
काठमाडौँः जबर्जस्ती करणीको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले दिएको म्याद सकिएको छ। जिल्ला अदालतले कात्तिक २ गतेबाट लागू हुनेगरी पाँच दिनको म्याद अदालतले थप गरेको थियो। जुन बुधबार नै सकिएको छ।
पहिलोपटक अनुसन्धान गर्न अदालतले १३ दिनको म्याद दिएको थियो।
प्रहरीले अनुसन्धान जारी रहेकाले थप समय माग गर्ने तयारी गरेको छ। महराको बयान लगायत अन्य प्रमाण संकलनको काम प्रहरीले गरिरहेको छ।
'म्याद सकिएको छ। तर केही अनुसन्धान गर्न बाँकी छ। म्याद थपका लागि लग्दैछौँ' महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी उत्तमराज सुवेदीले भने।
गत आइतबार महराको सरकारी वकिल समक्ष बयान भएको थियो। बयानमा महराले आफू पीडित भनिएकी महिलाको कोठामा नगएको बताएका छन्।
असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको महरामाथि आरोप छ। महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि असोज १९ गते अदालतको अनुमतिले प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो।
आज अदालतबाट म्याद थप नभएको खण्डमा प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउनुपर्ने हुन्छ। प्रहरीको अनुसन्धान चित्त बुझेमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा लिएर जान्छ। त्यसपछि अदालतमा बयान र थुनछेक प्रक्रिया प्रारम्भ गर्नेछ। अदालतले धरौटी वा तारेखमा रिहा गर्ने अथवा पूर्पक्षका लागि थुनामा पठाउने समेत आदेश गर्न सक्छ।
पूर्पक्षको लागि थुनामा रहेमा महरा सांसद् पदबाट स्वतः निलम्बित हुनेछन्।