PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सागमा पदकको आशा गरिएका खेलका मुख्य खेलाडी हुन थाले धमाधम बिरामी



विष्णु गौतम

सागमा पदकको आशा गरिएका खेलका मुख्य खेलाडी हुन थाले धमाधम बिरामी

पोखरा : आगामी दक्षिण एसियाली खेलकुद (साग)मा पदकको आशा गरिएका खेलका मुख्य खेलाडीहरु धमाधम बिरामी पर्न थालेको छन्। पोखरामा सार्कको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका उनीहरु बिरामी पर्न थालेपछि खेलाडी तथा प्रशिक्षकमा पदक गुम्ने चिन्ता बढेको छ।

पोखरामा हाल सार्कको तयारीका लागि ८ वटा खेलको बन्द प्रशिक्षण सञ्चालन भइरहेको छ। आठैवटा खेलहरु पोखरामा खेलाइदै छ। जसमध्ये पदक आउने बढी सम्भावना भएका चारवटा खेलहरु छन्ः आर्चरी, महिला ह्याण्डबल, ब्याडमिन्टन र प्याराग्लाइडिङ। सार्कमा खेलाइने सबै खेलहरुमध्ये टिम तर्फको खेलमा पदकको आशा गरिएको खेल भने ह्याण्डबल हो। त्यही ह्याण्डबलका मुख्य खेलाडीहरु अहिले अस्पतालको बेडबाट सार्कको खेल हुने दिनको क्यालेन्डर पल्टाउँदै छन्।

महिला ह्याण्डबल खेलकी प्रशिक्षक बिन्दा थापा भन्छिन्, 'हाम्रो लागि यो सार्क चुनौती र अवसर पनि हो। हाम्रो टिमका कतिपय खेलाडीहरु बिरामी भएका कारण मनमा अनेकौँ कुरा खेल्न थालेको छ।'

पदकको आशा गरिएको यो खेलका मुख्य खेलाडीहरु धमाधम बिरामी पर्दा चुनौती थपिएको छ। महिला टिमकी मुख्य गोलकिपर देवकुमारी बास्कोटा ‘एङ्कल क्र्याक’ भएर काडमाडौंमा उपचार गराइरहेकी छिन्। उनले खेल्न नसकेको अवस्थामा मेडलको बारेमा केही भन्न नसकिने बताइन्।

प्रशिक्षक थापाले भनिन्, 'देवकुमारीको अवस्थाको बारेमा प्लास्टर खोलेपछि मात्रै थाहा हुन्छ तर पनि हामी आशावादी छौं। उनले चाडै नै टिममा सहभागिता जनाउछिन्।'

उनको बन्द प्रशिक्षणको क्रममा फिजिकल असावधानी भएका कारण र खेल्ने ग्राउण्डका कारणले गर्दा पनि समस्या आएको थापाले बताइन्।

प्ले मेकरको रुपमा रहेकी मुख्य खेलाडी बुटवलकी अर्चना न्यौपाने पनि अहिले पोखराकै रिजनल अस्पतालमा उपचाररत छिन्। बिरामी नै भए पनि अर्चनाले चाँडै निको भएर खेलमा सहभागी बताएकी छिन्। उनी डेंगुबाट संक्रमित भएकी हुन्। उनी अस्पतालमा उपचारार्थ भर्ना भएको चार दिन भएको छ।

उनको उपचारमा संलग्न डक्टर मनोज कोइराला भन्छन्, 'उहाँमा डेंगुको संक्रमणले ज्वरो आएको हो, अहिले विस्तारै कम भएको छ तर पूरै निको हुन अझै केही समय लाग्न सक्छ।'

सबै कुरा ठीक भएमा भोलि उनको डिस्चार्ज गर्ने तयारी रहेको टिम कोच थापाको भनाई छ।

उनी भन्छिन्, 'भोलि डिस्चार्ज भए पनि बेला बेलामा आएर रगत र अन्य रिर्पोट फलोअप गर्नु पर्छ। तर पुरै सेटमा खेल्नको लागि त तिहार अगाडि समस्या नै होला।'

यस्तै सोही अस्पतालमा ह्याण्डबलकै पुरुष टिमका भरपर्दा एक मात्रै खेलाडी सन्दीप कार्की पनि रहेका छन्। उनले पनि छिट्टै निको भएर खेलमा फर्कने इच्छा राखे।

उनी भन्छन्, 'म भित्रबाट ठीक छु त्यसैले जे भए पनि चाँडै खेलमा फर्कने छु।'

उनी लेफ्ट विङ्सबाट खेल्छन्। आवश्यक परेको बेला खेललाई परिवर्तन गर्न सक्ने खुबी उनमा रहेको छ।

टिम मेनेजर शान्ति थापा भन्छिन्, 'सन्दीप सामान्य खेलाडीमात्रै होइन आवश्यक परेको बेला सबै टिमलाई नै परिवर्तन गर्न सक्ने खेलाडी हुन्।'

उनी गत भदौ १३ गते टाइफोइडका कारण कास्की सेवा अस्पतालमा भर्ना भएर १७ गते डिस्चार्ज भएका थिए। आरामको अभावका कारण उनको ज्वरो पुनः बल्झियो र अहिले फेरि अस्पतालमा भर्ना भएका छन्। 

उनी असोज २७ गते भर्ना भएका हुन्। मेनेजर थापाले भनिन्, “सन्दिपलाई अहिले टाइफोइड पोजेटिभ र ब्रोनकाईटिष्ट (चिसोको कारण छातीमा हुने समस्या) पनि देखिएको छ।

वरिष्ट फिजिसियन डाक्टर बुद्धिबहादुर थापाका अनुसार यो रोगमा आराम र तातोको आवश्यकता पर्छ नत्र भने नियमित रुपमा यो रोग बल्झिन सक्छ। उनले भने, 'यो रोग सामान्य हो तर अति तनाव, कमजोरी र चिसोले नियमित रुपमा समस्या ल्याउँछ, रोग निको भएपछि पनि भित्रैबाट रिकभर हुन न्यूनतम १५ दिन खानपिनमा ख्याल गर्दै आराम गर्नु पर्छ।'

नेपाल ह्याण्डबल संघका केन्द्रीय सचिव तथा सार्क पोखराका मिडिया कोअर्डिनेटर केशव पाठकका अनुसार ग्राउड र मौसमका कारण ह्याण्डबलका अधिकतम खेलाडीहरु कुनै न कुनै खालको समस्याबाट पीडित भएका छन्।

उनी भन्छन्, 'रंगशालामा हुने धुलोका कारण अधिकतम खेलाडीहरुमा रुघाखोकी र छातीको समस्या देखिएको छ भने कतिपयको खेल्ने मैदानको फिनिसिङ राम्रो नहुँदा खुट्टामा चोट लागेको छ।'

बक्सिङको बन्द प्रशिक्षणमा पोखरा आएका खेलाडीहरु मध्ये केही आएको दिनदेखि नै बिरामी भएकाले बन्द प्रशिक्षणमा सहभागी हुन सकिरहेका छैन्। बक्सिङको बन्द प्रशिक्षणमा रहेका तीन जना खेलाडी मौसमी भाइरल तथा खानपानको कारण बिरामी परेको र केहि प्रशिक्षण स्थलमा सामान्य चोट पटक लागेर बेड रेस्टमा रहेको मुख्य प्रशिक्षक प्रकास थापामगर बताउँछन्। तत्काल बन्द प्रशिक्षण अवधी भरी एक जना मेडिकल डाक्टर खटाइदिन राष्ट्रिय खेल परिषदको स्वास्थ्य शाखामा अनुरोध गरिएको मुख्य प्रशिक्षक थापामगर बताउँछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell