
काठमाडौं : वैदेशिक रोजगार विभागबाट खारेजीमा परेका म्यानपावर कम्पनीले वैदेशिक रोजगारीसँग गतिविधि गर्दै आएको भेटिएको छ। विभागको सूचीबाट खारेजीमा परेको कामपा-४ चप्पल कारखानास्थित सि लिङ्क ओभरसिज सर्भिस प्रालिबाट ५२२ वटा राहदानी जफत भएसँगै खारेजीमा परेको म्यानपावरेल यससँग सम्बन्धित काम गरिरहेको पाइएको हो।
सो म्यानपावरले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्य जारी राखेको, सक्कल राहदानी र रकम फिर्ता नगरेको भन्दै परेको उजुरीका आधारमा विभागको टोलीले अनुगमन गर्दा उक्त तथ्य फेला परेको हो। उजुरी परेपछि विभागले मङ्गलबार सो म्यानपावरमा शिलबन्दी गरेको थियो। विभागको टोली, म्यानपावरका कर्मचारी, महानगरपालिका वडा न ४ का वडा सदस्य, घरधनी र सुरक्षाकर्मीको रोहवरमा बुधवार शिलबन्दी खोलेर अनुसन्धान गर्दा वैदेशिक रोजगारसँग सम्बन्धित काम गरिरहेको पाइएको हो।
वैदेशिक रोजगारमा पठाइ दिने भन्दै सयौँ व्यक्तिसँग रकम र राहदानी सङ्कलन गरिरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको विभागले जनाएको छ। विभागको टोली म्यानपावर कम्पनीमा पुग्दा सयौँको सङ्ख्यामा पीडितहरु आफूहरु ठगिएको भन्दै म्यानपावर कार्यालय पुगेका थिए। खारेजीमा परेर पनि वैदेशिक रोजगारसँग सम्बन्धित कामकारबाही गरेको पुष्टि भए कारबाही हुने विभागले जनाएको छ। विभागले यसअघि पनि खारेजीमा परेको म्यानपावरलाई वैदेशिक रोजगारसँग सम्बन्धित कामकारबाही नगर्न सचेत गराउँदै आएको थियो।