PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

डोजर आतङ्क मच्चाउने चालकलाई दश दिन थुनामा राख्न अदालतको अनुमति, ज्यान मार्ने उद्योगमा अनुसन्धान जारी



पहिलोपोस्ट

डोजर आतङ्क मच्चाउने चालकलाई दश दिन थुनामा राख्न अदालतको अनुमति, ज्यान मार्ने उद्योगमा अनुसन्धान जारी

कैलालीः बैतडीमा डोजरले महिलालाई प्रहार गरेर घाइते बनाएका चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ताको तयारी प्रहरीले गरेको छ। अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ।

सडक निर्माणका क्रममा भएको विवादमा डोजरले स्थानीयलाई प्रहार गरेका बैतडीकै दशरथचन्द नगरपालिका २ देहीमाण्डौँका किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेयले चालकलाई नियन्त्रणमा लिएर म्याद थप गरिएको बताए। 'चालकलाई नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योगमा अनुसन्धान अघि बढाएका छौँ' पाण्डेयले भने, 'अनुसन्धानका लागि जिल्ला अदालतबाट १० दिनको म्याद थप समेत भइसकेको छ।’

सोमबार बैतडीको दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकमा सडक निर्माणका विषयमा विवाद हुँदा भएको झडपमा परी आठ जना घाइते भएका थिए। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। डोजरमार्फत आक्रमण गर्दा स्थानीय गौरी जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते दुवै जनालाई बैतडीमा उपचार सम्भव नभएपछि थप उपचारका कोहलपुर पुर्‍याइएको छ।

सडक निर्माण हुने ठाउँमा गुठीको जमिन पर्ने भएपछि उक्त विषयमा सबै गाउँलेसँग सहमति गरेर अघि बढ्ने निर्णय भएको थियो। तर निर्माण पक्षले जबर्जस्ती गरेपछि झडप हुने स्थिति बनेको प्रहरीले जनाएको छ।

स्थानीयले ढुङ्गा मुढा प्रहार गर्दा डोजरको सीसा फुटेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell