PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

एनआरएनए निर्वाचनका रोचक दृश्य : अध्यक्षमा पन्त निर्वाचित भएपछि हायातमा देखियो यस्तो रमझम

एनआरएनए निर्वाचनका रोचक दृश्य : अध्यक्षमा पन्त निर्वाचित भएपछि हायातमा देखियो यस्तो रमझम

नेत्र तामाङ/पहिलोपोस्ट


काठमाडौं : चार दिनसम्म चलेको गैरआवासीय नेपाली संघ, अन्तरार्ष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी)को नवौं अधिवेशनबाट अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन्। बिहीवार होटल हायातमा भएको मतदानबाट कुल आचार्यलाई पराजित गर्दै पन्त आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।

पन्तले १२ सय १७ भोट पाए भने उनका प्रत्यासी आचार्यले भने १ हजार ७० भोट मात्र ल्याएका प्राप्त गरेको निर्वाचन समितिका संयोजक शिवप्रसाद रिजालले बताए। पन्त नेपाल कम्युनिस्ट पार्टी समर्थक उम्मेद्वार हुन्।

त्यस्तै उपाध्यक्षमा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी  र महिला उपाध्यक्षमा रविना थापा निर्वाचित भएका छन्। महासचिवमा डाक्टर हेमराज शर्मा, सचिव गौरी जोशी, आरके शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, सह कोषाध्यक्ष लोक दाहाल विजयी भए।

अध्यक्षमा निर्वाचित पन्त जर्मनीमा होटल व्यवसाय गरिरहेका छन्। पन्तले अध्ययनका सिलसिलामा बेल्जिमय हुँदै जर्मनीको होटलमा काम गरेका थिए। अहिले जर्मनीमा उनी र गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीबा लामिछानेको लगानीमा तीन दर्जन होटल संचालनमा छन्।

अरुको मतपरिणाम सुन्ने फूर्सद् भएन पन्तलाई

अध्यक्षको निर्वाचन मत परिणाम निर्वाचन समितिले सार्वजनिक गर्नसाथ पन्त मत परिणाम घोषणा भइरहेको ठाउँमा आइपुगे। उनलाई बधाई दिनेको ओइरो लाग्यो। जसले गर्दा मत परिणाम घोषणा प्रभावित भयो।

निर्वाचन समितिका संयोजक रिजालले बधाई केही बेर रोक्न पटकपटक अनुरोध गर्दा पनि पन्तले टेरेनन्। हल्लाखल्ला बढ्दै गयो र क्यामरा पन्ततिरै तेर्सिए। पन्तलाई मिडियाका लागि बाइट मागिए। त्यसपछि समितिका संयोजक निरिह भएर निर्वाचन मत परिणाम सुनाउन थाले। रिजालको आवाज पन्तको बधाईको हल्लामा हराएको थियो।

दुई उपाध्यक्ष आचार्य प्यानलबाट

पाँच अध्यक्षमध्ये दुई अध्यक्ष कुल आचार्य प्यानलबाट निर्वाचित भए। आचार्य कांग्रेस समर्थित उम्मेद्वार हुन्। उनको प्यानलबाट उपाध्यक्षका उम्मेद्वार बनेका अस्ट्रेलियाका मन केसी र अमेरिकाकी रविना थापा निर्वाचित भएका हुन्। रविना शुरुमा खुल्ला उपाध्यक्षमा उम्मेद्वारी दिने तयारीमा रहेपनि पछि महिला उपाध्यक्षमा उम्मेद्वारी दिएकी थिइन्। एनआरएनएमा चार खुल्ला उपाध्यक्ष र एक महिला उपाध्यक्षको व्यवस्था गरिएको छ।

एक सचिव र कोषाध्यक्ष दुबै प्यानलका साझा उम्मेद्वार

एनआरएनएको निर्वाचनमा सबैभन्दा रोचक भनेको दुई पदाधिकारीका उम्मेद्वार दुबै प्यानलमा पर्न सफल भए। दुई सचिवमध्ये अमेरिकाका गौरी जोशी दुबै प्यानलमा अटेका थिए। त्यसैले ७ जना सचिवका उम्मेद्वार रहँदा जोशीले ९१६ मतका साथ पहिलो नम्बरमा परी सचिवमा निर्वाचित भए। अर्का सचिव आरके शर्माले ८६८ मत ल्याएर निर्वाचित भए।

कोषाध्यक्षका उम्मेद्वार महेशकुमार श्रेष्ठको नाम पनि दुबै प्यानलको लिस्टमा पर्‍यो। उनले १६५३ मत पाउँदा उनका प्रतिद्वन्दी सुदन थापाले ५४७ मतमात्र प्राप्त गरे।

सोनाम लामा पन्तको प्यानलमा उभिँदा कुलको हार!

आठौं अधिवेशनको मुखैमा कांग्रेस प्रवेश गरेका सोनाम लामा यसपटक कुमार पन्तको प्यानलबाट उपाध्यक्ष पदमा निर्वाचित बनेका छन्। लामा पूर्व अध्यक्ष शेष घलेका निकट पात्र हुन्। आठौं अधिवेशनमा पनि उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका उनी त्यतिबेला सफल हुन सकेनन्।

भवन भट्ट अध्यक्षमा जित्दा शेष घलेपत्नी जमुना घले पराजित भएकी थिइन्। भवनलाई कुमारले साथ दिएका थिए। यसैले गर्दा घले निकट सोनाम पन्तको समूहमा नउिभने हो भन्ने आश धेरैले गरेका थिए। यद्यपि सोनामले अघिल्लोपटक हार चाखिसकेकाले आफू सुरक्षित हुन पन्त समूह रोजे।

पन्त समूह रोज्दा पनि उनी उपाध्यक्षको अन्तिम नम्बरमा परेर निर्वाचित भए। खुल्ला उपाध्यक्ष चार जनामात्र निर्वाचित हुन्छ। जसमा लामाले ८९८ मत पाए भने उनलाई अमेरिकाकै डा केशव पौडेलले ८७० मतले पछ्याएका थिए।

पन्तको पानीदेखि वाइफाइसम्म निशुल्क

अध्यक्षका उम्मेद्वार पन्तले निर्वाचनको माहोल आफ्नो पक्षमा पार्न हायात परिसरमा नि:शुल्क वाइफाइको व्यवस्था गरेका थिए। त्यसैगरी उनले मतदाता रिझाउन आफ्नो उम्मेदवारी नारासहितको पानीको व्यवस्था गरेका थिए।

पञ्चेबाजाका साथमा नाचगान

एनआरएनएको निर्वाचन परिणाम बिहानै आउट भएपनि घोषणा भने दिउँसो साढे एक बजेमात्र भयो। मत परिणाम सार्वजनिक गर्नु अघि पञ्चेबाजाका दुई टोली हायात प्राँगणमा तैनाथ गरिएको थियो। पञ्चेबाजा टोलीलाई साथ पन्तका समर्थले नाचेर साथ दिएका थिए।

'१० अर्ब लगानी भित्र्याउन पहल गर्छु'

नवनिर्वाचित अध्यक्ष कुमार पन्तले आफ्नो कार्यकालयमा १० अर्ब रुपैयाँ लगानी भित्र्याउन पहल गर्ने बताएका छन्।

'यो जित सबैको हो। सबैलाई एकतावद्ध बनाएर लैजान्छु' उनले भने, 'आजैबाट १० अर्ब लगानी भित्र्याउन पहल गर्छु।'

पन्तले सदस्यता शुल्क नि:शुल्क बनाउने प्रतिवद्धता जनाउँदै सबैले मतदानको व्यवस्था गर्ने प्रतिवद्धता जनाए।

उनले अनलाइनका माध्यमबाट घरघरमा भोट हाल्ने व्यवस्था गर्ने बताउँदै योग्य कामदार आपूर्ति गर्ने मुलुकका रुपमा स्थापित गर्ने बताए। पन्तले संघभित्रको राजनीतिक हस्तक्षेप अन्त्य गर्ने समेत दृढता व्यक्त गरे।



ट्रेन्डिङ पोस्ट

Ncell