PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सैनिक भर्नामा अनियमितता गर्ने चार सैनिकसहित २७ जनालाई सेनाले गर्‍यो कारवाही



पहिलोपोस्ट

सैनिक भर्नामा अनियमितता गर्ने चार सैनिकसहित २७ जनालाई सेनाले गर्‍यो कारवाही
प्रतीकात्मक तस्बिर

काठमाडौं : नेपाली सेनाले नयाँ सैनिक भर्ना प्रक्रियामा अनियमितता गर्ने चार जना सैनिक अधिकारीहरुसहित २७ जनाविरुद्ध कारवाही अघि बढाएको छ। सेनाको जंगी अड्डा मातहतको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज बिहान एक विज्ञप्ति जारी गर्दै सैनिक भर्ना गर्दा किर्ते र आर्थिक लेनदेनमा संलग्न भएको आशंकामा चार सैनिक अधिकारीहरु र अन्य २३ जना व्यक्तिहरुविरुद्ध अनुसन्धान अघि बढाएको जनाएको हो।

सेनाले ०७६ साउन महिनामा प्रकाशित विज्ञापन अनुसार देशभरि सेनाका ४० भर्ना केन्द्रबाट ५ हजार ८०० नयाँ सैनिक छनोट गरेको थियो। निर्देशनालयका अनुसार ती भर्ना केन्द्रमध्ये उत्तर पश्चिम पृतनामा भएको छनोटमा नक्कली परिचय पत्र बनाएर परीक्षा दिएको आशंकामा ३ सैनिक अधिकारीहरुलाई र कैलालीमा रहेको ५ नम्बर बाहिनी अड्डामा भएको भर्नामा रकम लिएर छनोट गरेको आशंकामा एक जना सैनिक अधिकारीमाथि कारबाही थालिएको छ।

यसैगरी कैलालीमा रहेको ५ नम्बर बाहिनी अड्डामा भएको छनोट परीक्षामा आफ्नो साटो नक्कली व्यक्तिलाई परीक्षा दिन लगाउने ६ जना परीक्षार्थीलाई पनि पक्राउ गरी अनुसन्धान शुरु गरेको जंगी अड्डाले जनाएको छ। अरुको परीक्षा दिने ९ जना नक्कली परीक्षार्थीहरुलाई समेत पक्राउ गरिएको जंगी अड्डाको विज्ञप्तिमा उल्लेख छ। ६ जना परीक्षार्थीहरु र ९ जना नक्कली परीक्षार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरी घटनाको अनुसन्धान शुरु गरेको सेनाले जनाएको छ। सेनाका अनुसार अनियमिततामा संलग्न अन्य व्यक्तिहरुको समेत खोजी भइरहेको छ।

त्यस्तै जुम्लामा रहेको २४ नम्बर बाहिनी अड्डा र कैलालीमा रहेको ५ नम्बर बाहिनी अड्डामा अरुको साटो परीक्षा दिने ४ जना नक्कली परीक्षार्थीहरुलाई पनि पक्राउ गरि घटनाको अनुसन्धान शुरु गरेको जंगी अड्डाले जनाएको छ। यसैगरी विभिन्न ३ वटा भर्ना केन्द्रमा सैनिकमा भर्ना गराइदिने भन्दै रकम लिने ४ जना व्यक्तिहरुलाई समेत पक्राउ गरी छानबिन थालेको जंगी अड्डाको विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell