PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

दुर्गन्धित बधशालाले स्थानीयलाई हैरानी, भन्छन् ‘दुर्गन्धले बसी नसक्नु भयो’



पी बी खड्का

दुर्गन्धित बधशालाले स्थानीयलाई हैरानी, भन्छन् ‘दुर्गन्धले बसी नसक्नु भयो’

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–१० बेलघारीस्थित समुदायको बीच बस्तीमा राँगा बधशाला सञ्चालनमा छ। बस्तीभित्रको बधशालाबाट निस्केको फोहोर र दुर्गन्धले स्थानीय आजित बनेका छन्। बधशालाबाट निस्केको फोहोर उचित व्यवस्थापन नभएको भन्दै स्थानीयले पटक पटक सम्बन्धित निकायसमक्ष कुरा राख्दासमेत सुनुवाई नभएको गुनासो गर्दै आएका छन्।

‘यो बधशालाले बसी नसक्नु बनाएको छ। हावा लागेको बेला र घाम लागेको बेला यहाँ (समुदाय) वरीपरी बस्नै सकिन्न। जताततै फोहोरै फोहोर मात्रै छ’ स्थानीय लालबहादुर कोईरालाले भने, ‘नगरपालिका, सिडिओ कार्यालयलगायत विभिन्न सरोकारवालासँग गएर बधशाला समुदायभन्दा टाढा राख्न अनुरोध गर्दापनि कुनै सुनुवाइ नै भएन।’

स्वच्छ र स्वस्थ मासु विक्रिको ‘स्लोगन’ बधशालाको साईनबोर्डमा मात्रै सिमित छ। बधशाला भएकै वरीपरी झण्डै ४० घरधुरीको बसोबास रहेको छ। बधशालामा राँगा मात्रै बध गर्ने भनिएपनि त्यहाँ अधिकांश पाडा, पाडी र भैँसीको समेत बध हुने गरेको छ। दैनिक पाँचदेखि १० वटा राँगा, भैँसी बध गरेर मासु विक्रि वितरण गर्दै आएको बधशालाले फोहोर व्यवस्थापनमा भने खासै ध्यान दिएको छैन। उक्त बधशालाबाट निस्केको फोहोर र दुर्गन्धले समुदायका स्थानीयवासी हैरानी खेप्न बाध्य छन्।

स्थानीय नाजिर बक्सले भने, ‘फोहोरै फोहोर छ। फोहोर व्यवस्थापनमा खासै ध्यान छैन। फोहोर व्यवस्थापनको नाममा बायोग्याँस प्लान्ट छ तर कुनै प्रयोग भएको छैन।’

उनका अनुसार बधशालाको फोहोर जताततै छरपस्ट भएकाले झनै रोगहरुले सताउने गरेको छ।

‘बधशाला बाट निस्केको फोहोरले समुदायमा पस्नै नसकिने भएको छ, निकै गन्ध आउँछ’ उनले भने, ‘पशुबाट निस्केको रगत पनि खाली जग्गामा बगाउँछन्। यो बधशालाले दिक्क बनाएको छ।’

स्थानीयले बधशाला सार्नका लागि पटक पटक जिल्ला प्रशासन र नगरपालिकामा समेत धाउँदै आएको बताउँछन्। तर अहिलेसम्म स्थानीयको माग सुनुवाई नभएको गुनासो उनीहरुको छ।

यता माझि गाउँ कृषि फर्मका अध्यक्ष एवं बधशाला सञ्चालक धर्मराज विश्वकर्माले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गरेर आफुहरुले बधशाला सञ्चालन गरेको दाबी गर्छन्। तत्कालिन जिल्ला पशुसेवा कार्यालयको अनुदान र फर्मको लगानीमा बधशाला सञ्चालन गरेको उनले बताए। व्यवस्थित रुपमा मापदण्ड अनुसार आफूहरुले मासु विक्रिवितरण गर्दै आएको उनले बताए। 

‘हामीले वातावरणीय प्रभाव मूल्यांकन गरेर बधशाला सञ्चालन गरेको हो। यसले समुदायमा कुनै असर गरेको छैन’ उनले भने, ‘तीन चरणमा हामीले फोहोरको व्यवस्थापन गर्ने गरेका छौँ। एक सय घनमिटरको बायोग्याँस उत्पादन गरि ३० घरमा बालिरहेका छौँ।’

यद्यपी उनले भने अनुसार बायोग्याँस प्रयोग गरिएको छैन। पशु चिकित्सकबाट परीक्षण गरेर र स्त्री जातको पशुलाई मासुको रुपमा प्रयोग नगरिएको उनको जिकिर छ। अबको एक वर्षभित्र बधशालालाई समुदायदेखि टाढा लैजाने तयारीमा रहेको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell