PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कश्मीरको भारत–पाकिस्तान सीमामा भएको गोलाबारीमा दुई सैनिकसहित तीन जना मारिए : भारत



पहिलोपोस्ट

कश्मीरको भारत–पाकिस्तान सीमामा भएको गोलाबारीमा दुई सैनिकसहित तीन जना मारिए : भारत
गोलाबारी भएको ठाउँको नक्शाः गुगल

भारतले कश्मीरको पाकिस्तानसँगको सिमानामा पाकिस्तानसँग भएको दोहोरो गोलाबारीमा आफ्ना दुई सैनिक र एक जना सर्वसाधारण मारिएको दाबी गरेको छ। उता, पाकिस्तानले भने गोलाबारीमा आफ्नातर्फका ६ जना मारिएको बताएको छ। गत अगस्टमा भारत नियन्त्रित कश्मीरमा लागू संंविधानको धारा ३७० भारतले हटाएयता दुवै देशबीच भएको यो सबैभन्दा घातक गोलाबारी हो।

कश्मीरको उत्तरी क्षेत्र ताङधरमा शनिबार रातभरिजस्तै भएको कैयौं घण्टाको दोहोरो गोलाबारीमा तीन जना भारतीय घाइते भएको र केही भवन तथा सवारीसाधन ध्वस्त भएको एक वरिष्ठ प्रहरी अधिकारीले बताएको रोयटर्सले उल्लेख गरेको छ।

पाकिस्तानले भने गोलबारीमा आफ्ना ६ नागरिक मारिएको र ८ जना घाइते भएको जनाएको छ। पारमाणविक शस्त्र सुसज्जित भारत र पाकिस्तान दुवैले सन् १९४७ मा पाकिस्तान स्थापनापछि कश्मीरको स्वामित्व विवादलाई लिएर दुईपल्ट युद्ध गरिसकेका छन्। 

भारतीय रक्षा मन्त्रालयका प्रवक्ता कर्णेल राजेश कालियाले ताङधर इलाकामा पाकिस्तानले युद्धविराम उल्लंघन गरेको आरोप लगाए। उनले भने, ‘त्यसपछि हाम्रो सेनाले गरेको कडा जवाफी कारवाहीमा शत्रुका तर्फ क्षति र हताहत भए।’

उता, पाकिस्तान नियन्त्रित कश्मीरका प्रधानमन्त्री राजा फारुक हैदरले भने ट्विट गर्दै भारती सेना उन्मत्त भएको प्रतिक्रिया दिएका छन्। ‘भारत नियन्त्रित कश्मीरमा रहेको भारतीय फौज बहुलाएको छ,’ उनले ट्विटमा भनेका छन्। मुजफ्फराबाद र निलम जिल्लामा भारतीय गोलाबारीका कारण सर्वसाधारणको मृत्यु र घाइते भएको पनि उनले ट्विटमा उल्लेख गरेका छन्। हैदरले कश्मीर निड्स एटेन्सन ह्याशट्गमा ट्विट गर्दै भनेका छन्, ‘यो क्रुरताको पराकाष्ठा हो। यो विषयमा विश्व मौन बस्नु हुँदैन।’

गत अगस्ट ५ मा भारतले कश्मीरमा लागू संविधानको विशेष व्यवस्था हटाएलगत्तै त्यहाँ उत्पन्न हुन सक्ने प्रतिरोध निस्तेज पार्न ठूलो संख्यामा भारतीय सेना तैनाथ गरेदेखि नै भारत पाकिस्तानबीच तनाव चर्कंदै गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell