PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पहिलो पत्नीले बहुविवाहको उजुरी गर्दा दोस्री पत्नीसँगको डिभोर्सपत्र : मिलापत्रतिर पुलिसको ध्यान!



सविन ढकाल

पहिलो पत्नीले बहुविवाहको उजुरी गर्दा दोस्री पत्नीसँगको डिभोर्सपत्र : मिलापत्रतिर पुलिसको ध्यान!

काठमाडौं : २०७३ मंसिर २४ गते सरिता लम्साल (नाम परिवर्तन) र प्रविनबाबु ढकालको विशेष दिन थियो। काठमाडौंको गुहेश्वरी मन्दिरमा उनीहरु विवाह बन्धनमा बाँधिदै थिए। सामाजिक परम्परा अन्तरगत नै विवाह हुँदै थियो।

जनप्रशासन क्याम्पसमा प्राविधिक पदमा कार्यरत प्रविनका घर परिवारले मागी विवाह गराएका थिए। विवाहपछिका केही दिन उनीहरुको राम्रैसँग नै बिते। त्यसपछि भने सरिताको जीवनमा खुशी भित्रिएन। बिहेको केही महिनामै दाइजोको विषयमा झगडा हुन थाल्यो।

करिब तीनमा वर्ष यस्तो दिन आयो जुन सरिताले कल्पनासमेत गरेकी थिइनन्। श्रीमानले उनीमाथि सौता हाले। जनप्रशासन क्याम्पसमा अध्ययनरत २२ वर्षीय युवतीलाई कान्छी श्रीमती बनाए।

'उहाँले यस्तो गर्नुहोला भन्ने सोचेको नै थिइन। वडा पञ्जाधिकारी कार्यालयमा गएर विवाह दर्ता समेत गराउनु भएको रहेछ,' पहिलोपोस्टसँग सम्पर्कमा आएकी सरिताले भनिन्।

गत चैत २९ गते प्रविनले ती युवतीसँग विवाह गरेका रहेछन्। प्रविन र ती युवती केही दिनमा नै अमेरिका जाने तयारीमा थिए। सौता हालेको थाहा पाएपछि सरितालाई मानसिक तनाव भयो। शिक्षिका समेत रहेकी सरिताले कानुनी बाटो रोजिन्। श्रीमान् विरुद्ध बहुविवाहको उजुरी लिएर महानगरीय प्रहरी वृत्त लौनचौरमा पुगिन्।

प्रहरीले सरिताको उजुरी दर्ता गरायो। बुधवार बिहान प्रविनलाई प्रहरीले बोलायो। सरितालाई प्रहरीले एक्सन लिएला भन्ने लागेको थियो। तर, घटनामा एकाएक ट्विस्ट आयो।

प्रहरीमा उजुरी गर्न गएकी सरितालाई प्रहरीले नै मिलापत्रका लागि पहल थालेका थिए। कारवाहीको साटो मिलापत्र गराउन प्रहरी नै तम्सिएपछि छाँगाबाट खसेजस्तै भइन् उनी।

सरिताको वकिललाई प्रहरीले फोन गरेर सहमति गराउने जानकारी गराएको थियो।

'म सोह्रखुट्टे प्रहरी कार्यालयबाट। तपाईँहरु (वकिल) हाम्रो कार्यालयमा आउनुपर्‍यो। सरितालाई पनि ल्याएर आउनुहोला,' उनका वकिललाई आएको फोनमा भनियो, 'यहाँ आएर तपाईँ हामी कसरी जाने बसेर कुरा गर्नु पर्ने भयो। भोलि नत्र मान्छे छोड्नु पर्ने अवस्था समेत आयो। उनीहरुले डिभोर्स पेपर ल्याएका छन्।'

प्रविनले दोस्रो पत्नीसँग पारपाचुके भइसकेको दावी गरेका छन्। त्यसमा उनले कागजात समेत पेश गरेका रहेछन्। पारपाचुकेको कागज पनि देखिएपछि प्रहरी नै अल्मलियो - डिभोर्स नै भएको हो या नक्कली? अनि दोस्रो विवाहको डिभोर्स चाहिँ पहिलोसँगको सम्बन्ध कायम रहँदा कसरी भयो?

'डिभोर्स पेपर बुझाएको देखिएको छ। यसबारेमा थप अनुसन्धान भइरहेको छ,' डिएसपी होविन्द्र बोगटीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell