PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सुर्खेत–बर्दिया सुरुङ मार्गका लागि चीन सरकार सकारात्मक : मुख्यमन्त्री शाही



पी बी खड्का

सुर्खेत–बर्दिया सुरुङ मार्गका लागि चीन सरकार सकारात्मक : मुख्यमन्त्री शाही

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही १० दिने चीनको तिब्बत भ्रमण सकेर स्वदेश फर्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री शाहीले छिमेकी देशको भ्रमण निकै महत्वपूर्ण र फलदायी भएको दावी गरेका छन्। भ्रमणका क्रममा मुख्यमन्त्री शाहीले प्रदेशको राजधानी सुर्खेतस्थित रिङरोड र सुर्खेतदेखि बर्दियासम्मको सुरुङ मार्ग सर्भेका लागि आग्रह गरेको बताएका छन्। आफूले गरेको आग्रहमा चीन सरकार सकारात्मक बनेको उनको भनाई छ।

‘संघीय सरकारले अनुमति दिए निःशुल्क रुपमा सर्भे गर्ने र चीन सरकारकै लगानीमा रिङरोड निर्माण गराउन सकिने देखिन्छ’ उनले भने, ‘सुर्खेत–बर्दिया सुरुङ मार्गका लागि पनि चीन सरकार सकारात्मक देखिएको छ।’

त्यस्तै, तिब्बतको सान्ताउ प्रदेश विकासको मोडल भएकाले त्यहाँको विकास निर्माणका गतिविधिबारे पनि छलफल भएको उनले बताए ।

‘तिब्बतको सान्ताउ प्रदेश विश्वकै मोडल विकास भएको प्रदेश रहेछ। पूर्वाधार सम्बन्धी काम गरेको एक कम्पनीसँग छलफल पनि भयो’ उनले भने, ‘सान्ताउ प्रदेशको एकिकृत बस्ती विकास गरिएको रहेछ। जुन कर्णालीमा पनि गर्ने भनेका छौं। त्यसको विषयमा छलफल भएको छ।’

एकिकृत बस्ती विकासको मोडलका लागि संघीय सरकारले अनुमति दिएमा र सम्झौता गर्ने अवस्था रहे त्यहाँका केही कम्पनीले इच्छा देखाएको उनले जानकारी दिए। तिब्बतमा जस्तै भौगोलिक विकट रहेको कर्णालीमा पनि एकिकृत बस्ती विकास आवश्यक रहेको उनले बताए। मुख्यमन्त्री शाहीले चीनका तिब्बत, सिचुवान प्रान्त, छिन्ताओ लगायतका क्षेत्रमा रहेका एकिकृत बस्ती विकास मोडल अध्ययन, अवलोकन गरेको बताए। उनले संघीय सरकारको अनुमति विना प्रदेश एक्लैले काम अघि बढाउन नमिल्ने उल्लेख गरे।

त्यस्तै, मुख्यमन्त्री शाही प्रदेशको राजधानी वीरेन्द्रनगर र चीनको सान्ताउ शहरबीच भगिनी शहरको सम्बन्ध बनाउने छलफल भएको बताए। कर्णालीको पूर्वाधार, पर्यटन, कृषि तथा एकिकृत बस्ती विकास लगायतको विषयमा बृहत छलफल भएको भन्दै उनले भ्रमण महत्वपूर्ण उपलब्धी भएको बताए।

मुख्यमन्त्री शाही तिब्बत सरकारले आयोजना गरेको बिआरआइ सम्बन्धी तीन दिने कार्यक्रममा सहभागी हुन असोज २७ गते चीन गएका थिए। उक्त कार्यक्रममा बंगलादेश, नेपाल, पाकिस्तान, म्यान्मार, मंगोलियालगायतका देशका मन्त्री, मुख्यमन्त्री तथा सरकारका प्रतिनिधिहरुको सभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell