PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग तीन वर्षमै बनाउने जापानी कम्पनीको दाबी, मोटरसाइकल र ट्यांकर चलाउन नपाइने



दिनेश खड्का

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग तीन वर्षमै बनाउने जापानी कम्पनीको दाबी, मोटरसाइकल र ट्यांकर चलाउन नपाइने

काठमाडौं : नेपालको पहिलो सुरुङमार्ग नागढुंगा-सिस्नेखोला निर्माणको जिम्मा पाएको जापानी कम्‍पनीले सम्झौता अवधिभन्दा आठ महिनाअघि नै सुरुङमार्ग बनाइ सक्ने दाबी गरेको छ।

सुरुङमार्गको निर्माण अवधि ४२ महिना भए पनि जापानी कम्पनी हाज्मा/आन्दो कर्पोरेशनले ३६ महिनामा नै बनाइ सक्ने प्रतिबद्धता जनाएको भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले जानकारी दिए। उनका अनुसार निर्माण अवधिभन्दा अगावै पूरा गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ। कम्पनीले सुरुङमार्गको साइट क्लियर गरेको ३६ महिनाभित्रै निर्माण सक्ने प्रतिबद्धता जनाएको हो।

हाज्मा/आन्दो कर्पोरेशनले नेपालमा धेरै वटा आयोजनाहरुको जिम्मा लिएर अवधि अगावै निर्माण पूरा गरेको छ। विपी हाइवे, कोटेश्वर–सूर्यविनायक सडक, उदयपुर सिमेन्ट उद्योग कर्पोरेशनले निर्माण गरेको थियो। केही समयअघि मेलम्ची खानेपानीपछि दोस्रो ठूलो मर्दीखोलालाई प्रशोधन गर्दै पिउनयोग्य बनाएर पोखरामा पानी वितरण गर्ने ठेक्कासमेत यसले पाएको छ।

विकास सहायता कार्यान्वयन महाशाखाका अधिकारीहरु यो कम्पनीले गुणस्तरीय निर्माणसँगै समयमै परियोजना तयार पारेको उदाहरण भएकाले सुरुङ पनि समयमै सकिनेमा विश्वस्त छन्। विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले समयमै कम्पनीले काम पूरा गर्ने विश्वास व्यक्त गरे। कम्पनीले साइटमा क्याम्प खडा गरिसकेको छ भने इक्विपमेन्टहरु धमाधम ल्याउन थालेको छ।

नेपाल सरकारले कार्यादेश र साइट पूर्ण रुपमा हस्तान्तरण गर्नासाथ काम थाल्ने कम्पनीले बताएको छ। कम्पनीले चन्द्रागिरि नगरपालिकाको टुटेपाखा र नौबिसेतर्फको सिस्नेखोला दुवै ठाउँमा एकै पटक काम सुरु गर्ने जनाएको छ। कामदारभन्दा पनि इक्विपमेन्ट बेस भएर सुरुङमार्ग खनिने भएकाले समयमै सकिनेमा आयोजनाका अधिकारीहरु विश्वस्त छन्। आयोजनाले तिहारलगत्तै कार्यादेश दिने जनाएको छ।

ठेकेदार कम्पनीलाई साइट हस्तान्तरण गर्नका लागि काठमाडौंतिर खासै समस्या नरहे पनि धादिङतर्फ भने समस्या रहेको आयोजना प्रमुख श्याम खरेलले जानकारी दिए। उनका अनुसार ८५ प्रतिशतभन्दा बढी जग्गा अधिग्रहण भइसकेको छ।

काठमाडौंतर्फ अधिग्रहण गर्नुपर्ने २२३ रोपनी जग्गामध्ये ३२ रोपनी सरकारी छ। २ सय ९१ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमध्ये समस्या रहेकाबाहेक अधिग्रहण भैसकेको खरेलले जानकारी दिए। लालपुर्जा नभएका, विवादित, सम्पर्कमा नरहेका जग्गाधनीको जग्गा मात्रै अधिग्रहण गर्न बाँकी छ।

धादिङतर्फ १०९ रोपनी जग्गा परेको छ। जसमा ४४ रोपनी मात्रै अधिग्रहण गर्नुपर्नेछ। ५० प्रतिशत जग्गा गुठीका नाममा रहेकाले समस्या कायम छ। गुठीको नियमअनुसार जग्गा कमाउनेलाई ३३ प्रतिशत र गुठीलाई ६७ प्रतिशत दिने प्रावधान छ। स्थानीयले ३३ प्रतिशत मात्रै पाउँदा विस्थापित हुने भन्दै विवाद निकालेपछि मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्न लागिएको छ। तिहार अगावै यो प्रक्रिया सक्ने तयारीमा रहेको खरेलले जानकारी दिए। उनका अनुसार तिहार लगत्तै निर्माण कम्पनीलाई साइट हस्तान्तरण गर्नुपर्छ।

स्थानीय उत्साहित

चन्द्रागिरी नगरपालिका वडा नम्बर १ निवासी विष्णु कार्की सुरुङमार्ग निर्माणले आफ्नो क्षेत्रको विकासमा सहयोग पुग्ने बताए। उनका अनुसार सुरुङमार्ग निर्माणसँगै बाटो विस्तार भएर फराकिलो हुने र बेलिब्रिज समेत बन्ने भएकाले आवतजावतमा समेत सघाउ पुग्छ।

अर्का स्थानीय विष्णु परियारले सुरुङमार्गले घण्टौं जाममा बिताउनुपर्ने समस्या अन्त्य हुने भएकाले सबैले निर्माणका लागि सबैले सहयोग गर्नुपर्ने बताउँछन्। सुरुङमार्ग बनेपनि अहिलेको सडक पनि समानान्तर रुपमा सञ्चालन हुनेछ।

बाइक र पेट्रोलियम ट्यांकर नचल्ने

आयोजना प्रमुख खरेलका अनुसार सामान्यतयाः दुईपांग्रे सवारीसाधनलाई सुरुङमार्ग प्रवेश गर्न दिईँदैन। नागढुंगा–नौबिसे सुरुङमार्गमा पनि दुईपांग्रे सवारीसाधन रोकिनेछ।

त्यस्तै सुरुङमार्गको सुरक्षालाई ख्याल गरेर डिजेल, पेट्रोल बोक्ने ट्यांकर र ग्यासका बुलेट चलाउनमा पनि प्रतिबन्ध हुनेछ।

यस्तो हुनेछ सुरुङमार्ग

सुरुङमार्ग चन्द्रागिरि नगरपालिकाको टुटेपाखाबाट धादिङको सिस्ने खोला निस्कनेछ। सुरुङको लम्बाइ २.६८८ किलोमिटर हुनेछ। सुरुङमार्ग सम्म पुग्नका लागि गुर्जुधाराबाट एप्रोच लिकं निर्माण गरिनेछ।

पूर्व र पश्चिम दुवैतिर गरि २.८७२ किलोमिटर एप्रोच लिकं निर्माण हुने आयोजनाले जनाएको छ। सात वटा पुल निर्माण हुनेछ। सुरुङमार्गको सम्पूर्ण अवस्थाको अनुगमनको लागि नियन्त्रण कक्ष (कन्ट्रोल रुम) हुनेछ।

त्यस्तै सिसी क्यामेरा, गाइड बोर्ड, वाटर भल्भ, फायर हाइड्रेड, आकस्मिक टेलिफोन, आकस्मिक पार्किङ वे, लाइटिङ, रेडियो ब्रोडकास्ट इक्विपमेन्ट, जेट फ्यान, वाटर स्प्रे नोजल, भिजिबिलिटी इन्डेक्स मिटर लगायत उपकरण पनि जडान हुने छन्। यो सुरुङमार्गले ४ किलोमिटर सडक छोट्याउनेछ भने नागढुंगाको जाम हट्ने अपेक्षा गरिएको छ।

साना सवारीका लागि २५ रुपैयाँ र हेभीका लागि ३५ रुपैयाँ शुल्क

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सुरुङमार्गमा सवारीसाधन आवागमनका लागि हलुका सवारीसाधनका लागि २५ रुपैयाँ र हेभी सवारीसाधनका लागि ३५ रुपैयाँ शुल्क प्रस्ताव गरेको छ।

यो प्रस्तावित शुल्क हो। अहिले पनि सडक बोर्डले साना सवारीसाधनबाट ५० रुपैयाँ शुल्क उठाउँदै आएको छ। स्रोतका अनुसार यो टोल शुल्कको बारेमा पछि मात्रै निर्णय हुनेछ। जाइकाले निर्माणमा लाग्ने लागतका आधारमा यो शुल्क प्रस्ताव गरेको हो।

दुवैतर्फ सडक दस्तुर संकलनका लागि (टोल) संरचना निर्माण गरिनेछ। नागढुंगा हुँदै अहिले दैनिक करिब १५ हजार सवारीसाधन हिँड्ने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell