PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

'बाघे' : गुण्डागर्दीका मात्र हैनन् ठगीका पनि नाइके!



सविन ढकाल

'बाघे' : गुण्डागर्दीका मात्र हैनन् ठगीका पनि नाइके!

काठमाडौं: अनेक नाम भए पनि प्रहरीको रेकर्डमा धेरै भेटिने नाम हो सन्देश तामाङ (बाघे)। धेरैले उनलाई बाघे नामबाटै चिन्छन्। बाघेको लागि प्रहरी र प्रहरीका लागि बाघे नौलो होइनन्। राजधानीमा गुन्डागर्दी नियन्त्रण गर्नु पर्‍यो भने प्रहरीले बाघेलाई खोजेर हिरासतमा हालिहाल्छ। उनको पहिचान नै गुन्डा नाइकेमा परिचित छ।

स्वयम्भू, बालाजुलगायतका क्षेत्रमा गुन्डागर्दी गर्दै आएका छन् बाघे। धाकधम्की लगायत गुन्डागर्दीमा बाघे १७ पटकभन्दा बढी प्रहरीले पक्राउ गरिसकेको छ। शुक्रवारदेखि उनी हिरासतमा छन्। तर उनको अनुहारमा पक्राउ पर्दाको पश्चाताप देखिँदैन। 'मेरो लागि यहाँ आउनु सामान्य भइसक्यो। आउँछु अनि फेरि जान्छु।' उनी हिरासतमा भेटिएका प्रहरीसँग यसरी नै प्रतिक्रिया दिने गरेको एक प्रहरीले बताए।

शुक्रवार पनि महानगरीय अपराध महाशाखाको टोलीको नियन्त्रणमा परे उनी। यसपटक भने अलिक फरक घटनामा। ठगी गरिएको अभियोगमा प्रहरीले बाघेलाई नियन्त्रणमा लिएको थियो। बालुवा, गिट्टीलगायत निर्माण सामाग्रीमा ठगी गरेको भेटिएको थियो।

स्वयम्भूमा बाघेको जेबीएस नामको निर्माण सामाग्री ढुवानी गर्ने डिपो छ। उनको डिपोले उपभोक्तालाई बिक्री गर्ने निर्माण सामाग्रीमा ठगी गरेको फेला परेको हो। उनीहरुले ढुवानी गर्ने ट्रकको डाला नै मोडिफाइ गरेर कम परिमाणमा सामाग्री ढुवानी गर्थे। डालामा ढलान, फलामको फ्रेम बनाएर कम सामाग्री जाने गरिएको पाइएको हो। 'गुन्डागर्दीमात्र होइन उनी ठगीमा पनि नामुद भएको देखियो। अहिलेसम्म के कति ठगी भयो अनुसन्धान गर्दै छौं। कोही ठगिनु भएको भए हामीलाई सम्पर्क गर्नुहोला,' महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले भने।

तामाङ दीपक मनाङे गुटमा रहेर गुन्डागर्दीमा सक्रिय रहँदै आएका थिए। बाघेले जेबीएस कम्पनीको नाममा तीनवटा ट्रकको डाला मोडिफाइ गरेको भेटिएको हो। बा २ ख ३८९३, बा २ ख ३३३०, बा २ ख ४३८५ नम्बरका तीनवटा ट्रिपर प्रहरीले नियन्त्रणमा लिएको छ। बाघेको मात्र होइन प्रहरीले अन्य २३ जना सञ्चालकको ३५ वटा ट्रिपर नियन्त्रणमा लिएको छ। 'ठगीको श्रृखंला बाघेबाट नै शुरुवात भएको देखिन्छ। ठगीको नाइके नै उही हो,' महाशाखाका एसएसपी थापाले भने।

ट्रकमा सय क्युबिक फिट सामग्री हुनुपर्नेमा ८३ फिटमात्र बनाइ बालुवा, गिट्टीलगायत सामानमा ठगी गर्ने गरेको पाइएको हो। त्यस्तोमा उपभोक्तालाई १ हजार ६ सयदेखि २ हजार २ सयसम्म रकम बढी ठगीको मारमा पर्ने गर्छन्। उनीहरुले यस्तो ठगी पहिलेदेखि नै गर्दै आएको बताएका छन्।

प्रहरीले नियन्त्रणमा रहेका उनीहरुविरुद्ध आइतवार ठगी अभियोगमा अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्ने भएको छ। त्यस्तै अन्य ढुवानी कम्पनी पनि निगरानीमा रहने एसएसपी थापाले बताए। 'अब हामी उपभोक्ता ठगी गर्ने सबै निर्माण कम्पनीमा निगरानी गर्छौं,' एसएसपी थापाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell