PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अन्तर्राष्ट्रिय क्रस-कन्ट्री दौडको उपाधी सशस्त्र प्रहरीलाई



विष्णु गौतम

अन्तर्राष्ट्रिय क्रस-कन्ट्री दौडको उपाधी सशस्त्र प्रहरीलाई

पोखरा : पोखरामा पहिलो पटक आयोजना भएको ‘अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड–२०१९’ को उपाधी सशस्त्र प्रहरी बल (एपिएफ) क्लबका खेलाडीले जितेका छन्। नेपालमा पर्यटकको आगमनलाई वृद्धि गर्ने लक्ष्यका साथ आयोजना गरिएको सो प्रतियोगितामा नेपालका २३ सहित चीनका तीन समूहलाई पछि पार्दै सशस्त्रले सो उपाधि जितेको हो।

एपिएफका सन्तोषविक्रम विष्ट, गणेश ठकुरी र इन्द्रकला नेम्वाङ सहभागी समूहले निर्धारित दुरी ४ घण्टा १७ मिनेट २२ सेकेन्डमा पूरा गरि पहिलो भएको हो।

इन्द्रकला दक्षिण एशियाली खेलकुद प्रतियोगितालगायत अन्य राष्ट्रिय ट्राइथलन प्रतियोगितामा सहभागिता जनाएकी अनुभवी खेलाडी हुन् भने बाँकी दुई जनाको पहिलो सहभागिता हो।

यसैगरि प्रतियोगितामा प्यूठानको गुरिल्ला ट्रेल टोलीले दोस्रो स्थान प्राप्त गर्‍यो। सो समूहले निर्धारित दूरी ४ घण्टा १८ मिनेट २३ सेकेन्डमा पूरा गरेको थियो। टोलीमा दुर्गाराज बुढा, रसिला तामाङ र दामोदर बुढा मगर सामेल थिए। दामोदर बुढा मगर यस अगाडीको सगरमाथा म्याराथनका विजेता खेलाडी पनि हुन्।

तेस्रो स्थान भने चिनियाँ टोलीले सुरक्षित गरेको छ। काइनेटिक नामक सो टोलीले ४ घण्टा ५६ मिनेट २३ सेकेन्डमा दौड पूरा गर्‍यो। टोलीमा च्याङ यी, पेङ वाइ सू र लाई युजुन सहभागी थिए।

चौँथो स्थानमा चित्त बुझाएको नेपाली अन्नपूर्ण टोलीमा जीवन लामा, सौरभ राई र प्रतिभा श्रेष्ठ सहभागी थिए। सो टोलीले ४ घण्टा ५६ मिनेट ४५ सेकेन्डमा दौड पूरा गरेको थियो। प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टोलीले क्रस-कन्ट्री दौडको उपाधीसँगै कुन्मिनमा आयोजना हुने १०० किलोमिटरको क्रस-कन्ट्री रेसमा सहभागिताको अवसर प्राप्त गरेको छ।

नेपालीतर्फ चौथो हुने टोलीले पनि कुन्मिन क्रस–कन्ट्री दौडमा सहभागिता जनाउन पाउनेछ। प्रतियोगितामा चिनियाँ तीन टोलीसहित २६ वटा टिमको सहभागिता थियो।

क्रस कन्ट्रीमा ४२ दशमलव ९ किलोमिटरको दूरीमा दौड, साइक्लिङ र बोटिङ (डुंगा) समावेश गरिएको थियो। प्रतियोगी टोलीले १९ किलोमिटर साइक्लिङ, १.९ किलोमिटर बोटिङ र बाँकी २२ किलोमिटर दौड दूरी दौडेर नै पूरा गरेका थिए। प्रतियोगितामा सहभागी हुने तीन जनाको टोलीमा एक जना महिलाको सहभागिता अनिवार्य थियो।

त्यस्तै क्रस–कन्ट्रीको व्यक्तिगत विधामा भने चिनियाँ खेलाडीहरुको मात्रै सहभागिता रहेको थियो। जसमा १७ जना प्रतिस्पर्धी रहेको कार्यक्रम संयोजक विश्वशंकर पालिखेले जानकारी दिए। सबै यथावत भए पनि व्यत्तिगततर्फ बोटिङलाई समावेस गरिएको थिएन। ४० किलोमिटर दूरीको दौडमा चीनका झाङ जी पहिलो, चाङ चियान दोस्रो र झाओ वान तेस्रो भए। उनीहरुले क्रमशः ३ घण्टा ३९ मिनेट, २७ सेकेन्ड, ३ घण्टा ५० मिनेट १२ सेकेन्ड र ४ घण्टा १ मिनेट १२ सेकेन्डमा दूरी पूरा गरे।

चिनियाँ खेलाडीहरुको सहभागितामा पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ तथा कुन्मिन माउन्टनियरिङ एन्ड एक्स्प्लोरेसन एसोसिएसनको आयोजना एवं पोखरा र चीनको कुन्मिन महानगरपालिकाको संरक्षकत्वमा क्रस–कन्ट्री दौडको आयोजना भएको हो।

दौडमा सहभागी खेलाडीहरुलाई पोखरा महानगरको वडा नम्बर १७, २१ र २२ तथा स्याङ्जाको फेदीखोला गाउँपालिका क्षेत्रमा स्थानीयहरुले भव्य स्वागत गरेका थिए ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell