PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

थिएटर मल कीर्तिपुरमा जापानी रंगकर्मीको पपेट कार्यशाला शुरु



पहिलोपोस्ट

थिएटर मल कीर्तिपुरमा जापानी रंगकर्मीको पपेट कार्यशाला शुरु
फोटोः थिएटर मल

काठमाडौं : जापानी कलाकारहरुको समूहका साथमा कीर्तिपुरमा थिएटर मलको पपेट कार्यशाला शुरु भएको छ। ११ दिनसम्म चल्ने उक्त कार्यशाला दशैंलगत्तै शुरु भएको हो।

जापानको उटरभिजन पर्फमेन्स कम्पनीसँगको सहकार्यमा थिएटर मलले थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल, राराहिल मेमोरियल स्कुल र आसितेज नेपालको साथमा कार्यशाला आयोजना गरेको हो। कार्यशालामा १५ नेपाली रंगकर्मी र १० जना स्कुले विद्यार्थी सहभागी छन्।

जापानका पपेट थिएटरका अनुभवी पपेटियर तथा निर्देशक इरिना सजीले यस कार्यशालाको नेतृत्व गरेकी छिन्। उनको जापानी समूहका एरी तोमोई, इजावा रेई र मियामोतोले कार्यशाला सञ्चालनमा सघाइरहेका छन्।

नेपालमा पपेट थिएटर खासै प्रचलनमा नरहेको थाहा पाएर नेपालमा कार्यशालाका लागि सहकार्य गरिएको जापानी निर्देशक इरिना सजीले बताइन्। उनले भनिन्, ‘एशियामा पनि पपेट थिएटरको लामो इतिहास छ, यहाँ पनि आफ्नै खाले पपेट प्रस्तुतिहरु हुने गरेका छन्। कुनै साँस्कृतिक रुपमा त कुनै थिएटरका रुपमा यहाँ प्रचलित छन्।’

कार्यशालामा पपेट थिएटरको इतिहास, विभिन्न देशमा प्रचलित पपेट थिएटर तथा पपेट थिएटरको समुदायसँग रहेको सम्बन्धबारे छलफल गर्दै पपेट निर्माण, पपेटको सुव्यवस्थित सञ्चालन, त्यसबाट कथावाचन र पपेट थिएटर प्रस्तुति निर्माणमा सहभागीले अभ्यास गर्नेछन्।

दशैं र तिहारको बीचमा काठमाडौंका नाटक घरहरु लगभग बिदा हुने समयमा यो पटक थिएटर मलमा कार्यशाला राखिएको थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले बताए। उनले भने, ‘नेपालमा पपेट थिएटरको खास प्रचलन छैन, हामीले थिएटरको एउटा विधा पपेटलाई थिएटरमा ल्याउने प्रयास गरेका हौं।’

सहभागीहरुले कार्यशालाको अन्तिम दिन पपेट थिएटर शो गर्नेछन्। त्यसको लागि अहिले समूहमा कथा छनोट प्रक्रिया पनि भइरहेको छ। सहभागी बालबालिका र रंगकर्मीले छुट्टाछुट्टै पपेट प्रस्तुति दिनेछन्। कार्यशालाको फाइनल शो कार्तिक ७ गते दिउँसो ३ बजे थिएटर मल कीर्तिपुर रंगमञ्चमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell