PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

पूर्वप्रहरीकै घर भाडामा लिएर नक्कली नोटको कारखाना, रिचार्ज कार्डमा साट्थे नक्कली नोट



सविन ढकाल

पूर्वप्रहरीकै घर भाडामा लिएर नक्कली नोटको कारखाना, रिचार्ज कार्डमा साट्थे नक्कली नोट

काठमाडौं : प्रहरीले सोमबार काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित नयाँबस्तीबाट नक्कली रुपैयाँ छाप्ने तीन जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुले विपुल चोकनजिकै रहेको रोशन दवाडीको घरको दोस्रो तलामा कोठा भाडामा लिई नक्कली नोटको कारोबार गरेको खुलेको हो।

उनीहरुले नक्कली नोटको कारोबार गर्न भाडा लिएको घर नेपाल प्रहरीका पूर्व इन्स्पेक्टरको भएको खुलेको छ। करिब ७ महिना अगाडि उनीहरुले घर भाडामा लिएका थिए। भाडामा लिएपछि उनीहरुले नोट छाप्न प्रयोग गरिने सामाग्री खरिद गरेर ल्याएके र नक्कली नोट छाप्ने काम शुरु गरेको देखिएको छ। 'दशैं अगाडिदेखि नै नक्कली नोटको धन्दा गरेको पाइयो। बजारमा उनीहरुले केही रुपैयाँ लगिसकेको खुलेको छ,' महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी रमेश सिंहले भने।

प्रहरीले दोलखा मेलुङ गाउँपालिकाका राजन परियार, सन्तोष नेपाली र महेन्द्र नेपालीलाई नियन्त्रणमा लिएको हो। कोठा भाडामा लिएर बसे पनि उनीहरुको गतिविधि शंकास्पद भएपछि घरधनीले प्रहरीलाई सूचना दिएका थिए। नेपाल प्रहरीको विषेश व्युरो र महानगरीय प्रहरी वृत्तले गोप्यरुपमा अप्रेसन गरेको थियो।

उनीहरुको साथबाट प्रहरीले एक हजारको ३४ वटा नक्कली नोट, नोट बनाउन तयार पारिएको करिब २ सय ९० वटा कागज, रंगीन फोटोकपी मेसिनसहित अन्य सामाग्री बरामद गरेको छ। प्रहरीको प्रारम्भिक बयानमा उनीहरुले अहिलेसम्म ६० हजार रुपैयाँ बराबरको नक्कली नोट बजारमा पुर्‍याइसकेको बताएका छन्।

रिचार्ज कार्डमा साट्थे नक्कली नोट

उनीहरुले दशैं अगाडि नै नक्कली नोटको कारोबार गरेको खुलेको छ। दशैंको मौका छोपी उनीहरुले बजारमा नक्कली नोटको कारोबार गरेको देखिएको हो। उनीहरु आफैं नै नक्कली नोट लिएर जाने गरेको खुलेको छ। भीडभाड हुने र ब्यस्त हुने स्थानमा आफूसँग भएको नोट दिएर उनीहरुले सामाग्री खरिद गर्ने गरेका थिए।

उनीहरुले धेरैजसो नोट रिचार्ज कार्ड खरिद गर्न साटेको खुलेको हो। हजार रुपैयाँको नोट दिएर एक सयको रिचार्ज खरिद गर्ने गरेको खुल्न आएको डिएसपी सिंहले बताए। 'रिचार्ज कार्डमा किनेर रकम साटिएको भेटिएको छ। त्यसैले नोटको कारोबार गर्दा ध्यान दिनुहोला,' डिएसपी सिंहले सर्वसाधारणसँग नक्कली नोटबारे सावधान गर्दै अनुरोध गरे।

प्रहरीले मुलुकी ऐनको महल ६ मा रहेको खोटा चलन अनुसारको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरि उनीहरुविरुद्ध अनुसन्धान गर्छ। अदालतमा दोषी प्रमाणित भए उनीहरुलाई ऐनअनुसार बिगो बमोजिमको जरिवानासहित बढीमा १० वर्षसम्म जेल सजाय हुनसक्छ।

सम्वन्धित समाचार

नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ, हजारौँ रुपैयाँ बजारमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell