PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आइसिसीले 'प्रोजेक्ट मेनेजर' राख्दा क्यानको अधिकार क्षेत्रमा कस्तो पर्ला असर?



मुकुन्द घिमिरे

आइसिसीले 'प्रोजेक्ट मेनेजर' राख्दा क्यानको अधिकार क्षेत्रमा कस्तो पर्ला असर?

काठमाडौं: नेपाल क्रिकेट संघ(क्यान) निलम्बन फुकुवापछि कार्यभार सम्हाल्दै गर्दा आइसिसीले नेपाली क्रिकेट गतिविधि हेर्न प्रतिनिधि राखेको बताइएको छ। आधिकारिक रुपमा क्यान कमिटी निर्वाचित भएर कार्यभार सम्हाल्दै गर्दा 'सशर्त' निलम्बन फुकुवा गरेको आइसिसीले प्रतिनिधि राखेको हो। पूर्व क्रिकेटरसमेत रहेका रौनकबहादुर मल्ललाई प्रोजेक्ट मेनेजरको रुपमा आइसिसीले राखेको जानकारी पाएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पहिलोपोस्टलाई बताए।

'सशर्त' निलम्बन फुकुवापछि नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले क्यानको भावी कार्यसम्पादनका लागि कार्यविभाजन गर्न सुरु गरिसकेको छ। क्यान सञ्चालनका लागि विभिन्न ४ समिति बनाइएको छ र त्यसका संयोजकसमेत तोकिएका छन्। आइतबार काठमाडौंको मूलपानीमा बसेको बैठकले क्यानलाई आइसिसीसँग समन्वय गर्दै कसरी अगडि बढाउने भनेर केन्द्रीत भएको थियो।

यता क्यान सङ्क्रमणकालीन अवस्थामा अघि बढ्दै गर्दा आइसिसीले प्रोजेक्ट मेनेजरका रुपमा प्रतिनिधि राखेको बताइएको छ। प्रोजेक्ट म्यानेजरका रुपमा नियुक्त मल्ल नेपाली युवा क्रिकेटका पूर्व खेलाडी हुन भने पछिल्लो समय नेपाली फ्रेन्चाइज लिगलगायतमा सक्रिय रहेको बताइन्छ।

'आइसिसीले प्रोजेक्ट म्यानेजरका रुपमा रौनक जीलाई यहाँ तोकिएको छ भन्ने जानकारीमा आएको छ। उहाँ विशेषगरी आइसिसीको लोकल कन्ट्याक हुनुहुन्छ। उहाँको भुमिका राष्ट्रिय टिमसँग सम्वन्धित कुराहरु हेर्ने र फाइनान्सियल पुरा नखुलुन्जेल केके गर्ने भन्ने मात्र हो,' क्यानका महासचिव अशोकनाथ प्याकुरेलले भने, 'क्यानले गर्ने प्रशासनका कुरा या अन्य कुराहरु उहाँले गर्ने होइन। हामीलाई स्पष्ट आइसिसीले के भन्नु भएको छ भने उहाँले क्यानसँगकै सरसल्लाह र समन्वयमा कसरी अघि बढ्ने भन्ने कुरामा उहाँले समन्वय गर्नु हुनेछ।'

आइसिसीले क्यानको सङ्क्रमणकालीन अवस्थामा आफूसँग समन्वयात्मक भूमिकाको लागि मल्ललाई प्रोजेक्ट मेनेजरका रुपमा नियुक्त गरेको प्याकुरेलको आशय थियो। त्यस्तै बढीमा ६ महिनाका लागि राखेको भन्ने आफूले जानकारी पाएको अध्यक्ष चन्दले जानकारी दिए।

निर्वाचित भएर भर्खरै कार्यभार सम्हाल्दै गर्दा आइसिसीले प्रोजेक्ट मेनेजर नियुक्त गर्दा पूर्ण स्वतन्त्रताका साथ काम गर्न चाहिरहेको क्यानलाई आइसिसीले अझै विश्वास नगरेको पो हो की भन्ने शंका उत्पन्न भएको छ। यसबारे कुनै पक्ष खुल्न चाहिरहेको छैन।

'आइसिसीले उताबाट जे गर्दै आएको थियो,  अब त्यो कठिन हुने हुँदा लोकल नै कोही मान्छे राख्नु पर्छ की भनेर प्रोजेक्ट म्यानेजरका रुपमा उहाँलाई राखेको भनेर हामीले जानकारी पाएका छौं,' महासचिव प्याकुरेलले भने।

यता क्यानले पनि आफ्नो सक्रियता बढाएको छ। क्यानलाई काम गरेर आइसिसीको विश्वास जित्न आवश्यक छ। पूर्णरुपमा निलम्बनबाट फुकुवा हुन।

त्यसैले पनि होला आइतबारको बोर्ड बैठक कार्यविभाजन गरेर अघि बढ्नेमा जोड दिएको थियो। बैठकले क्रिकेटको सबै पक्षलाई समेट्ने गरी प्राविधिक पक्ष, प्रतियोगिताहरु आयोजना गर्ने, मिडियासँग अन्तर्क्रिया गर्ने र आर्थिक कुराहरुका लागि गरी ४ वटा कमिटी बनाउने निर्णय भएको थियो। पछि आइसिसीसँगको समन्वयमा समितीहरु थपघट हुनसक्ने बताइएको छ।

त्यस्तै मूलपानी क्रिकेट स्टेडियम, कीर्तिपुरको क्रिकेट मैदानलगायत हाल खेलकुद परिषद्ले सञ्‍चालन गरिरहेकाले आधिकारिक रुपमा क्यान आइसकेकाले यसबारेमा राष्ट्रिय खेलकुद परिषदसँग समन्वय गरेर फेरि क्यानले नै सञ्चालन गर्न पहल सुरु गरेको क्यानका महासचिव प्याकुरेलले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell