PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

राष्ट्रपति भण्डारीको म्यान्मार भ्रमणमा जहाज भाडामात्रै पौने करोड, २४ जना बोक्न १५८ सिटे जहाज चार्टर!



वसन्तराज उप्रेती

राष्ट्रपति भण्डारीको म्यान्मार भ्रमणमा जहाज भाडामात्रै पौने करोड, २४ जना बोक्न १५८ सिटे जहाज चार्टर!

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी अहिले म्यान्मारको राजकीय भ्रमणमा छिन्। राष्ट्रपतिको यो भ्रमणका लागि सरकारले नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज 'लुम्बिनी' चार्टर गरेको छ। चार्टर गरिएको विमान १५८ सिटे हो।

भ्रमण दलमा राष्ट्रपति भण्डारीसहित २४ जना यात्रु छन्। यो चार्टर उडान बैंककदेखि म्यान्मारका लागि गरिएको निगमले जनाएको छ। चार्टरपछि म्यान्मार पुगेको यो जहाज हिजै काठमाडौं फर्किसकेको निगम स्रोतले जानकारी दियो।

काठमाडौंदेखि बैंककसम्म भने यही जहाजमार्फत राष्ट्रपति सहितको टोली सेड्युल्ड फ्लाइटमै यात्रा गरेको निगम स्रोतले जनाएको छ।

निगमका अनुसार चार्टर उडानको दर जहाजको प्रकार र प्रति घण्टाको हिसाबले निर्धारण गरिँदै आएको छ। यसका लागि प्रति घण्टा ११ हजार पाँच सय डलर (करिब १४ लाख रुपैयाँ) खर्च लाग्छ।

निगमका अनुसार बैंकक-म्यान्मार उडान समय करिब सवा घण्टा(एक घण्टा १३ मिनेट)को रह्यो।  निगमले दिएको भाडादरअनुसार एकतर्फी चार्टर उडान गर्दा करिब १६ लाख रुपैयाँ शूल्क लाग्ने देखिन्छ भने दुई तर्फी चार्टर उडान गर्दा करिब ३२ लाख रुपैयाँ शूल्क लाग्छ।    

भण्डारीले आउँदो बुधबार यही जहाजमार्फत म्यानमारदेखि बैंककसम्मको चार्टर उडान गर्नेछिन्। यसका लागि थप ३२ लाख सरकारले खर्चनु पर्नेछ। दुई चार्टर गर्दा सरकारले करिब ६४ लाख रुपैयाँ भार चार्टरका लागिमात्रै खर्चिनुपर्ने देखिन्छ। 

यसैगरी बैंककदेखि काठमाडौं भने नियमित उडानमा आउने योजना रहेको निगम स्रोतले जानकारी दिएको छ। नियमित उडानमा २४ जनाले २ पटक काठमाडौं बैंकक यात्रा गर्नेछन्। काठमाडौं बैंककको उडानमा इकोनोमी क्लासको एक जनाको भाडा २१ हजार ८८३ रुपैयाँ तोकेको छ।

२४ जना जाँदा ५ लाख २५ हजार खर्च हुन्छ। भने फर्किँदाको भाडादर एकजनाको ९ हजार २६५ थाइ भाट अर्थात ३५ हजार रुपैयाँ तोकिएको छ।

त्यसैले फर्किँदा ८ लाख ४० हजार हजार रुपैयाँ खर्च हुने देखिन्छ। यसरी काठमाडौं-बैंकक ओहोर दोहोर गर्दा १३ लाख ६५ हजार रुपैयाँ बढी खर्च हुन आउँछ। 

चार्टर र नियमित उडान खर्च जोड्दा ७७ लाख ६५ हजार रुपैया खर्च हुने देखिन्छ। 

भण्डारी बुधवारमात्र म्यान्मारको राजधानी नेपिता पुगेकी हुन्। म्यान्मारमा रहँदा राष्ट्रपतिले म्यान्मारमा रहेका नेपाली मूलका नागरिकहरुसँग समेत भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भण्डारीले विश्वसम्पदा सूचीमा सूचीकृत बगानको अवलोकन गर्नुका साथै याङगनमा रहेका सांस्कृतिक र ऐतिहासिक स्थानहरुको समेत भ्रमण गर्नेछिन्।

म्यान्मानर भ्रमणपछि राष्ट्रपति भण्डारी जापान भ्रमणमा निस्कने योजना रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell