PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अभावै अभावबीच पोखरामा सागको तयारी: यस्तै पाराले हात लाग्ला त जित?



विष्णु गौतम

अभावै अभावबीच पोखरामा सागको तयारी: यस्तै पाराले हात लाग्ला त जित?

पोखरा: नेपालले आगामी सागको आयोजना आफ्नै भूमिमा गर्दैछ। घरेलु मैदानमा खेलकुद आयोजना गर्नुको फाइदा कम्तीमा पनि दुई चारवटा मेडल बढी हात पार्ने भन्ने हो। अनि खेलकुलमा आफ्नो दरिलो पहिचान बनाउनु पनि हो।

उनै खेलाडीका माध्यमले खेल जगतका बीचमा देशको नाम चम्काउने सुवर्ण अवसर पनि हो, घरेलु मैदानमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता। ती खेल जित्ने गरी मैदानमा ओर्लनका लागि खेलाडी कस्तो ठाउँमा आफ्नो दैनिक प्रशिक्षण लिइरहेका छन् भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ। अनि सबैमा त्यस्तै कौतुहलता पनि आउनु स्वभाविकै हो।

पोखरा र काठमाडौँ गरी दुई स्थानमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेल साग आउन करिब ४० दिन बाँकी छ। पोखरामा सार्क मुलुकका ९ सय ६२ खेलाडीसहित ९ वटा खेलको प्रतिस्पर्धा हुँदैछ भने नेपाली टिमका पनि ६ वटा खेलको तयारी धमाधम भइरहेको छ। मेडल जितेर देशको शान बढाउने लक्ष्यका साथ खेलाडीहरु बन्द प्रशिक्षणमा छन्। पोखरामा भइरहेका अधिकांश प्रशिक्षणहरुमा भौतिक संरचनाको कमी रहेको खेल सम्बद्ध व्यक्तिको भनाइ छ। खेल उत्कृष्ट बनाउन खेलाडीहरुको आवासदेखि भौतिक पूर्वाधार मुख्य रुपमा रहेका हुन्छन्। खेलाडीले खाने खानादेखि खेल समाग्री र स्थान खेलाडीका लागि सदैव महत्वपूर्ण मानिन्छ।

बक्सिङ : दौडने ट्रयाक छैन

पोखराको रंगशालामा प्रशिक्षणमा रहेका विभिन्न खेलाडी तथा प्रशिक्षकहरु भौतिक संरचनाको अभावमै बन्द प्रशिक्षण गर्न बाध्य छन्।

बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर भन्छन्, 'बक्सिङका खेलाडी यतिबेला सेन्थेटीक ट्रयाकमा दौडेर प्रशिक्षण लिनु पर्ने हो राखेपले पोखरा पठायो तर यहाँ सबै भौतिक पूर्वाधार निर्माण भइसकेको रहेनछ। अब तीन हप्तापछि काठमाडौँ फर्केर प्रशिक्षण गर्नु पर्नेछ। अहिले बक्सिङका खेलाडीहरुलाई स्पाइरिङको अभ्यास गराइरहेका छौँ। सागमा विभिन्न तौल समुहमा १६ जनाले नेपालको प्रतिनिधित्व गरेर सहभागिता जनाउँदै छन्।' 

ह्याण्डबल : न हातमा लगाउने गम, न म्याट नै छ 

पोखरामा हुने खेलमध्यमा टिम गेमतर्फ स्वर्णकै आशा गरिएको खेल हो, ह्याण्डबल। तर महिला र पुरुष दुवै समूहको प्रतियोगिता पोखरामा हुँदै छ तर त्यसैको प्रशिक्षण पनि यही भइरहेको छ। प्रशिक्षण स्थलमा अझै पनि कार्पेट बिछ्याउने काम भएको छैन जसले गर्दा खेलाडी दैनिक जसो घाइते हुनु परेको टिम व्यवस्थापक जीवन बस्नेत बताउँछन्।

उनी भन्छन्, 'गम राखेर खेल्नु पर्ने हो तर कार्पेट नबिछ्याएकाले हामीले हातमा गम लगाएर खेल्न पाएका छैनौं।'

गम बिनाको ह्याण्डबल खेलको प्रशिक्षणका कारण ४० प्रतिशत खेल सुधार्न नसकिने प्रशिक्षक विन्दा थापाको भनाइ छ। म्याट नभएको कारण खेलाडीहरु धेरै घाइते हुने गरेकोले अलि कन्ट्रोल गरेर खेल्नु पर्ने पुरुष ह्याण्वलका राष्ट्रिय क्याप्टेन विशाल बस्नेत बताउँछन्।

महिला ह्याण्डबलको पनि व्यथा त्यस्तै छ। एउटै हलमा समय तालिका मिलाएर प्रशिक्षण गरेको महिला सहायक प्रशिक्षक वृन्दा थापा बताउँछिन्।

उनले भनिन्, 'अहिले विदेशी प्रशिक्षक पनि हामीसँग हुनुहुन्छ, यसपाली हामीले धेरै मेहनत गरेका छौँ, पदक पाउने गरी खेलाडीहरुलाई प्रशिक्षणमा राखिएको छ।'

आर्चरी : आवश्यक सामाग्री नै छैनन्

पदकको आशा गरिएको खेल आर्चरी पनि हो। पोखरा रंगशालामा यतिबेला १६ जना खेलाडी आर्चरीको बन्द प्रशिक्षणमा रहेका छन्। रिकप पुरुष/महिला ४/४ र कम्पाउण्ड पुरुष/महिला ४/४ रहेका छन्।

असोजबाट बन्द प्रशिक्षणमा रहेका खेलाडी चर्को तयारीमा रहेको नेपाल आर्चरी संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक दिपक राज गुरुङको दाबी रहेको छ। गएको वर्ष रिकपमा काश्य जितेको नेपालले अहिले स्वर्ण जित्ने तयारी रहेको छ। आर्चरीका चार खेलाडी जापानमा प्रशिक्षण गरेर आएका छन्। विगतभन्दा नियमित अभ्यासमा छन् यतिबेला खेलाडीहरु। तर, प्रशिक्षक भन्छन्, 'ग्राउण्डको लेभलनै मिलेको छैन, पूर्वाधार कमी छ आफ्नै व्यक्तिगत खर्चमा प्रशिक्षणको लागी सामाग्री ल्याएर कसरी पदकको आशा गर्ने हो राज्यले।'

प्याराग्लाइडिङ : आफ्नै खल्तीको पैसाबाट प्राक्टिस गर्छन् खेलाडी

१३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पदकको संभावना बोकेको खेल हो प्याराग्लाइडिङ। यो खेलका लागि पोखरा महानगरपालिकाको तोरीपानीमा टेक अफ फेवा फाटमा ल्याण्ड गर्ने स्थानको निमार्ण कार्य भइरहेको छ। नेपाली सेनाले यो निमार्ण कार्य गरिरहेको छ। क्रस–कन्ट्री र एकोरोसी हुने प्याराग्लाइडिङमा नेपालको राम्रो तयारी रहेको छ। प्याराग्लाइडिङ एक साहसिक खेल पोखरामा यो व्यवसायीक रुपमा संचालन भइरहेको छ।

सागमा आयोजक राष्ट्रको हैसियतले प्याराग्लाइडिङ पहिलो पल्ट समावेश गरिएको हो। यो प्रतियोगिता महँगो आकाशे प्रतियोगिता भएकाले सबै सर्वसाभारणको पहुँचमा नहुने हुँदा प्याराग्लाइडिङको प्रतिस्पर्धा र आयोजना दुवै चुनौतीपूर्ण मान्निछ। त्यसोत यो खेलको सामानमा राज्यले एक रुपैयाँ पनि लगानी रहेको छैन। सबै सामाग्रीहरुको जोहो खेलाडीले नै गरेका छन्। प्याराग्लाइडिङमा आठ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। तर, सार्कका अन्य राष्ट्रमा प्याराग्लाइडिङका मान्यता प्राप्त राष्ट्रिय संस्था नभएकोले सहभगिता जनाउने संभावना भने धेरै कम छ।

बिच भलिबल : अझै १५ दिन पछि मात्रै प्रशिक्षण सुरु हुने

पोखराको लेकसाइडमा सागको बिच भलिबल प्रतियोगिताको लागी भलिबल कोर्ट निर्माण कार्य शुरु भएको छ। ३ वटा भलिबल कोर्ट र ४ वटा चेन्जिङरुम निमार्ण गर्न लागिएको भलिबल संघ कास्कीका अध्यक्ष तथा निर्माण संयोजक भीम पराजुली बताउँछन्।

चौरमा आवश्यक माटो बालुवा राखेर बिच भलिबलको कोर्ट निर्माण हुँदैछ। १५ दिनभित्र सक्ने गरी काम भएको पराजुली बताउँछन्। सागको खेलका लागी खेलाडी छनोट भइसकेका छन्। भलिबल कोर्ट निर्माणपश्चात मात्र खेलाडीहरु प्रशिक्षणमा रहने पराजुलीले बताए। नयाँ कोर्टहरु निर्माण गर्न पाँच फिट गहिरो खाल्डो पुर्न ५ हजार ५ सय घनमिटर माटो लाग्छ।

ब्याडमिन्टन : पालो कुरेर खेल्नु पर्ने बाध्यता

पोखराको रंगशालामा बिहान बेलुका गरी दुई समुहमा यो प्रतियोगिताको बन्द प्रशिक्षण सञ्चालन भइरहेको छ। प्रशिक्षक नयन श्रेष्ठका अनुसार दश जना पुरुष १० जना महिला सागमा ब्याडमिन्टनमा सहभागिता जनाउँदै छन्। तर पोखराको रंगशालामा जम्मा दुई वटा मात्रै ब्याडमिन्टन कोर्ट छन्। खेलाडीको चाप र कोर्टको अभावले गर्दा बन्द प्रशिक्षणका लागी काठमाडौंबाटै म्याट मगाएर प्रशिक्षण गराइरहेको प्रशिक्षक श्रेष्ठको भनाई छ।

उनले भने, 'ठाउँको अलि अभाव नै भएर हामीले दुई सिफ्टमा प्रशिक्षण दिन बाध्य भएका छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell