PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कामदारसँगको वार्तापछि पशुपति आर्यघाटमा हट्यो अवरोध : दाहसंस्कार शुल्कमा वृद्धि, यी विषयमा भयो सहमति 



सहयोग रञ्जित

कामदारसँगको वार्तापछि पशुपति आर्यघाटमा हट्यो अवरोध : दाहसंस्कार शुल्कमा वृद्धि, यी विषयमा भयो सहमति 

काठमाडौं : सेवा सुविधा वृद्धिको माग गर्दै आज बिहानबाट आन्दोलनमा उत्रिएका पशुपति आर्यघाटका शव जलाउने कामदार सहमतिमा आएका छन्। बिहानबाट आन्दोलन थालेपछि पशुपति क्षेत्र विकास कोषले वार्ता थालेको र सहमति भएको  पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक राजु रेग्मीले बताए।

'उहाँहरुले राख्नुभएको मागका बारेमा छलफल भयो। अहिले सहमति भइसकेको छ। घाट सञ्चालन भइसक्यो,' पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक रेग्मीले भने।

पशुपति आर्यघाटका घाट सेवा केन्द्रका कामदार आज बिहानबाट आन्दोलनमा उत्रिएका थिए। कामदारका माग पूरा नभएसम्म आन्दोलनमा उत्रिएको घाटका कामदारहरुले चेतावनी दिएका थिए।

महँगियो दाहसंस्कार खर्च

२०७२ सालमा जारी भएको निर्देशिका अनुसारको सेवा सुविधा कम भएको भन्दै उनीहरुले विरोध गरेका थिए। सहमतिसँगै आर्यघाटमा दाहसंस्कारको ज्याला बढेको छ। 

दाहसंस्कारको यसअघि १२ सय रुपैयाँ रहेकोमा अब १५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ। यसैगरी दाउराको ४ सयबाट बढेर ६ सय पुगेको छ भने चपटीको ४ सयबाट ६ सय पुगेको छ। यो सँगै प्रत्येक २ वर्षमा दाहसंस्कार खर्च १० प्रतिशत बढाउने सहमतिसमेत भएको छ।

अरु के के भए सहमति?

वार्तापछि कामदारको उपदान बढ्ने भएको छ। यसअघि ५० हजार उपदान पाउँदै आएकाले १ लाख ५० हजार उपदान पाउने भएका छन्।
त्यसैगरी १ लाख उपदान पाउँदै आएकाले ३ लाख उपदान पाउने भएका छन्। यी विषय निर्देशिकाको दफा २६ को क, ख र गमा उल्लेख रहेको कोषले जनाएको छ।

यसैगरी स्वास्थ्य शीर्षकमा वार्षिक रुपमा ५ हजार पाउँदै आएकाले १५ हजार पाउने भएका छने भने २० हजार पाउनेले ३० हजार पाउने सहमति भएको छ। वार्ताबाट कामदारको अवकाशको उमेर हदसमेत बढाइएको छ। यसअघि ६० वर्ष तोकिएकोमा अब ६५ वर्षसम्म काम गर्न पाउने सहमति भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell