PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

क्यान बैठक : कमिटी निर्माणमा केन्द्रीत, पारसको राजीनामाबारे निर्णय भएन



मुकुन्द घिमिरे

क्यान बैठक : कमिटी निर्माणमा केन्द्रीत, पारसको राजीनामाबारे निर्णय भएन

काठमाडौं : नेपाली क्रिकेट संघ (क्यान) कमिटीको निर्वाचित भएर आए यता आज पहिलो पटक बैठक बसेको छ। बैठकले क्यान निलम्वन सशर्त फुकुवा भए यता बसेको पहिलो बैठक भावी कार्ययोजनामा केन्द्रीत भएको क्यान महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए।

'मोटामोटी धेरै विषयमा छलफल गरियो तर आजको हाम्रो मुल एजेन्डा २/३ वटा थियो। निलम्वन फुकुवा पछिको पहिलो बैठक भएकाले यसको बारेमा बोर्डमा छलफल भयो,'  बैठक पछि कुरा गर्दै प्याकुरेलले भने।

त्यस्तै आइसिसीसँग चलिरहेका ‍औपचारिक र अनौपचारिक छलफलबारे पनि बैठकमा जानकारी गराएको उनले बताए।

'निलम्वन फुकुवा पछिको सङक्रमणकाल भएकाले आइसिसीसँगको समन्वयमा काम गर्ने कुरा भएको छ। आइसिसीसँग मिलेर भावी योजना बनाउने कुरा भएको छ' उनले भने, 'तत्काललाई अफिस सञ्चालन गर्ने कुरा आएको छ। यसले क्यानलाई एउटा स्वरुप दिनेछ।' 

त्यस्तै प्राविधिक पक्ष, प्रतियोगिताहरु आयोजना गर्ने, मिडियासँग अन्तर्क्रिया गर्ने र आर्थिक कुराहरुका लागि गरी ४ वटा कमिटी बनाउनेमा छलफमा भएको थियो। पछि आइसिसीसँगको समन्वयमा समितीहरु थपघट हुनसक्ने प्याकुरेलले जानकारी दिए।

बैठकमा संघको भावी योजनाबारे आइसिसीसँग कसरी समन्वय गरेर जाने भन्ने विषयले पनि प्रवेश पाएको थियो। 

यता चासोको रुपमा हेरिएको कप्तान पारस खड्काको राजनीमाको विषयले पनि बैठकमा प्रवेश पाएको थियो। एक बोर्ड सदस्यका अनुसार पारसको राजीनामाबारे आधिकारिक धारणा क्यानमा दिन लगाउने सम्बन्धमा पनि छलफल भएको थियो। 

यद्पी प्याकुरेलले भने पुरानै कुरा दोहोर्‍याउँदै पारसको राजीनामाबारे बैठकमा छलफल भए पनि उनको आधिकारीक राजीनामा नआएकाले बोर्डले यसबारेमा केही निर्णय नगरेको बताए।

त्यस्तै मूलपानी क्रिकेट स्टेडियम, किर्तिपुरको क्रिकेट मैदानलगायत हाल खेलकुद परिषदले सञ्‍चालन गरिरहेकाले आधिकारिक रुपमा क्यान आइसकेकाले यसबारेमा राष्ट्रिय खेलकुद परिषदसँग समन्वय गरेर फेरि क्यानले नै सञ्चालन गर्न पहल गर्ने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell