
काठमाडौं : अदालतले पक्राउ पुर्जी जारी गरेका सासंद तथा ने क पा केन्द्रीय सदस्य पार्वत गुरुङ अदालतमा उपस्थित भएका छन्। आइतवार उनी जिल्ला अदालत काठमाडौंमा हाजिर भएका हुन्।
काठमाडौं जिल्ला अदालतले असोज ८ गते नै सासद गुरुङलाई पक्राउ गर्न पत्र जारी गरेको थियो। दोलखाबाट निर्वाचित सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो। वीरध्वज खड्काको जाहेरीमा गत वैशाख २९ गते काठमाडौं जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको थियो।
मुद्दा दर्ता भएको भएको पाँच महिनापछि भदौ १२ गते जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दोलखालाई सांसद गुरुङलाई उपस्थित गराउन पत्र काटेको थियो।
'उहाँ आज आफैँ अदालतमा उपस्थित हुनु भएको छ। अब मुद्दाको प्रक्रिया अगाडि बढ्नेछ,' काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले भने।
वीरध्वज खड्कालाई २०७४ वैशाखमा काठमाडौंमा भएको आक्रमणको विषयमा गुरुङ मुछिएका थिए। खड्का तत्कालीन नेकपा माओवादीका कार्यकर्ता हुन्। स्थानीय निर्वाचन अगाडि गौरीशंकर गाउँपालिका–२ जुँगुमा कुलबहादुर तामाङको हत्या भएको थियो। त्यही घटनालाई लिएर माओवादी केन्द्रका स्थानीय नेताहरु गंगा कार्की, देवी खड्का, विशाल खड्का लगायत ४० जनाविरुद्ध किटानी जाहेरी परेको थियो। ४० मध्ये एक खड्का पनि एक थिए। प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। उनीहरु धरौटीमा रिहा भएका थिए।
पछि तत्कालीन नेकपा एमालेका कार्यकर्ताले खड्कामाथि ज्यान लिने उद्देश्यले आक्रमण गरेका थिए। त्यसमै गुरुङ मुछिएका हुन्।