PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

विप्लवका नेता कार्यकर्ता कुन प्रदेशबाट कति समातिए?



सविन ढकाल

विप्लवका नेता कार्यकर्ता कुन प्रदेशबाट कति समातिए?

काठमाडौँ : बिहीवार प्रहरीले दाङबाट नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २१ नेता तथा कार्यकर्ता पक्राउ गर्‍यो।

नेपाल–भारत सीमामा रहेको दाङको राजपुर गाउँपालिका–४ मुग्रेटा खोला स्थित जङ्गलबाट उनीहरुलाई बैठक बसिरहेकै ठाउँमा पुगेर प्रहरीले नियन्त्रणमा लिएको हो। सरकारले विप्लव समूहको गतिविधिलाई गत फागुन २८ गतेदेखि प्रतिबन्धित गरेको छ।

विप्लव समूहको बैठक भइरहेको प्राप्त गोप्य सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले गएराति १ बजे उनीहरुलाई समातेको हो।

पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड इञ्चार्ज वीरजङ्ग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सुवास बाठा, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटन लगायतका नेता तथा कार्यकर्ताहरु रहेका छन्। पक्राउ परेका चन्द नेत्रविक्रम चन्दका दाजु हुन्।

विप्लव समुहले गत फागुन १० गते ललितपुरको नख्खुमा रहको एनसेलको कार्यालय गेटमा बम विस्फोट गराउँदा सर्वसाधारणको मृत्यु भएपछि सरकारले यो समूहमाथि प्रतिबन्ध लागउने निर्णय गरेको थियो। त्यसपछि प्रहरीले विप्लव समूहका नेता तथा कार्याकर्तालाई धरपकट सुरु गरेको छ।

अहिलेसम्म प्रहरीले विप्लव समुहका ९ सय जना नेता तथा कार्यकर्तालाई विभिन्न अभियोगमा नियन्त्रणमा लिएको प्रहरीको तथ्याङ्कले देखाएको छ। पक्राउ मध्ये ८ सय ४४ वटाजना विरुद्ध मुद्धा दर्ता भएको छ। प्रहरीले नियन्त्रणमा लिएका मध्ये ५५ जनालाई साधारण सोधुपछपछि छोडिएको पनि छ।

धेरैजसो नेता तथा कार्यकर्ता अदालतमा मुद्धा दर्ता भइ अदालतको आदेशपछि छुटेको देखिन्छ। ६ सय ६४ जना व्यक्ति अदालतको आदेशपछि रिहा भएका छन्।

प्रहरीले अहिलेसम्म अदालतको आदेशमा १ सय १३ जनालाई पूर्पक्षको लागि थुनामा छन्।

कहाँ कति पक्राउ?

विप्लव समूहका सबैभन्दा धेरै नेता तथा कार्यकर्ता प्रदेश नम्वर ५ मा पक्राउ परेका छन्। अहिलेसम्म १ सय ७१ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेर १ सय ६६ जना विरुद्ध मुद्धा चलाइसकेको छ। अदालतको आदेशमा २६ जना पुर्पक्षमा गइसकेका छन्।

प्रहरीको गोली लागि सर्लाहीमा मृत्यु भएका विप्लव समूहका नेता कुमार पौडेलको प्रकरण निकै चर्चा रह्यो, यसबीच। मानव अधिकार आयोगले समेत घटनाको बारेमा अनुसन्धान गरेको थियो। दुई नम्वर प्रदेशमा सबैभन्दा कम नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। फागुनदेखि अहिलेसम्म ४० जना कार्यकर्ता तथा नेता पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। ४० जना मध्ये ८ जना मात्र पुर्पक्षका लागि जेल चलान भएका छन्।

प्रदेश नम्वर १ मा १ सय २७ जना नेता तथा कार्यकर्ता प्रहरीको नियन्त्रणमा परे। १८ जना जेल पुगेका छन्। ८३ जना मुद्धा दर्ता भइ छुटिसकेका छन्।

उपत्यका बाहेर तीन नम्बर प्रदेशमा अहिलेसम्म ७२ जना नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको देखिन्छ। जसमध्ये ९ जना जेल गएका छन् भने बाँकी अनुसन्धानका क्रममा र छुटिसकेका छन्।

उपत्यकाभित्र १ सय २४ जना नेता पक्राउ परेका हुन्। धेरै जसो विस्फोटका घटनामा जोडिएका छन्। १८ जनालाई पूर्पक्षको लागि जेल पठाइएको छ। त्यस्तै गण्डकी प्रदेशमा १ सय ७० जनालाई प्रहरीले विभिन्न अभियोगमा नियन्त्रणमा लिएको प्रहरीको तथ्याङ्कले देखाउँछ।

कर्णाली प्रदेशमा ७९ जना पक्राउ परेकामा १५ जनालाई कारागार चलान गरिएको छ। सुदुरपश्चिम प्रदेशमा १ सय १७ जनालाई नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell