PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपाल–बंगलादेश वाणिज्य सहसचिव स्तरीय वार्ता शुरु, भिसा सहजीकरण लगायत २३ एजेन्डामा छलफल हुँदै



पहिलोपोस्ट

नेपाल–बंगलादेश वाणिज्य सहसचिव स्तरीय वार्ता शुरु, भिसा सहजीकरण लगायत २३ एजेन्डामा छलफल हुँदै

काठमाडौं : नेपाल र बंगलादेश द्धिपक्षीय व्यापार वार्ता काठमाडौंमा शुरु भएको छ। वार्ताको नेपाली प्रतिनिधिको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकास सहसचिव नवराज ढकालले गरेका छन् भने बंगलादेशको तर्फबाट त्यहाँका अतिरिक्त सचिव सरिफा खानले गरेकी छिन्।

ढकालका अनुसार बंगलादेशसँग विद्युत व्यापार, विद्यार्थीका लागि भिसा सहजीकरण, कार्गो बोक्ने सवारीसाधन, बन्दरगाह प्रयोग, धागो निकासीलगायत २३ विषयमा छलफल हुनेछ। छलफलको एजेन्डालाई मन्त्रिपरिषदले समेत स्वीकृति दिइसकेको छ। विद्युत व्यापारको विषयमा भने सामान्य छलफल हुनेछ। सोही वार्ताबाटै विद्युत व्यापारको विषयमा छलफल गर्न अर्को समिति निर्माणको प्रस्ताव नेपाली पक्षले गर्दैछ।

बंगलादेशसँग सन् १९७६ मा चार वटा बन्दरगाह प्रयोग गर्न पाउने गरी सम्झौता भएको थियो। हाल नेपालले फुलबारी बन्दगाह मात्र प्रयोग गर्न पाएको छ। अन्य बन्दरगाह प्रयोग सहज छैन।

बंगलादेश र नेपाल दुवै विकासशील राष्ट्र भएकोले स्वदेशी उद्योग संरक्षणका लागि विभिन्न सेफगार्ड उपाय अवलम्बन गरिरहेका छन्। तयारी पोशाक उत्पादनमा विश्वमै अग्रणी रहेको बंगलादेशले धागो आयातमा कडाई गरेको छ भने नेपालले पनि स्वदेशी उद्योग संरक्षणको लागि भन्दै बंगलादेशी जुस आयातमा रोक लगाएको छ।

स्रोतका अनुसार बंगलादेशी पक्षले जुस निकासीमा लगाइएको प्रतिबन्धको मुद्दालाई प्राथमिकतामा राख्नेछ। नेपालले जुस निकासीमा प्रतिबन्ध लगाउँदा बंगलादेशको कम्पनी प्रान सबैभन्दा बढी प्रभावित भएको छ। नेपालमा प्रानको जुस झण्डै एक अर्बबराबरको आयात हुन्थ्यो।

काठमाडौँदेखि ढाकासम्म सीधा बससेवा सञ्चालनका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ। सीधा बस सेवा सञ्चालन भए निकै ठूलो संख्यामा बंगलादेशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीलाई आवतजावत गर्न सहज पुग्नेछ।

जलमार्गमार्फत् नेपाल–बंगलादेशलाई जोड्ने विषयमा पनि छलफल हुनेछ। जलमार्गको सम्भाव्यता अध्ययन गर्न नेपाल–बंगलादेशबीच समझदारी हुनसक्ने बताइएको छ। दुवै देशबीच सीधा हवाई सेवा सञ्चालन गर्ने सम्बन्धमा पनि छलफल हुनेछ।

बैठक मंगलवारसम्म चल्नेछ। बैठकमा नेपालको तर्फबाट सहसचिव ढकालको नेतृत्वमा परराष्ट्र, अर्थ र कानून मन्त्रालय तथा भन्सार विभागलगायत निकायका प्रतिनिधिहरु समेत सहभागी रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell