PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

तीन अग्रणी महिला अधिकारकर्मी सम्मानित



पहिलोपोस्ट

तीन अग्रणी महिला अधिकारकर्मी सम्मानित

काठमाडौं : महिला अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका तीन अग्रणी महिला अधिकारकर्मीहरु सम्मानित भएका छन्।

बेइजिङमा भएको चौथो विश्व महिला सम्मेलन समीक्षाका लागि आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय सञ्जाल नेपाल (एनएनबिएन) ले महिला अधिकारकर्मी दुर्गा घिमिरे, डा. बिना प्रधान र उद्यमी अम्बिका श्रेष्ठलाई सम्मान गरेको हो।

उनीहरुले महिला अधिकार, शसक्तिकरण लगायतका क्षेत्रमा योगदान पुर्‍याएकाले सम्मान गरिएको बताइएको छ।

महिला बालबलिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले तिनैजनालाई दोसल्ला ओडाएर सम्मानपत्र प्रदान गरेकी थिइन्।

कार्यक्रममा मन्त्री थापाले चौथो बेइजिङ सम्मेलनको २५ वर्षपछि नेपालमा महिलाको क्षेत्रमा धेरै परिर्वतन आएको बताइन्।

मन्त्री थापाले २०६२/६३ को आन्दोलन महिलाका लागि सबैभन्दा ठूलो परिर्वतन भएको बताइन्। सरकारले २०७६ साललाई महिला हिंसा विरुद्धको वर्षका रुपमा मनाउने घोषणा गरेको पनि उनले बताइन्।

कार्यक्रममा वरिष्ठ महिला अधिकारकर्मी चाँदनी जोशीले नेपाली महिलाहरुको अधिकार प्राप्तिको लडाईंमा सबैको हात र साथ चाहिने धारणा राखिन्। उनले बेइजिङले बालेको बत्तीलाई जिवितै राख्न सबैले ऐक्यवद्धता देखाउनुपर्ने बताइन्।

कार्यक्रममा एनएनबिएनकी संस्थापक संयोजक बन्दना राणाले महिला अधिकारप्राप्तिको क्षेत्रमा नेपालले धेरै देशहरुभन्दा बढी सफलता प्राप्त गरे पनि कार्यान्वयन तहमा धेरै चुनौतीहरु बाँकी रहेको बताइन्।

चौथो बेइजिङ सम्मेलनमा महिलाको लागि शिक्षा, गरिबी, स्वास्थ्य, हिंसा, द्वन्द्व, अर्थतन्त्र, वातावरणलगायतका बिभिन्न १२ वटा क्षेत्रमा प्रतिवद्धता जनाइएको थियो। यसै बारे राजधानीमा दुई दिनसम्म समीक्षा हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell