि महत्वपूर्ण कुरो, डस्ट प्रुफ गाडीमै उनलाई लगियोस्। कतैबाट धुलो नछिरोस्। तर, गाडीको सीसा भने कालो होइन, सादा नै होस्। किनकि विकासको गतिलाई प्रधानमन्त्रीले खुला आँखाले नै देख्न आवश्यक छ।
प्रधानमन्त्रीको जय होस्, देशको भलो।