PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सोसल मिडियामा भाइरल डोजर आतंक, उपमेयर भन्छिन्, ‘अपरेटरमा मानवता देखिएन, दोषीलाई कारबाही हुनुपर्छ'



पहिलोपोस्ट

सोसल मिडियामा भाइरल डोजर आतंक, उपमेयर भन्छिन्, ‘अपरेटरमा मानवता देखिएन, दोषीलाई कारबाही हुनुपर्छ'

सोमबारदेखि सामाजिक सञ्जलामा एउटा भिडियो भाइरल छ। भिडियोमा डोजर चल्छ। डोजरलाई रोक्ने केही मानिस अगाडि बढ्छन्। तर डोजर रोकिने पक्षमा हुँदैन। महिला डोजर भएको ठाउँमा पुग्छिन्। तर डोजरले महिलाको शरीरमा प्रहार गर्छ। डोजरको प्रहारपछि महिला गुल्टिँदै तल पुग्छिन्। त्यसपछि पनि डोजर भने रोकिँदैन। अमानवीय रुपमा डोजर आतंक भइरहन्छ। घटनामा गौरी जोशी घाइते भएकी छन्।

एभिन्युज टिभीबाट प्रसारित भिडियो

घटना बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ९ को हो। स्थानीयले गोरेटोका रुपमा प्रयोग गर्दै आएको बाटो विस्तारका लागि उपभोक्ता समिति बनेको थियो। उपभेक्ता समितिले नै डोजर चलाएको हो। डोजर चलाइएको जग्गा बण्डा नभएको सामूहिक रहेको बुझिएको छ।

डोजरको प्रहारबाट घाइते भएकी महिलाको थप उपचारको लागि धनगढी ल्याइँदै छ।

के हो विवाद?

स्थानीय र नगरपालिका पदाधिकारीबीच असोज २८ गते बाटो विवाद मिलाउन छलफल भएको थियो। जसमा तिहारलगत्तै प्रस्तावित स्थान हेरेर अघि बढ्ने सहमति भएको थियो। उपमेयर मीना चन्दका अनुसार तिहारअघि बाढो विस्तारको काम अघि नबढाउन निर्देशन नै दिइएको थियो। तर निर्देशन विपरीत डोजर चल्यो। त्यो पनि अमानवीय रुपमा।

'मेयर र मैले दुबैले अहिले डोजर नचलाउन भनेका थियौँ। मेयर, उपमेयर, कर्मचारी कसैको कुरा सुनिएन। जबर्जस्ती डोजर चलाइयो। उपभोक्ता समिति आफैंले डोजर चलाएको छ। एकजना महिला घाइते हुनुभएको छ। अपरेटरमा मानवता देखिएन। दोषी जोसुकै होस् घटना अनुसन्धान र कारबाही हुनुपर्छ।' उपमेयर चन्दले भनिन्।

उपमेयर चन्दले घटनाका दोषीलाई कारबाही हुनुपर्ने माग पनि गरिन्। उनले भनिन्, 'चालक र निर्देशन दिने व्यक्तिलाई कारबाही हुनुपर्छ। यसमा कुनै राजनीतिक आवद्धता हेरिनु हुन्न। जो भए पनि कारबाही हुनुपर्छ।'

पीडककै उजुरी

सोमबारको घटनापछि पीडितका तर्फबाट नभइ पीडककै डोजरमा क्षति भएको भन्दै प्रशासनमा उजुरी परेको छ।

स्थानीयको आक्रमणबाट डोजरमा क्षति पुगेको भन्दै उजुरी दिइएको हो।

प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलका अनुसार उजुरी दर्ता भएको छ। पौडेलका अनुसार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अनुसन्धान जारी रहेको उनले बताए।

सांसद् दामोदर भण्डारीले भने दुबै पक्षाबाट गलत भएको बताए। भण्डारीले घटनामा संलग्नलाई कारबाहीको माग गरे।

'मानिसहरुले अवरोध गर्दागर्दै डोजरले हान्ने कुरा त सरासर गलत भयो। डोजरले मान्छेलाई पनि हान्नु हुँदैनथ्यो र उहाँहरुले डोजरमाथि ढुंगामुढा पनि गर्नु हुँदैनथ्यो' सांसद् भण्डारीले भने।  

विवादका कारण विकास रोक्ने काम पनि गलत भएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell