PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

यस्तो हुनेछ चन्द्रमामा पुग्ने पहिलो महिलाले लगाउने 'स्पेससुट'



पहिलोपोस्ट

यस्तो हुनेछ चन्द्रमामा पुग्ने पहिलो महिलाले लगाउने 'स्पेससुट'
फोटो : DW/DPA

नासाले सन् २०२४ मा चन्द्रमामा पहिलो पटक महिला अन्तरिक्ष यात्रीलाई पठाउँदैछ। 'आर्टेमिस' नाम दिइएको नासाको सो मिसन अन्तर्गत चन्द्रमामा पुग्ने पहिलो महिला र सन् १९७२ पछिका अर्का पुरुषले अहिले तयारी गरिरहेका छन्।

यस्तोमा बुधबार नासाले चन्द्रमामा पुग्ने पहिलो महिला र सन् १९७२ पछिका अर्का पुरुषले लगाउने 'स्पेससुट' सार्वजनिक गरेको छ। सो अत्याधुनिक सुट विशेष रुपमा आर्टमिस प्रोग्रामको लागि तयार पारिएको हो।

प्रशासक जिम ब्राइडेन्सटाइन र स्पेस सुट इन्जिनियर क्रिस्टिन डेभिसले नासाको हेडक्वाटरस्थित जोनसन स्पेस सेन्टरमा सो सुट सार्वजनिक गरेका थिए।

दुई मध्येको एक सुट अधिकांश सेतो तथा बाहुलामा निलो र रातो रंगको छ। सो सुट स्पेससुट इन्जिनियर क्रिस्टिनले लगाएर सार्वजनिक गरेकी थिइन्। सो सुट चन्द्रमाको लुनार सतह (दक्षिणी ध्रुव)मा लगाउने गरी तयार गरिएको छ। सो सुटमा प्रयोग भएको कपडा एक्सप्लोरेसन एक्स्ट्राभेहिकुलर मोबिलिटि युनिट (एक्सइएमयू) हो।

'क्रिस्टिनले लगाएको यो सुट चन्द्रमामा जाने हाम्रा सबै अन्तरिक्ष यात्रीलाई मिल्छ' नासाका प्रशासक ब्राइडेन्सटाइनले भने, 'यी नै हुन् आर्टेमिस जेनेरेसनका लागि तयार भएका स्पेससुट।'

यो सुट पहिलेका सुटभन्दा लचिलो भएको बताइएको छ। जसका कारण अन्तरिक्ष यात्रीलाई चन्द्रमामा चट्टान टिप्नको लागि बस्न तथा हिड्न पनि सहज हुनेछ। उक्त सुटले माइनस १५० सेल्सियसदेखि १२० सेल्सियससम्मको तामक्रम धान्न सक्छ।

 

'एपोलो जेनेरेसनलाई सम्झिने हो भने निल आर्मस्ट्रङ र बज एल्ड्रिन चन्द्रको सतहमा उफ्रेका थिए' ब्राइडेन्सटाइनले भने, 'अब भने हामी साच्चिकै चन्द्रमाको सतहमा हिड्न सक्छौँ। यो पुरानो सुटभन्दा निकै फरक छ।'

ओरियन क्रिउ सर्भाइभल सिस्टमको अर्को सुन्तला रंगको सुट इन्जिनियर डस्टिन गोहमेर्टले लगाएर सार्वजनिक गरेका थिए। यो सुट ओरियन क्याप्सुलमा अन्तरिक्षमा छोडिँदा र पृथ्वीमा फर्किने समयमा अन्तरिक्ष यात्रीहरुले लगाउने छन्।

चन्द्रमामा महिला अन्तरिक्ष यात्री जाने योजना निश्चित भएपछि मात्रै सबै यात्रीलाई मिल्ने खालको सुट तयार गरिएको हो। त्यसअघि मध्यम साइजका स्पेससुट तयार भएका थिएनन्।

पहिलो महिला मात्र सम्मिलित 'स्पेस वाक'

नासाले पहिलो पटक महिला मात्र सम्मिलित 'स्पेस वाक' (अन्तरिक्षमा हिड्ने) को तयारी गरेको छ। इन्टरनेसनल स्पेस स्टेसनको ब्याट्री इन्सटल गर्न उनीहरु स्टेसन बाहिर अन्तरिक्षमा निस्किने छन्।

 

जसको लागि क्रिस्टिना कोच र जेसिका मियरले तयारी गरिरहेको नासाले जनाएको छ। स्पेस वाक आज या भोलिमा हुने नासाले बताएको छ। अन्तरिक्षमा कोच गत मार्चदेखि तथा मियर सेप्टेम्बरदेखि कार्यरत छन्।

यसअघि कोच र एन म्याकक्लेन सो कार्य गर्ने भनिए पनि प्रयास असफल भएको थियो। स्टेसनको ब्याट्री इन्सटल गर्न करिव ६ घण्टा लाग्ने नासाले बताएको छ।

(यो सामग्री द गार्डियनको अनलाइन स‌ंस्करणबाट पहिलोपोस्टका लागि हेम रोकाहाले भावानुवाद गरेका हुन्)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell