
वीरगंजः वीरगंजबाट भारततर्फ तस्करी गर्न लागिएको ७४ क्विन्टल छोकडासहितको एउटा ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। चाडपर्वको बेला तेस्रो मुलुकबाट छोकडा आयात गरी पर्साको भिस्वा नाकाबाट तस्करी गर्न लागेको आशंकामा प्रहरी चौकी परवानीपुरको टोलीले वीरगंज–पथलैया सडकखण्डको परवानीपुर बजारबाट ना ३ त ५७३९ नम्बरको ट्याक्टर र १३७ बोरा छोकडा बरामद गरेको हो।
परवानीपुर–ड्राइपोर्ट सडक हुँदै पर्साको छिपहरमाई गाउँपालिका ५ भिस्वाको नाका भएर उक्त ट्याक्टर भारततर्फ लैजान लागिएको प्रहरीको आशंका छ।
प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा बुझाएको पर्सा प्रहरीका प्रवक्ता बीरेन्द्रबहादुर शाहीले बताए।
नेपालभन्दा भारतमा छोकडा प्रतिकिलो २०/३० रुपैयाँ महगो पर्ने भएकोले तस्करी भइरहेको पर्सा प्रहरीको बुझाई छ। वीरगंजमा छोकडा प्रतिकिलो दुई सय रुपैयाँ पर्छ। भारतमा प्रतिकिलो दुई सय ३० सम्ममा बिक्री भइरहेको छ।