PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बेलायत र युरोपियन युनियनबीच ब्रेक्जिटबारे नयाँ सम्झौता



पहिलोपोस्ट

बेलायत र युरोपियन युनियनबीच ब्रेक्जिटबारे नयाँ सम्झौता

बेलायत र युरोपियन युनियनबीच नयाँ ब्रेक्जिट सम्झौता भएको छ। ब्रसेल्समा युरोपियन युनियन र बेलायती प्रधानमन्त्री बोरिस जोनसनबीच भएको वार्तामा नयाँ सम्झौता भएको हो।

जोनसनले ट्वीट गर्दै ब्रेक्जिटबारे भएको नयाँ सहमतिका बारेमा जानकारी दिएका हुन्। उनले लेखेका छन्, 'हामीले ब्रेक्जिटबारे नयाँ सम्झौता गरेका छौं। अब संसदले शनिवारसम्म ब्रेक्जिटका बारेमा निर्णय लिनुपर्छ। यसरी हामीले अरु प्राथमिक विषयहरु जस्तै हिंसा, अपराध, वातावरणमा ध्यान दिन सक्छौं।'

नयाँ सम्झौता अनुसार बेलायतले ब्रक्जिटलाई टुंग्याउँदै दुई हप्ताभित्र युरोपियन युनियन छोड्न समय मिल्ने जोनसनले बताएका छन्।

 

ट्वीट गर्दै जोनसनले नयाँ सम्झौताले बेलायतले आफ्नो कानुन, सीमा, पैसा र व्यापारमाथि कसैको हस्तक्षेपबिना पुन: स्वामित्व पाउने उल्लेख गरेका छन्। उनले ब्रेक्जिट पश्चात पनि युरोपियन युनियनसँग राम्रो सम्बन्ध कायम रहने र स्वतन्त्र रुपमा व्यापार हुनेमा विश्वास व्यक्त गरेका छन्।

यस्तै नयाँ सम्झौता अनुसार बेलायतले एक भएर युरोपियन युनियनको कस्टम युनियन त्याग्ने बताउँदै जोनसनले त्यसपछि विश्वभरि खुल्ला रुपमा व्यापार गर्न सक्ने बताए।

 

जोनसनले प्रजातन्त्रविरोधी शक्तिहरु पराजित भएको भन्दै उत्तर आयरल्यान्डले उनीहरुको अधिकार स्वतन्त्र रुपमा उपयोग गर्न पाउने बताएका छन्।

नयाँ सम्झौतामा बेलायत र युरोपियन युनियनको संसदबाट पारित हुनुपर्छ।

युरोपियन युनियनका अध्यक्ष जिन क्लाउडे जंकरले पनि बेलायतसँग नयाँ सहमति भएको भन्दै भने, 'जहाँ उपाय हुन्छ त्यहाँ सम्झौता हुन्छ। यो सम्झौता युरोपियन युनियन र बेलायतका लागि उचित र सन्तुलित हुनेछ।'

उनले युरोपियन युनियनको संसदबाट सो सम्झौता पारित हुने आशा रहेको समेत बताए।

बेलायती संसदले यसअघि प्रधानमन्त्री जोनसनले प्रस्तुत गरेको सम्झौताका प्रस्तावहरु अस्वीकृत गरेको थियो। बेलायतलाई अक्टोबर ३१ सम्म जसरी भए पनि ब्रेकजिट टुंग्याउनुपर्ने दबाब थियो।

बोरिस अगाडिका प्रधानमन्त्री थेरेसा मेले समेत संसदमा धेरैपटक ब्रेक्जिट सम्बन्धी प्रस्तावहरु प्रस्तुत गरेकी थिइन्। तर, ती सबै प्रस्तावहरु संसदबाट असफल भएपछि उनले राजीनामा दिएकी थिइन्।

मेपछि प्रधानमन्त्री भएका बोरिसले संसदले आफ्नो प्रस्ताव स्वीकृत नगरे बिना कुनै सम्झौता ब्रेक्जिट टुंगो लगाउने र आम निर्वाचन गराउने बताउँदै आएका छन्। उनले रानी एलिजाबेथ मार्फत् संसद स्थगन समेत गराएका थिए। तर, बेलायतको सर्वोच्च अदालतले संसद स्थगनको प्रस्ताव अवैध भएको बताएपछि बोरिसलाई ब्रेक्जिट टुंग्याउन चुनौती थपिएको थियो।

नयाँ सम्झौता प्रस्ताव भएसँथै ब्रेक्जिट प्रक्रिया अझै केही समय लम्बिने सम्भावना बढेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell