PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

बारामा विद्युत चुहावट रोक्न संयुक्त गस्ती, विद्युत चोरी गर्ने ४३ जना पक्राउ



राधेश्याम पटेल

बारामा विद्युत चुहावट रोक्न संयुक्त गस्ती, विद्युत चोरी गर्ने ४३ जना पक्राउ

वीरगन्ज : बारामा विद्युत चुहावट रोक्न चाडपर्वको बेला पारेर संयुक्त गस्ती शुरु भएको छ। नेपाल विद्युत प्राधिकरण कलैया शाखाको अगुवाइमा जिल्ला प्रहरी कार्यालय बारा र सशस्त्र प्रहरी बल मिलेर संयुक्त गस्ती गरिरहेको बारा प्रहरीका प्रवक्ता डिएसपी रञ्जीतसिंह राठौरले जानकारी दिए।

डिएसपी राठौरले आइतवार ४३ जना विद्युत चुहावट गर्नेहरुलाई हिरासतमा लिई आवश्यक कारबाही अगाडि बढाएको बताए। बाराको उत्तरी भेगमा पर्ने करैयामाई गाउँपालिकाका वडा नम्बर १ देखि ८ सम्मका ९ वटा गाउँमा छापा हानी उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

संयुक्त गस्ती टोलीले हरैया, ठूलो लौटन, सहजैली, मधुवन, तेतरीया, सिस्वा, ठोरीयारी, बोधवनलगायत गाउँमा विद्युत चुहावट भइरहेको पूर्व सूचनाको आधारमा प्रहरीले छापा हानेको थियो। यस्तो गस्ती बाराको विभिन्न स्थानीय तहमा जारी राख्ने नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell