PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बलात्कारपछि हत्या गरी फरारलाई २० वर्षपछि अमेरिकाबाट नेपाल ल्याइयो



पहिलोपोस्ट

बलात्कारपछि हत्या गरी फरारलाई २० वर्षपछि अमेरिकाबाट नेपाल ल्याइयो
प्रतीकात्मक तस्बिर

काठमाडौं : बलात्कारपछि हत्या गरी फरार भएका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। झापा चन्द्रगढी–३ का लिलाराज गौतमलाई प्रहरीले आज बिहान त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको हो।

२०५७ असोज २९ गते राति गौतमले मनोज खड्का, सिताराम बस्नेतसमेत ३ जना मिली झापा चन्द्रगढी-३ बस्ने सन्ध्या राजवंशीलाई जबरजस्ती करणी गरेपछि घाँटी थिची हत्या गरी नजिकै चारआली जंगलको छेउको रुखमा झुण्डाएका थिए।

प्रहरीले गौतमलाई पक्राउ गरी झापा जिल्ला अदालतमा जबरजस्ती करणी तथा ज्यान कर्तव्यमा मुद्दा दायर गरेकोमा गौतमलाई झापा जिल्ला अदालतले २०५८ कात्तिक २१ गते सफाइ दिएको थियो।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले अभियुक्त गौतमलाई अमेरिकाबाट आज नेपाल ल्याइएको जानकारी दिए।

तर पुनरावेदन अदालत इलाम हुँदै सर्वोच्च अदालतमा पुगेको मुद्दामा २०६६ भदौ २९ गते सर्वोच्चले गौतम समेतलाई जन्मकैदको फैसला गरेको थियो। सर्वोच्चले गौतम हिरासतमा बसेको १० महिना कट्टा गरी बाँकी १९ वर्ष २ महिना कैद गर्न फैसलामा उल्लेख गरेको थियो।

सर्वोच्चको फैसलापछि गौतम फरार भएका थिए। प्रहरीले गौतमको खोजतलास गरेको थियो। उनी नेपालमा नरहेको र विदेश गएको जानकारी पाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले खोजीका लागि अन्तर्राष्ट्रिय प्रहरी (इन्टरपोल)सँग फरार गौतमविरुद्ध ०७४ मंसिरमा रेड कर्नर नोटिस जारी भएको थियो।

रेड कर्नर नोटिस जारी भएपछि गौतम सन् २०१८ को जनवरीमा अमेरिका रहेको जानकारी नेपाल प्रहरीले पाएको थियो। अभियुक्त गौतमले अमेरिकामा समेत त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको जानकारी अमेरिकी प्रहरीले दिएको थियो।

साथै गौतम फरार अपराधी भए नभएको जानकारीसहित अमेरिकी प्रहरीले उनीविरुद्धको मुद्दासम्बन्धी सबै विवरण मागेको थियो। यहाँबाट गौतमविरुद्धको मुद्दाका सबै विवरण अमेरिका पठाएपछि वासिङटन प्रहरीले उनलाई सन् २०१८ फेब्रुअरीमा पक्राउ गरी हिरासतमा लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell