PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

क्यानमा आएन पारस खड्काको राजीनामा



पहिलोपोस्ट

क्यानमा आएन पारस खड्काको राजीनामा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन फुकुवापछि पहिलो पटक बोर्ड बैठक आज बस्दै छ।

बोर्डको बैठकमा क्यान निलम्बन फुकुवा भएर अघि बढ्दै गर्दा त्यसका शर्तहरु, आइसिसीबाट प्राप्त विषयहरुमा छलफल हुने क्यान महासचिव अशोकनाथ प्याकुरेलले पहिलोपोस्टलाई जानकारी दिए। सामाजिक सञ्जालमार्फत् नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले राजीनामा दिएको भए पनि आधिकारिक रुपमा क्यानमा राजीनामा आइनपुगेको महासचिव प्याकुरेलले बताए।

'मुख्यत: निलम्बन फुकुवा नै मुख्य एजेन्डा हो। निर्वाचित भएपछि अहिलेसम्म बोर्ड बैठक बसेको छैन, अब बस्दैछ।' क्यान महासचिव प्याकुरेलले भने, 'प्रमुख भनेकै निलम्बन फुकुवाका विषयहरु, त्यसमा आएका शर्तहरु र त्यसमा आइसिसीबाट आएका विषयहरुलाई हामी बोर्डमा छलफल गर्ने छौं।'

क्यान निलम्बन फुकुवा भएकै भोलिपल्ट नेपाली क्रिकेट टिमको कप्तानीबाट पारस खड्काले राजीनामा दिएका थिए। यद्यपि यस विषयले बोर्ड बैठकमा औपचारिक रुपमा प्रवेश भने पाउने छैन।

'उहाँको राजीनामा त आधिकारिक रुपमा क्यानमा आएकै छैन,' प्याकुरेलले भने, 'सामाजिक सञ्जालमा मात्र देखिएको छ। हाम्रो ध्यानाकर्षण चाहिँ भएको छ। यसरी उहाँको आधिकारिक राजीनामा नै क्रिकेट संघमा आएको छैन।'

क्यानले आइसिसीकै रोडम्यापमा आइसिसी, राखेपलगायतको रोहवरमा असोज ११ गते चुनाव सम्पन्न गर्दै १७ सदस्यीय समिति निर्वाचित भएको थियो।

क्यानको निलम्बन फुकुवा असोज २७ गते भएको थियो। खड्काले २८ गते सामाजिक सञ्जालमार्फत् नेपाली क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएको जानकारी गराएका थिए।

क्यानको बैठक आज दिउँसो १ बजेबाट बस्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell