PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

निश्चल बस्नेत भन्छन्, 'केमियो रोल मेरो बाध्यता थियो'



मन्दिरा खत्री

निश्चल बस्नेत भन्छन्, 'केमियो रोल मेरो बाध्यता थियो'

निर्देशक तथा अभिनेता निश्चल बस्नेत अभिनित फिल्म 'घामड शेरे' आँउदो कात्तिक ८ गतेदेखि प्रदर्शनमा आउँदैछ। यो फिल्ममा निश्चलसँगै अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ।

फिल्मको प्रदर्शन मिति नजिकिएसँगै निश्चल र स्वस्तिमा 'घामड शेरे]को प्रचारप्रसारमा लागेका छन्। 'रियल लाइफ कपल' निश्चल र स्वस्तिमाले रिलमा 'घामड शेरे'मार्फत पहिलो पटक एउटै स्क्रिन शेयर गरेका छन्। यसअघि उनीहरुले केही म्युजिक भिडियोमा एकसाथ काम गरेका थिए। यस फिल्ममा स्वस्तिमा निश्चलको सालीको रुपमा प्रस्तुत भएकी छिन्।

'लुट' जस्तो हिट फिल्म निर्देशन गरिसकेका निश्चल पछिल्लो समय फिल्म निर्माणभन्दा पनि अभिनयमा बढी सक्रिय छन्। त्यसो त आइतवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निश्चल बस्नेतले नेपाली बजारमा बनिरहेका फिल्मभन्दा फरक किसिमका फिल्म बनाउन आफूले कोशिश गरिरहेको बताए। 

निश्चलले भने, 'मेरो लाइफ टाइममा दर्शकहरुले निर्देशकको रुपमा मेरो धेरै फिल्म पाउनुहुन्न होला तर जति पनि पाउनुहुन्छ बजारमा चलिरहेको फिल्मी ट्रेन्डभन्दा अलि फरक नै होस् भन्ने म चाहन्छु।'

निश्चल आफूले फिल्मी करियरमा केमियो गरेका अधिकांश फिल्ममा अभिनय गर्नुलाई बाध्यता ठान्छन्।

'जुन जुन फिल्ममा मेरो लामो भूमिका रहेको थियो, त्यो फिल्ममा काम गर्नु मेरो बाध्यता थिएन,' उनले भने, 'तर मैले अभिनय गरेका सबै केमियो रोल मेरो बाध्यता थियो। एक समय मैले अभिनय गरेका केमियो फिल्म लहरै यति धेरै आए। त्यो समयमा चिनेकै फिल्ममेकर साथीभाइकै कारण फिल्ममा केमियो रोल गर्न बाध्य भएको थिएँ। तर पछिल्लो समय मैले अभिनय गरेको फिल्मलाई चाहिँ बाध्यता भन्न मिल्दैन। त्यो निर्देशनबाहेक म आफूभित्र भएको रुचि पनि होला।'

फिल्म 'घामड शेरे' सोसल ड्रामा र सटायर जनरामा निर्माण गरिएको निर्देशक हेमराज बिसीले बताए। निर्देशक बिसी भन्छन्, 'नेपाली फिल्म इन्डस्ट्रीमा निश्चल–स्वस्तिमाको नाम एउटा ब्रान्ड जस्तै भइसकेका छ यो फिल्ममा जब कास्टिङको कुरा आयो, हामीले जस्तो प्रकारको क्यारेक्टर खोजिरहेको थियौँ, फिल्मको लागि स्वस्तिमा फिट हुन्थ्यो र उसको क्यारेक्टरअनुसार स्क्रिप्टमा पनि प्लस पोइन्ट हुने भएकोले मैले फिल्ममा स्वस्तिमालाई लिएको हो।' 

स्वस्तिमाले भनिन्, 'निर्देशक हेमराज बिसीले मलाई फिल्म अफर गर्दा सुरुमै मैले फिल्ममा निश्चल स्वस्तिमा भनेर लिन लागेको कि त्यो क्यारेक्टरमा म फिट भएर मात्र मलाई लिन लागेको भनेर हेमराज दाईलाई प्रश्न गरेकी थिएँ।' 

साथै फिल्म निर्देशनभन्दा पनि कलाकारको रुपमा सफल हुन्छु जस्तो लागेर कलाकार बन्ने प्रयासमा हुनुहन्छ कि? भन्ने प्रश्नमा निश्चल भन्छन्, 'यदि कलाकार बनेर म सफल हुन्छु जस्तो लागेको थियो भने त म लुटमै हाकु कालेको रोल गरिहाल्थें नि। त्यो फिल्ममा पनि म छु। म फिल्म बनाएर गरि खान्छु भनेर नसोचेको मान्छेले कलाकार बनेर गरि खान्छु भनेर त सोचेको पनि थिइनँ। मलाई लुटले निर्देशकको रुपमा दिएको नामले पनि कलाकारको रुपमा काम गर्न निकै सहयोग गर्‍यो।' 

'घामड शेरे'मा सुष्मा निरौला निश्चल बस्नेतको श्रीमतीको भूमिकामा देखिएकी छिन्। फिल्ममा निश्चल, स्वस्तिमा र सुष्मासँगै गौरी मल्ल, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याल लगायतका कलाकारहरुले अभिनय गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell