PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कुवेतको जजिरा एयरवेजले पायो नेपाल उडान अनुमति, मंसिरदेखि साताको चारवटा उडान गर्ने



पहिलोपोस्ट

कुवेतको जजिरा एयरवेजले पायो नेपाल उडान अनुमति, मंसिरदेखि साताको चारवटा उडान गर्ने

काठमाडौँः कुवेतको जजिरा एयरवेजले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान स्वीकृति पाएको छ। कम्पनीको अपरेशन म्यानुअल, सेक्युरिटी म्यानुअल लगायतका कागजपत्र अध्ययनपछि सोमबार जजिरालाई उडान अनुमति दिइएको प्राधिकरणले जनाएको छ।

'हामीले कम्पनीको विस्तृत अध्ययनपछि उडान अनुमति दिएका छौँ। मंसिरदेखि साताको चारवटा उडान गर्न अनुमति दिइएको छ' प्राधिकरणका एक कर्मचारीले भने।

प्राधिकरणका अनुसार जजिरालाई आइतबार, सोमबार, बुधबार र शुक्रबार गरी चार दिनको नियमित उडान इजाजत दिइएको छ। कम्पनीलाई दिनको ४:२० बजे र ५:५० बजेको स्लट दिइएको प्राधिकरणले जनाएको छ।

'सुरुमा साताको चार दिन उडान अनुमति दिइएको छ। निकट भविष्यमा कम्पनीलाई साताको सातै दिन उडान अनुमति दिइने योजना रहेको छ' ती कर्मचारीले भने।

प्राधिकरणका अनुसार जजिराको जेनरल सेल्स एजेन्ट (जिएसए) सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिस लिमिटेड रहेको छ। सन् २००४ मा स्थापना भएको कुवेतको जजिरा एयरलाइन्सले खाडी मुलुकमा उडान सुरु गरेको हो। हाल यो कम्पनीले अहमदावाद, बहराइन, कायरो, दिल्ली, दोहा, इस्तानबुल, रियाद लगायत विभिन्न ३५ वटा गतब्यमा उडान गर्दै आएको छ।

यो वायुसेवा कम्पनीले एयरबस ३२० र एयरबस ३२० नियो प्रकारका जहाजमार्फत उडान गर्दै आएको छ। कम्पनीले सन् २०१७ मा 'मिडल इस्ट लो कस्ट' एयरलाइनको अवार्ड हासिल गरेको जनाइएको छ। यसअघि नेपालमा उडान गर्दै आएको कुवेतको वातानियाँ एयरलाइन्सको उडान भने खारेज भइसकेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार तत्काल उडान भर्न इच्छुक भारतको स्पाइस जेटको उडान अनुमति प्राधिकरणमा अध्ययन प्रक्रियामा रहेको छ भने अर्को भारतीय कम्पनी भिस्ताराको मन्त्रालयमा अध्ययनको प्रक्रियामा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell