PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

गोठमा बाँधिएको गाई चोरेर हत्या गर्ने तीन जना पक्राउ



एम बम

गोठमा बाँधिएको गाई चोरेर हत्या गर्ने तीन जना पक्राउ

कैलाली : कैलाली प्रहरीले गौहत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा फुलबारी एच गाउँ बस्ने ४५ वर्षीय अशोक तामाङसहित २ जना किशोर रहेका छन्। उनीहरुले मिलेर गाईको हत्या गरी मासु घरमा लगेको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

शनिवार राती कैलालीको धनगढी उप-महानगरपालिका वडा नम्बर १५ फुलबारीका राम कृष्ण चौलागाईको गोठमा बाधिएको गाई चोरी भएपछि खोजी गर्दा वडा नम्बर १४ कै जन कल्याण सामुदायिक बनमा टाउको र करङसहितको मेरुदण्ड स्थानीयले फेला पारेको थियो।

गोठमै बाँधिएको गाई चोरी भएपछि हत्या भएको हुनसक्ने भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान थाल्दा शनिवार गाईको मासु र मासु काट्न प्रयोग गरिएका हतियार सहित तीनजनालई पक्राउ गरेको थियो।

प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीका अनुसार उनीहरूले शनिवार बिहान २ बजे चौलागाईको गोठबाट गाई चोरेर जंगलमा लगेको र बिहानै हत्या गरेका थिए। उनीहरूले मासु खानका लागि गाईको हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूका साथबाट मासु काट्न प्रयोग भएको बन्चरो, हँसिया, गंडसासहित गाइको मासु पनि बरामद गरेको थियो।

उनीहरूविरुद्ध अदालतबाट म्याद थप गरी गौहत्या अभियोगमा मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell