PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अवैध रुपमा सुनको कारोबार गर्ने दुई भारतीयमाथि मुद्दा, आठ करोड बिगो दाबी



पहिलोपोस्ट

अवैध रुपमा सुनको कारोबार गर्ने दुई भारतीयमाथि मुद्दा, आठ करोड बिगो दाबी

काठमाडौँः राजस्व अनुसन्धान विभागले राजस्व चुहावट र विदेशी विनिमय अपचलनमा दुई भारतीय नागरिकमाथि मुद्दा दायर गरेको छ। विभागले भारत पलियाखिरी घर भई हाल धनगढी उपमहानगरपालिका बस्ने अतुल वर्मा र उनका बाबु सुशील कुमार राजपुतमाथि कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। सुनचाँदीको चोरी पैठारी गरी राजस्व चुहावट गरेको तथा र विदेशी विनिमय अपचलन गरेको आरोप दुबैमाथि लगाइएको छ। मुद्दामा आठ करोड ६ लाख रुपैयाँ बिगो कायम गरिएको छ।

वर्मा र उनका बाबुका नाममा दर्ता भएको शिवम् सुनचाँदी पसलले चोरी पैठारी गरिएको सुन अवैध रूपमा खरिदबिक्री गरेको अभियोग विभागले लगाएको छ। कारोबारबाट प्राप्त रकम वर्माको बैंक खातामा जम्मा गरी शिवम् सुनचाँदी पसलको कारोबार समेत न्यून देखाइएको आरोप विभागको छ। न्यून कारोबार देखाई आयकर छली गरेको अभियोग विभागको छ।

बैंक स्टेटमेन्ट र आरोपित वर्माको मोबाइलबाट प्राप्त प्रमाणको आधारमा विभागले मुद्दा चलाएको हो। विभागका अनुसार बैंक स्टेटमेन्टमा सात करोड ५१ लाख २८ हजार ४४८ रुपैयाँको कारोबार देखिएको छ। उक्त रकम बराबर तिर्नुपर्ने आयकर २९ लाख ७९ हजार ७८६ रुपैयाँ समेत नतिरेकोमा सोलाई पनि बिगो कायम गरिएको छ। वर्माबाट बरामद गरिएको २९ लाख ८० हजार ४५० रुपैयाँ समेत बिगोमा गणना गरिएको छ।

विभागले वर्मा र उनका बाबुसँग आठ करोड ६ लाख आठ हजार २३५ रुपैयाँ बिगो कायम गरेको छ।

विभागको माग दाबी अनुसार कसुर ठहर भएमा बिगोको दोब्बरसम्म जरिवाना हुनेछ। यस्तै तीन वर्षसम्म कैद पनि हुन सक्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell