PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चीनलाई आधुनिक युगमा प्रवेश गराउने देङ, 'प्राकृतिक संग्रहालय पुग्दा लाग्छ अझै उनी विकासको मन्त्र सुनाइरहेका छन्'

चीनलाई आधुनिक युगमा प्रवेश गराउने देङ, 'प्राकृतिक संग्रहालय पुग्दा लाग्छ अझै उनी विकासको मन्त्र सुनाइरहेका छन्'

विधुर ढकाल/पहिलोपोस्ट


सिचुवान: आधुनिक चीनका प्रवर्तक देङ स्याओपिङको सम्झना चीनमा गरिबीबाट उन्मुक्ति दिने भगवानको रुपमा गरिन्छ। पूजा गरिन्छ। सन् १९०४ मा जन्मिएर १९९७ मा संसार छाडेका उनै देङको गाउँ पुग्दा लाग्छ उनी अझै यही बस्तीमा उभिएर विश्वलाई चीनको विकासको परिचय दिइरहेका छन्।

उनी पढेको विद्यालयमा गुआङ’अनमिडल स्कुल पुग्दा युवा देङ गोजीमा हात राखेर उभिएका देखिए। १६ वर्षको उमेरमा फ्रान्समा अध्ययन गर्दा खिचिएको युवा देङको मुस्कानसहित गोजीमा हात राखिरहेको तस्बिर अहिले शालिकको रुपमा विद्यालय परिसरमा ठडिएको छ। शालिक हेर्दा लाग्छ, उनी आधुनिक चीनको खाका कोर्न गम्भीर मुद्रामा उभिएका छन्। ३५ हजारको हाराहारीमा विद्यार्थी रहेको यस विद्यालयमा देङका विभिन्न कदका शालिकहरु देख्न सकिन्छ।

विद्यालयका अध्यक्ष तियान स्युमिन भन्दै थिए- ‘हामी सर्वोच्च नेता देङले देखेको सपना साकार पार्नका लागि उनकै पथमा हिँड्ने नेतृत्व निर्माण गर्दै छौँ।’

चिनियाँ कम्युनिस्ट पार्टी माओको हातमा रहँदा देङ दोस्रो तहका नेता थिए। माओको मृत्युपछि उनी चिनियाँ कम्युनिस्ट पार्टीको सर्वमान्य नेता भए। 

विद्यालयबाट उत्पादन भएका मेधावी छात्राछात्रहरु देशका उच्च तहमा पुगेका छन्। उनीहरुको तस्बिर विद्यालयमा अंकित गरिएको छ।

‘हामीले किताबी ज्ञान मात्र होइन विद्यालयमा विद्यार्थीहरुलाई समाज बुझ्ने ज्ञान पनि दिन्छौँ,’ छेन्दुमा रहेको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलजी अफ चाइना (युइएसटिसी)मा अध्ययन गर्ने विदेशी विद्यार्थीहरुलाई गाइड गरिरहेकी विद्यालयकी अंग्रेजी शिक्षिका जेसी भन्दै थिइन्, ‘हरेक क्षेत्रमा अब्बल नागरिक उत्पादन गर्ने हाम्रो अभियान हो। देङ स्याओ पिङले देखेको सपना साकार पार्ने युवा उत्पादन गर्ने अभियानमा विद्यालय लागि परेको छ।’

जनगणतन्त्र स्थापनाको ७० वर्ष मनाएको चीनले आधुनिक युगमा प्रवेश गरेको ४० वर्ष मात्र भयो। माओत्से तुङको शासनकालसम्म बन्द रहेको चीनको ढोका सन् १९७८ मा बाँकी विश्वका लागि खुला भयो। यहींबाट विकासको फड्को मार्‍यो चीनले।

देङको एउटा भनाइ सबैको मुखमा झुन्डिएको छ- ‘बिरालो सेतो होस् या कालो केही फरक पर्दैन तर त्यसले मुसाचाहिँ मार्नु पर्छ।’

४० वर्ष अगाडि गरिबी, अभाव र खाद्य संकटबाट गुज्रिएको चीनलाई आर्थिक प्रगतिको दिशामा अगाडि बढाए देङले। अर्को वर्ष चीनले ऐतिहासिक फड्को मार्दै छ। सन् २०२० मा गरिबी उन्मुलनको घोषणा गर्दै छ।

उनकै सम्झनामा उनको गाउँ गुआङ’अनमा चीनले ५५.३ हेक्टरमा फैलिएको भव्य प्राकृतिक संग्रहालय नै निर्माण गरेको छ। सिचुवान प्रान्तको राजधानी छेन्दुबाट ३०० किलोमिटरको दुरीमा रहेको यसै गाउँमा देङले आफ्नो युवावस्थाको १६ वर्ष गुजारेका थिए। उनी यही गाउँमा जन्मिए हुर्किए। सम्पूर्ण चीनलाई विकासको बाटोमा डोहोर्‍याए।

‘म सम्पूर्ण चिनियाँहरुको छोरा हुँ,’ देङ भन्थे। अहिले सबै चिनियाँहरु उनलाई भाग्यविधाता भन्छन्।

‘अहिले चीनको जुन प्रगति विश्वले देखिरहेको छ यो प्रगति केवल ४० वर्षमा भएको हो,’ युइएसटिसीकी इन्टरनेशनल कोअपरेशन एन्ड एक्सचेन्ज सेन्टरकी र वेस्ट अफ्रिका रिसर्च सेन्टरकी निर्देशक प्राध्यापक चओ सुरुङ भन्छिन्– ‘यो सबै सर्वोच्च नेता देङकै देन हो। त्यसैले सबै शिर उनीप्रति श्रद्धाले झुक्छ। अहिले चिनियाँहरुले जुन जीवन बिताइरहेका छन् त्यो उहाँकै देन हो।’

यही विशाल प्राकृतिक संग्रहालयमा हालका चिनियाँ राष्ट्रपति सी जिनपिङले रोपेको रुख अग्लिएको छ। सन् २००४ मा देङको १०० औं जन्म दिनको केही महिनाअगाडि जेइज्याङ प्रान्तका चिनियाँ कम्युनिस्ट पार्टीको प्रमुखको हैसियतले रोपेको ‘जिङको’ रुख अहिले चिनियाँ विकासको गतिसँगै अग्लिएको पाइन्छ।

विशाल प्राकृतिक संग्रहालयमा देङले छाडेका छापहरु अझै जीवन्त छन्। उनको घर उस्तै ठडिएको छ। घरभित्र उनका परिवारले प्रयोग गरेका सामाग्रीहरु देङको सुत्ने कोठादेखि उनका परिवारका हरेक सदस्यका शयन कक्षहरु उस्तै संरक्षण गरि राखिएका छन्।

यही क्षेत्रमा उनको शालिक १.७३ हेक्टर ओगटेर ठडिएको छ। चारैतिरबाट प्राकृतिक छटाले घेरिएर कुर्सीमा बसिरहेका देङले लाग्छ अझै चिनियाँ विकासको मन्त्र सुनाइरहेका छन्। २.२ मिटर अग्लो र १.८ टन वजनको उनको शालिक मुस्कुराइरहेको छ, जुन मुस्कान उनका हरेक तस्बिरहरुमा देख्न सकिन्छ।

संग्रहालयभित्रै देङ स्याओपिङसम्बन्धी प्रदर्शनी कक्ष छ। जसले उनका जीवनका ६ आयामहरुलाई झल्काउँछ। उनको त्यस्तै देङ स्मृति हल पनि उस्तै सजाइएको छ। लाग्छ आफ्नै घरमा पुगिएको छ। यस हलमा नारा लेखिएको छ- ‘कमिङ ब्याक टु होम’। यहाँ उनको साझा जीवन देखिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell