PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

साग र फुटबलका लागि रंगशाला अझै भएन तयार : कात्तिक सकिँदा बनिसक्ने सदस्य सचिव सिलवालको दाबी



मुकुन्द घिमिरे

साग र फुटबलका लागि रंगशाला अझै भएन तयार : कात्तिक सकिँदा बनिसक्ने सदस्य सचिव सिलवालको दाबी

काठमाडौं : दक्षिण एसियाली खेलकुद(साग) नजिकिँदा नेपालमा फुटबलका 'इभेन्ट'हरु पनि नजिकिँदै गएका छन्। सागकै तयारीका लागि म्यान्मारसँग मैत्रीपूर्ण खेल खेल्न नेपाली यू २३ टोली मंगलबार कतार प्रस्थान गरेको छ।

मंसिरमा हुने सागमा नेपालले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन र उपाधि हात पार्न तयारी तीव्र पारेको छ। यू २३ टोलीका कप्तान सुजल श्रेष्ठको शब्दमा भन्ने हो भने यो नेपालका लागि 'चुनौती र अवसर' दुवै हो। तर, त्यसभन्दा पनि अघि अझ ठूलो चुनौती छ दशरथ रंगशाला निर्माणको। सागको काउन्टडाउन शुरु भइसक्यो, समय महिना दिनभन्दा कम छ।

सागमात्र होइन, विश्वकप फुटबल र एसिया कपको क्वालिफायर्सको खेलमा पनि नेपालले खेल्ने 'होम गेम' बाँकी नै छ। नेपालले यसअघि ४ वटा 'अवे गेम' खेलिसकेको छ जसमा चाइनिज ताइपेईमाथि जितसमेत निकाल्यो। विश्वकप क्वालिफायर्सको खेल यसअघि पनि दशरथ रंगशाला बनिनसकेका कारण नेपालले पहिला अवे खेल खेलेको थियो। साग होस् या विश्वकप क्वालिफायर्स, अब कुरा देशकै प्रतिष्ठामा पुगेर अड्किएको छ। नेपालले मंसिर ३ मा कुवेतसँग दशरथ रंगशालामा खेल खेल्ने निर्धारित छ।

के यो अवधिमा रंगशाला निर्माण पूरा होला त?
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले कात्तिक मसान्तभित्रै रंगशालाको काम लगभग सकिने दाबी गर्दै आएका छन्।
यू २३ टोलीलाई म्यान्मारसँगको मैत्रीपूर्ण खेलको लागि बिदाइ गर्न पुगेका सदस्य सचिव सिलवालले फ्याब्रिकबाहेकका अरु काम लगभग सकिएकाले कात्तिक मसान्तमै काम सकिने बताए। 'अब फुटबलको गृहमैदान हुन्छ। यसले फुटबलको लागि अर्कै माहोल बन्छ,' सिलवालले भने, 'ग्राउन्ड लगभग बनेको छ। अझै केही समय छ। अझै राम्रो हुन्छ।'

नेपाली यू २३ टोलीका प्रशिक्षक बालगोपाल महर्जनले नेपालको तयारी राम्रो भएको दाबी गर्दै म्यान्मारसँगको खेलले अझ नेपाली टोलीमा आत्मविश्वास बढ्ने बताए। यद्यपि सागको यू २३ टिमको तयारी र सिनियर टिमको वर्ल्डकप तयारीको समय एउटै भएकाले भने केही समस्या भएको महर्जनको भनाइ छ।

केही कठिन भने छ। १३ जना खेलाडी उता र १९ जना मसँग राखेर अभ्यास गरेको छु। १९ जना खेलाडी मसँग हुँदा त्यस्तो समस्या त भएन तर टिम सेट गर्नु पर्ने तथा राम्रो खेल खेल्ने अधिकांश खेलाडी सिनियर टिममा हुँदा कम्बाइन ट्रेनिङ भने अलि कम भएको अनुभव गरेको छु,' प्रशिक्षक महर्जनले भने, 'तर लगातार रुपमा खेलिरहेका खेलाडीहरु हुँदा त्यति समस्या हुन्छ भन्ने लाग्दैन।'

यू २३ का कप्तान सुजल पनि आफू यू २३ टिममा 'पोटेन्सियल' देखेको बताउँछन्। उनले आफूलगायत ३ खेलाडीको विश्वकप छनोटको खेलहरुको समेत अनुभव भएकाले त्यसले सागमा सकारात्मक भूमिका खेल्ने बताउँछन्।

सागको लागि चुनौती र अवसर दुवै रहेको कप्तान श्रेष्ठको बुझाइ छ। 'प्रेसर पनि छ। नेपाली दर्शकले धेरै समयपछि एउटा प्रतियोगिता साग हेर्न गइरहेका छन्। प्रेसरभन्दा पनि सुनौलो मौका जस्तो पनि लाग्छ। सबै एउटै लेबलको टिम छन्। कप्तान श्रेष्ठले भने, 'एकदमै ठूलो मौका पनि छ जस्तो लाग्छ। अझ होम ग्राउन्डमा हुन लागेको छ। दर्शकहरुको समर्थन पनि हुन्छ।'

त्यस्तै खेलाडीको प्रदर्शन र अवस्था हेरेर फेरि अर्को पनि मैत्रीपूर्ण खेलको लागि पहल सुरु गर्ने प्रशिक्षक महर्जनले बताए।

युवा समूहको खेल समीक्षा

असोजको पहिलो साता नेपालमा भएको साफ यू १८ खेलमा नेपालले फितलो प्रदर्शन गर्दै बाहिरिएको थियो। डिफेन्डिङ च्याम्पियनसमेत रहेको नेपालको उक्त खेलको समीक्षा हुनुपर्ने औंल्याउँछन् सदस्य सचिव सिलवाल। 'यू १८ टिमको खेलमा कमजोरी देखियो। यसको समीक्षा गर्नुपर्ने देखिन्छ। होम ग्राउन्ड हुँदा पनि त्यसको फाइदा लिन सकेको देखिएन,' सिलवालले भने। उनले माल्दिभ्सको उदाहरण दिँदै नेपालले फुटबलमा धेरै सुधार गर्न सक्ने औंल्याए।

त्यसो त युवा टिमको प्रदर्शनसँग यू २३ टोलीका प्रशिक्षक महर्जन पनि सन्तुष्ट देखिँदैनन्। 'युवा समूहको खेलमा तयारीमा केही कमजोरी भएको हो कि भन्ने मलाई लाग्छ। किनभने प्रत्यक्ष अप्रत्यक्ष रुपमा मैले हेर्दा यसअघि २ पटक च्याम्पियन भइसकेको टिममा तयारीमा केही 'नेग्लिजेन्स' भएको हो कि भन्ने लाग्छ,' प्रशिक्षक बालगोपालले भने, 'हामीले २ पटक जितसक्यौं अब पनि जित्छौं भन्ने होइन कि अरु देशले कतिको तयारी गरेको छ, त्यसमा हामी अलिकति चुक्यौं जस्तो लाग्छ।'

हुन पनि युवा समूहमा देखिएको नेपाली टोलीको कमजोर प्रदर्शनको प्रभाव कुनै न कुनै रुपमा सिनियर टिममा पनि आइ नपुग्ला भन्न सकिन्न। त्यसैले लिग र ग्रास रुटमा जोड दिनुपर्ने सदस्य सचिव सिलवालको भनाइ छ। उनले लिगमा हुनुपर्ने समर्पण भावमा कमी देखिएको हो कि भन्ने आफूलाई लागेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell