PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कश्मीरलाई लिएर मलेसिया र टर्कीसँग भारतको चिसियो सम्बन्ध, मोदीको टर्की भ्रमण रद्द



पहिलोपोस्ट

कश्मीरलाई लिएर मलेसिया र टर्कीसँग भारतको चिसियो सम्बन्ध, मोदीको टर्की भ्रमण रद्द
फाइल फोटोः बिबिसी/गेटी इमेज

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टर्की भ्रमण रद्द भएको छ। भारत सरकारले जम्मू कश्मीरलाई राज्यको दर्जाबाट हटाएर दुई केन्द्रशासित प्रदेश बनाएको विषयलाई लिएर टर्कीले लिएको 'स्टयान्ड' का कारण दुई देशबीचको सम्बन्ध चिसिएको हो।

२४ सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको साधारण सभालाई सम्बोधन गर्दै टर्कीका राष्ट्रपति रेसिप तैय्यप एर्डोगानले भारतको संविधानमा जम्मू कश्मीरलाई विशेष अधिकारको ग्यारेण्टी गरेको धारा ३७० हटाएको मुद्दा उठाएका थिए। एर्डोगानले सो सम्बोधनमा कश्मीर र पाकिस्तानको समर्थन गरेका थिए। यस्तै उनले फाइन्यान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) मा समेत पाकिस्तानलाई समर्थन गर्ने घोषणा गरेका थिए।

एर्डोगानको यो कदमको भारतले कूटनीतिक रुपमा नै जवाफ फर्काएको थियो। केही समयअघि टर्कीले सिरियाको कुर्दिस समूहमाथि आक्रमण गरेको थियो। भारतले त्यसबेला टर्कीको आलोचना गर्दै सिरियाको सार्वभौमसत्ताको रक्षा हुनुपर्ने बताएको थियो।

द हिन्दूका अनुसार भारतले टर्कीको अनादोलु शिपयार्डबाट भारतमा नेवी सपोर्ट शिप (जलसैनिक सहायता पानीजहाज) बनाउने सम्झौतासमेत रद्द गरेको छ। सो सम्झौता करिब २ अर्ब ३० करोड अमेरिकी डलरको रहेको थियो। अनादोलु शिपयार्डले पाकिस्तानी जलसेनालाई समेत सहयोग गरिरहेको भारतको बुझाइ रहेको छ।

यता भारतका लागि टर्कीका राजदूत साकिर ओजकनले भने मोदीको भ्रमण रद्द भएकोमा दु:ख जनाउँदै भ्रमणका लागि नयाँ मिति सार्वजनिक हुनेमा विश्वास व्यक्त गरेका छन्। अनादोलु शिपयार्डसँगको सम्‍झौता रद्द हुनुलाई 'व्यावसायिक मुद्दा' बताउँदै साकिरले टर्कीका राष्ट्रपति एर्डोगान र भारतका प्रधानमन्त्री मोदीबीच भएको सबै भेटमा 'मेक इन इन्डिया' को बारेमा चर्चा हुने गरेको बताउँदै आउने दिनमा सबै ठीक हुने अपेक्षा व्यक्त गरे।

कश्मीर मुद्दामा चीनले समेत पाकिस्‍तानको समर्थन गरेको तर चिनियाँ राष्ट्रपति सी जिनपिङले भारत भ्रमण गरेको उल्लेख गर्दै राजदूत साकिरले कश्मीर मुद्दामा टर्कीको 'स्ट्यान्ड'का कारण मोदीको भ्रमण रद्द भएकोमा समेत प्रश्न उठाएका छन्।

यस्तै मलेसियाले समेत एफएटीएफमा पाकिस्तानलाई समर्थन गर्ने घोषणा गरेको थियो। यसबाट रुष्ट भएको भारतले मलेसियाबाट ताडीको तेल (पाम आयल) आयातसमेत कम गर्न शुरु गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।

भारतीय व्यापारीहरुले ताडीको तेलका लागि इन्डोनेसियासँग सम्पर्क शुरु गरेको बताइएको छ। भारतको कदमपछि मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले व्यापारका बारेमा भारतसँग कूटनीतिक छलफल गर्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell